अमेरिका – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो अगस्टदेखि युरोपेली सङ्घ र मेक्सिकोमाथि ३० प्रतिशत ट्यारिफ (अमेरिकाले उसका आयातमा लगाउने शुल्क) लगाउने घोषणा गरेका छन्। उनले अमेरिकाका यी व्यापार साझेदारहरूले जबाफी कदम चाल्ने निर्णय गरेमा त्यस्तो कर झन् चर्काउने चेतावनीसमेत दिएका छन्। सत्ताइस सदस्य भएको युरोपेली सङ्घले यसै साताको सुरुमा १ अगस्टअगावै वासिङ्टनसँग सम्झौताबारे सहमति जुट्ने आशा गरेको थियो। यसै साता ट्रम्पले जापान, दक्षिण कोरिया, क्यानडा र ब्रजिलबाट आउने सामानमा पनि अगस्ट १ देखि नयाँ ट्यारिफ लगाइने पनि बताएका थिए। अमेरिकाका कैयौँ साना साझेदारहरूलाई पनि यो साता यसै प्रकारका पत्र पठाइएको बताइएको छ।
शुक्रवार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनलाई पठाइएको पत्रमा ट्रम्पले लेखेका छन्, “हामीले युरोपेली सङ्घसँगको आफ्नो व्यापार साझेदारीबारे वर्षौँ चर्चा गरेका छौँ र हामी तपाईँका ट्यारिफ तथा गैरट्यारिफ नीति तथा व्यापार बाधाहरूबाट उत्पन्न दीर्घकालीक, ठूलो तथा लगातारको व्यापार घाटाबाट टाढिनुपर्ने निष्कर्षमा पुगेका छौँ।”दुर्भाग्यवश हाम्रो सम्बन्ध पारस्पारिकताबाट निकै टाढा रहेको छ,” उक्त पत्रमा अगाडि लेखिएको छ।
युरोपेली सङ्घ र मेक्सिकोलाई पठाइएको पत्रमा ट्रम्पले कुनै व्यापार साझेदारले अमेरिकाविरुद्ध आयात शुल्क लगाएर जबाफ दिने कोसिस गरेमा अमेरिकाद्वारा लगाइने भनिएको ३० प्रतिशतको ट्यारिफमाथि समान प्रतिशतले कर थप्ने चेतावनीसमेत दिएका छन्। युरोपेली सङ्घ लगातार ट्रम्पको आलोचनाको केन्द्रमा छ। अप्रिल २ मा उनले युरोपेली सङ्घ तथा अमेरिकाका अन्य दर्जनौँ व्यापार साझेदारका उत्पादनहरूमाथि २० प्रतिशत ट्यारिफ लगाउने प्रस्ताव गरेका थिए। व्यापार वार्ता रोकिएसँगै उनले युरोपेली सङ्घबाट हुने आयातमा ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।
विविसी