२०८१ वैशाख १६ गते | 28th of April 2024

एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलको जित र जिम्मेवारी

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २५ गते २१:२६

गोकुल ढकाल
लस एन्जलस, क्यालिफोर्निया ।

सकियो, एनआरएन अमेरिकाको एउटा अध्याय । चर्को बहस, लामो विवाद र र्साकस्सीका विच चर्चित निर्वाचन सकिएको छ । आफ्नो दोस्रो कार्यकालको लागि डा. केशब पौडेल आफ्न टीमका बहुमत सदस्य सहित बिजयी भएका छन । ‘हजुर म उपाध्यक्ष’ भन्ने डेढ दर्जन उम्मेद्वारहरुबाट चार जना निर्वाचित भएका छन । गणीतीय हिसाबले अमेरिकी नेपाली समुदायको ठुलो संगठनको रथ हांक्न परेको घमासान युद्धका बिच पून: निर्वाचित डा. पौडेललाई आपसी असमन्जस्यता, प्रतिकुलता र विवादको ठेगाना लगाउने जिम्मेवारी मिलेको छ । ‘हवाई टिकटको अफर र चुस्कीको सफर’ लागाउन प्रलोभन देखाउने हैसियतवालाहरुको संगठन भन्ने आरोप लाग्ने एनआरएनमा बिभिन्न सर्कलका उम्मेद्वारहरुको उम्मेद्वारी र बिजयले ‘केही मात्रामा सबैको पहुंचमा’ पुगेको छ, एनआरएन, अमेरिका । बिवाद गर्नेहरु, गराउनेहरु, गर्न नसक्नेहरु तर गर्न खोज्नेहरु, समग्रमा सबैहरुको उपस्थिती र मिश्रणीय नतिजा परिणामले अब एनआरएन अमेरिकाले अर्को गती लिन्छ भन्ने आशा जाग्नु स्वाभाविक हो ।

डा. पौडेलको कांधमा :
लामै ईतिहास भएको एनआरएन अमेरिकाको स्थापनासंगै ‘थोरै गरेर धेरै पुरस्कार बांडेको प्रल्हाद केसीको कार्यकाल एनआरएन आँफैले स्थापना गरेर धेरै पुरस्कार बांडेको घमन्डमै बित्यो । भलै, राजेन्द्र सिवाकोटी, शिव राईहरु संस्थाका हितका लागि लागिपरेका ईतिहास छन । शेषराज खतिवडा जस्ता स्वार्थमा रमाउनेहरुको चंगुलमा भने फस्यो, केसीको कार्यकाल र केही लछार्न सकेन । बहुचर्चित ‘एकपटकको नेपाली, सधैंको नेपाली’ को नारा अमेरिकी नेपाली आकाशमा गुन्जयमान गरेको सुपर लयर खगेन्द्र जि सीको कार्यकाल केही सन्तोषप्रद रह्यो । नेपाली कांग्रेसको धरातलिय पारिवारिक राजनीति, जनसम्पर्क समिती, अमेरिकाको संयोजक र त्यसैवरपरको शक्तिकेन्द्रसंगको दबदबा र उता शिव राईले लस एन्जलसमा ‘गाई पाल्ने राई, थुन दुहुने जिसी ?’ भन्दै चुनौती दिएपछी पहिलोपटक एमाले र कांग्रेस समर्थकको लडाईंको विजय र प्रवासी मन्च र जनसंपर्क समितिको अस्तित्वसंग कोपाभजनमा पर्‍यो, एनआरएन अमेरिका ।

खगेन्द्र जि सीको कार्यकाल ताक सशक्त उम्मेद्वार डा. केशब पौडेलको एनआरएन सदस्यता बनाउन अमेरिकाका बिभिन्न राज्यमा हरेक हप्ता कहीं न कहीं पुगेको यात्रााले सदस्यहरुमाझ उनलाई नजिक बनायो । शिक्षित, शालिन र भद्र डा. पौडेलले जि सी को कार्यकाल अगाडी उम्मेद्वारीमा गरेको त्याग, सदस्यता बढाउन हरेक हप्ता कुना कुना पुगेको समर्पण र कांग्रेससंगको राजनैतीक संलग्नताले चर्चाको शिखरमा पुर्यायो । आफ्नै साथीहरुलाई रिझाउन सक्ने क्षमताको कमी र आफ्नै साथीहरुको असहयोगी प्रतिघातहरुले अफ्ठ्यारोमा परेका निवर्तमान सभापती डा. पौडेललाई चुनाव अगाडी चिन्ताले कहिल्यै छाडेन । अरुहरुद्दारा उचालिएका तर आँफैंमा सशक्त, प्रभावी र वाकपटुकता भएका नगेन्द्र पौडेलको उम्मेद्वारीले कांग्रेसीहरु नै बिभाजित भए । जनसंपर्क समितिको आधिकारीक उम्मेद्वारको लुकामारीपन र अस्पश्ट लाईनले कांग्रेसीहरु तिरिमिरी भए । तर सदस्यहरुमाझ लोकप्रिय रहेका र बोलाएको ठाउंमा हरेक राज्यमा पुग्ने डा. पौडेलले बाजी मारे ।

आज फेरी त्यही ईतिहास दोहोरिएको छ । जुन समस्याहरुका थाती थिए । लाइनका हिसाबले पेन्सिलले केही काटिए होला । तर खिचातानी र अबिश्वास हटिसकेको छैन । राजनैतीक रुपमा प्राय बिभक्त नेपाली समुदाय बिचबाट मिश्रित परिणाम प्राप्त गरेको डा. पौडेलको समितिले “थांती रहेका काम फत्ते पार्ने’ भनेर दिएको उम्मेद्वारीको वाचा पुरा गर्नु छ । पेशाले चिकित्सक डा. पौडेल, डा. गोबिन्द के सी जसरी ओखतीका पोका बोकेर भुकम्पका घाऊहरुलाई पट्टी लगाउन नेपाल पुगे । सिंगो एनआरएन टीमलाई बोकेर महाभुकम्पको चोटमा मल्हम लगाउन जन्मभुमी पुगे । दोहोर्याउन पर्छ, आज पनि प्रवासी अमेरिकी समाजमा सेवा र संलग्नताको हिसाबले सबैभन्दा धेरै एयरपोर्ट पुग्ने सामुदायिक नेता बनेका छन, डा. पौडेल । नेपालमा अस्पतालको निर्माण, बिद्धालयहरुको निर्माण, बुढा-बुढीहरुलाई आश्रमको शुरुवात र आईसिसी संगको सम्बन्ध बिस्तारमा सफल भएका छन, डा. पौडेल । डाक्टरी पढेरै डा. बनेका डा. पौडेलको कांधमा जिम्मेवारीको खात लेखेर सकिने शिर्शक छैन, सबै डा. सा’बको ब्यबस्थापनमा भर पर्नेछ ।

डा. सा’बका चुनौती :
न्यू मेक्सिको अस्पतालको सर्जरी वार्डमा अपरेशन गर्दा एउटा दक्ष टीमले भरपुर सहयोग गरेर बिरामीको अपरेशन सफल भनाएका डा. पौडेल पून: निर्वाचित एनआरएनको ‘कार्य सम्पादन कक्ष’ ‘अपरेशन थियटर। भन्दा बढी सिरियस छ । आफ्नै ब्यवसायिक साझेदार बहुचर्चित गौरीराज जोशीको ब्यबस्थापकीय सहयोग, आँफैले उठाएका अनि आँफैद्दारा मिलाईएका जोशीका उदियमान अस्तित्व, जोशीको टीमले चुनावमा भोगेको परिणती, होडबाजीमा जोशीका सहयोगी भनि छाती पिट्नेहरुको कन्तबिजोगको हिस्सा, प्रवासी मन्चका निवर्तमान कमान्डर हुंदै सियो बनेर भोली मुसल हुने सन्जय थापा र अखिलको राजनीतिको पर्याय अमृत क्याम्पसका हस्ती प्रितीसागर खत्री लगायत प्रवासी मन्चका संस्थापकहरुको एनआरएन, अमेरिकाको डा. पौडेलको कार्यसमितिमा प्रवेशले ‘तिलक श्रेष्ठ मौन र निस्कृय’ बसेजस्तोको एनआरएनको अबको कार्यकाल कदापी हुनेछैन ।

‘क्यालेन्डर अफ अपरेशन’ मा बांकी रहेका काम सकाउन अत्यधिक मतले जितेका डा. पौडेलको कार्यसमिती सफल हुन चर्चित सन्जीब श्रेष्ठ, जितेर हारेका पुरुशोत्तम बोहोरा, सर्वज्ञ वाग्ले, शंकर खड्का, सुर्य लम्साल, भुवन आचार्य, लक्ष्मी खरेल, विश्व सुवेदी र महेश मल्लहरुको भावनाको प्रतिनिधित्व गराउनुपर्ने बाध्यता छ । खटेर आफ्नो अभियानमा एकछत्र लागेकी निकटतम प्रतिनिद्वन्दी रविना थापा र उनकी सहयोगीहरुको ब्यबस्थापन, निर्वाचित युवाहरुले भोली पेल्ने मुद्दाहरु, डा. पौडेलका केही विश्वाशिला पात्रहरुको पराजयको घाउंमा लगाउने मल्हम, एनआरएन समर्थनका नाममा चार चिरा भएको सर्वाधिक शक्तिशाली अमेरिकी नेपाली संगठन जनसंपर्क समिती, अमेरिकाका शक्तीहरुका समर्थन र बिरोधलाई सम्बोधन गर्नुपर्ने लगायत सोनाम लामा र एसी शेर्पाको मुटुबाटैको सहयोग, खगेन्द्र जिसीको मिर्गौलादेखैकै असहयोग, गौरीराज जोशीको फोक्सोदेखीको सहयोग वा असहयोग, शक्तिकेन्द्र लागेर पनि ७५० भोट ल्याएका कृष्ण पोखरेल र ईमानको १,००० भोट ल्याएका राम सी खरेलहरुको सहयोगी हातहरुको ब्यबस्थापन लगायत कम्ता चुनौतीका दिन शुरु भएका छैनन, नव-निर्वाचित अध्यक्ष डा. पौडेलका ।

डा. पौडेलको रथ :
निवर्तमान उपाध्यक्ष रबिना थापाको हार जनसंपर्क समिती, अमेरिकाको एउटा शक्तीको हार मानेका छन, अमेरिकामा राजनिती गर्नेहरुले । उनका नाममा जती फेसबुकमा अरु कसैका प्रचार समुह बनेका थिएनन । जनसंपर्क समितिमा परिवारको लामो लगाव, संलग्नता र सम्बन्ध अनि जनसम्पर्क समितिको अधिकारिक उम्मेद्वार नभएको पिडाले ‘एक नभएका चार कांग्रेसी’हरुको चुनावी लडाईंको टुंगो त लागेको छ । तर भोली रथमा ब्रेक लगाउन ‘रथ रोकिए धकेल्ने’ सहयोगीलाई कसरी लिने भन्ने नियममा डा. पौडेलको ड्राईभिङ्ग भर पर्नेछ ।

टेक्सासका भिमकाय ब्यापारी गौरीराज जोशीको नाम एनआरएनको रथ हांक्न अमेरिकी नेपाली समुदायमा सबैभन्दा बढी प्रचारित नाम थियो । राजनैतीक रुपमा नखुलेका, उम्मेद्वारीलाई बैधानिकताका खातिर डालास सम्मेलन हुंदै अदालतसम्म पुगेको उनको भूमिका बर्तमान सभापती डा. पौडेल र जोशी बिचको पछिल्लो नेपाल यात्रा, अस्पतालसंगको साझेदारी, आश्रम निर्माणमा दुईटै हात र प्रगाढ बनेको पछिल्लो सम्बन्धले शक्तिशाली बन्छ कि बन्दैन, डा. सा’बको रथ यात्रा यसमा पनि निर्भर रहनेछ ।

फलोस – फुलोस एनआरएन :

बगैंचा हो, एनआरएन । धेरै फुलहरु मज्जाले फुल्छन, त्यो बगैंचामा । सेवाका कुनै बिरुवा नझुलोस, फलोस-फुलोस, एनआरएन । अमेरिकी नेपाली समुदायको शक्तिशाली संगठन एनआरएन धुजाधुजा भएको हेर्ने कुनै प्रवासी नेपालीलाई रहर छैन । हामी त जिताएर पठाएका न हौं । जो जिते पनि जित्ने नेपाली मनले जितेका छन । कोही कसैका सौताने मामलाका होईनन ।

संस्था हो, निर्वाचित पदाधिकारीहरु सबैका मन ठ्याक्कै मिल्छ भन्ने छैन । साझा मुद्दा र प्रवासी नेपालीको मन जित्ने काम गरोस, एनआरएनले । एउटा क्षमातावान सभापती डा. पौडेलको साख अझै बांकी छ । नेपाली बाबु-आमाका छोरा डा. बन्ने सपना सफल पारेका एनआरएन, अमेरिकाका अध्यक्ष डा. पौडेलले समस्याका अपरेशन कसरी गर्नेछन, आगामी दिनले देखाउनेछन । अमेरिकाको न्यूमेक्सिको राज्यका सफल डाक्टरीका पपुलर अवार्ड जितेका डा. पौडेलका अपरेशन थियटरका ढोकाहरु फेरी खुलेका छन । डा. पौडेल डा. उपेन्द्र, डा. गोविन्द, डा. भगवान या के बन्नेछन, त्यो समस्या, विवाद, मुद्दा र ब्यबस्थापनका ताउकामा उनले गर्ने अपरेशनले भर पार्नेछ ।

अबको केही हप्तामा एनआरएन अमेरिकाको साधारण सभा हुनेछ । नेपाल गएर भोट हाल्ने मतदाता (डेलिगेट्स)को चयन हुनेछ । साधारण सभाले निर्णय गर्ने प्रवासी मनलाई सम्बोधन गर्ने धेरै मुद्दाहरु होलान । हाम्रो यो कर्मभुमीमा हामी रहेपछी, आईसिसीमा हाम्रो कर्मभुमी अमेरिकाको प्रतिनिधित्व भोट हालेका हामी या डा. पौडेललाई भोट नहालेकाका पनि चाह र चासोको बिषय हो । आईसिसीमा गौरीराज जोशी, खगेन्द्र जिसी, सोनाम लामा, ए सी शेर्पा, दिल श्रेष्ठ, राम सी खरेल, कृष्ण पोखरेल, तेम्बा शेर्पा र अरुहरु अटाउन । सही मान्छे डेलिगेट्स परुन । सहयोगी अबश्य पर्छन, बिरोधीहरु पनि परुन । तबमात्र सन्तुलन मिल्नेछ, सेवा र भावको । त्यो नभए पनि दुई बर्षको पुरै युग बांकी छ, डा. पौडेलको कार्यसमितिलाई । अमेरिकामा सकृय प्रवासी संगठनहरुले उठाउन नसकेका जनमानसका मुद्दाहरुको सम्बोधन गर्न सफल बन्नुपर्छ, अबको एनआरएन । हार्दिक बधाई डा. सा’ब, तपाईंका कार्यसमितिमा निर्वाचित कार्यसमितिलाई । मनको स्कन्दन छुने काम गर्नुहोला । सबका बगैंचा हुन्छन, मनका वा अलिशान महलका । माली त्यो हो, जसले मन फुलाउंछ, आफ्नो बगैंचा हरियाली र लटरम्म पारेर माहुरीको रानो डुलाउंछ । फलाउनुस् एनआरएन, प्रवासी मनको बगैंचा । फलोस फुलोस, एनआरएन ।
अस्तु !
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *