२०८२ चैत २५ गते | 8th of April 2026

नेजसको आयोजनामा लस एन्जलसमा “ग्रान्ड पिकनिक २०२६” आयोजना हुने

खुल्लामन्च
 प्रकाशित: २०८२ चैत २५ गते १४:५२

लस एन्जलस, क्यालिफोर्निया — नेपाली जनसम्पर्क समिति, अमेरिका (Southern California Chapter) को आयोजनामा आगामी अप्रिल १९, २०२६ (आइतबार) “ग्रान्ड पिकनिक २०२६” आयोजना गरिने भएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रम नेपाली समुदायबीच आपसी भेटघाट, सांस्कृतिक आदान–प्रदान र मनोरञ्जनका लागि विशेष अवसर हुने आयोजकले जनाएको छ।

कार्यक्रम Artesia Park (18750 Clarkdale Ave, Artesia, CA 90701) मा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ भने विभिन्न आकर्षक कार्यक्रमहरू समावेश गरिनेछन्।

पिकनिकमा खाना, मनोरञ्जन, खेलकुद, र्‍याफल तथा पुरस्कार वितरण लगायतका गतिविधिहरू हुनेछन्। साथै, सांस्कृतिक प्रस्तुति, निरन्तर मनोरञ्जन तथा सबै उमेर समूहका लागि खेलकुद कार्यक्रमहरू विशेष आकर्षणका रूपमा रहने बताइएको छ।

कार्यक्रमका संयोजक शम्शेर भण्डारीले समुदायका सबै सदस्यहरूलाई कार्यक्रममा सहभागी भई उत्सवलाई सफल बनाउन आग्रह गरेका छन्। त्यस्तै, समिति अध्यक्ष रामचन्द्र लामिछाने र महासचिव बिबेक श्रेष्ठले नेपाली समुदायबीच एकता र सहकार्य सुदृढ गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताएका छन्।

सदर्न क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरूका लागि यो पिकनिक एक महत्वपूर्ण सामुदायिक उत्सवका रूपमा रहने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *