२०८१ साउन १२ गते | 27th of July 2024

विगतका सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित गर्न सुझाव

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ५ गते १५:३९

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण दुईदेशबीच विगतमा भएका सन्धिसम्झौता कार्यान्वयन तथा द्विपक्षीय सम्बन्ध एवं सहयोग विस्तारमा केन्द्रित हुनुपर्ने परराष्ट्र मामिलाका जानकारले सुझाव दिएका छन ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै छन । भ्रमण पुराना सन्धि, सम्झौता र सहमतिलाई कार्यान्वयन गर्ने विषयमा केन्द्रित हुनुपर्ने तथा द्विपक्षीय सहयोग र सम्झौताका नयाँ क्षेत्रको पहिचान तथा सहकार्यबारे छलफल हुनुपर्ने परराष्ट्र विज्ञको भनाइ छ ।

नेपाल–भारत प्रबुद्ध समूहका संयोजक डा भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव भ्रमण हो भन्दै यसअघि भएका समझदारी कार्यान्वयनका विषयलाई अघि बढाउनु उपयुक्त हुने धारणा व्यक्त गरे । भ्रमणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि नेपाली जनताले अपेक्षा गरेको नयाँ विश्वासलाई मूर्त रुप दिन थप विश्वासको वातावरण सिर्जना गर्नुपर्ने पूर्वपरराष्ट्रमन्त्री डा थापाको भनाइ छ ।

प्रधानमन्त्रीको भ्रमणमा नेपाल–भारत सीमानामा वर्षेनी देखिने बाढी र डुबानका विषयमा दीर्घकालीन समाधानका उपायबारेमा गम्भीर रुपमा छलफल हुनुपर्ने बताउँदै डा थापाले भने , “हालसम्म भएका सन्धिसम्झौता कार्यान्वयनमा देखिएका कमजोरीलाई हटाई सकारात्मक निष्कर्षमा पुग्न सके भ्रमण थप फलदायी हुनेछ ।”

 

यसअघि प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्रीहरुसँग गरेको छलफलमा नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई ध्यानमा राख्दै नेपाल र भारतबीच भएका ज्वलन्त समस्यामा केन्द्रित गर्न सुझाव पाएका थिए ।

पूर्वराजदूत प्रा डा जयराज आचार्यले विगतका सन्धिसम्झौता कार्यान्वयनका लागि प्रशस्तै गृहकार्य हुर्नपर्ने बताए । उक्त विषयका बारेमा प्रशासनिक र कूटनीतिक रुपमा काम भइसकेपछि मात्र राजनीतिक रुपमा छलफल गर्दा उत्तम हुने उनको सुझाव छ ।
प्रा डा आचार्यले नेपालको जलस्रोत, यातायात, पर्यटन, शिक्षालगायत क्षेत्रमा भारतको सहयोग भए दुवै मुलुकलाई फाइदा पुग्ने धारणा व्यक्त गर्दै भने , “तराईमा देखिएको बाढी र डुबानका समस्या समाधानमा दुवै मुलुकलाई मर्का नपर्ने गरी समाधानका उपाय निकाल्नुपर्छ ।”

आजको मन्त्रिपरिषद्को बैठकले पनि प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भूकम्पपछिको पुःननिर्माणमा सहयोगसहित भारतले गरेको प्रतिबद्धता, पुराना सन्धिसम्झौता, लक्षणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गरिने कार्यसूची तय गरेको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले भारत भ्रमण द्विपक्षीय सहयोग सुदृढ गर्ने, आपसी विश्वासको वातावरण बढाउने र यसअघि भएका परियोजनाका सम्झौतालाई अघि बढाउनेसम्बन्धी विषयमा केन्द्रित हुने बताए । प्रधानमन्त्रीको भ्रमणमा विकास र सञ्जालका विषय पनि कार्यसूचीका रुपमा रहने जानकारी गराउँदै डा भट्टराईले भने , “भ्रमणका बेला बाढीपहिरो नियन्त्रणका लागि भारतको सहयोगलगायत विषयमा समेत छलफल हुनेछ ।”

गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका सभापति देउवाको पछिल्लो पटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हँुदैछ । यसअघि उहाँले प्रधानमन्त्रीकै रुपमा तीन पटक भारतको औपचारिक भ्रमण गरिसकेका छन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *