२०८१ वैशाख १५ गते | 27th of April 2024

साझा उम्मेदवार खोजौं–शुक्रराज शर्मा

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २३ गते ३:१८

प्रश्तुती–प्रकाश ढकाल
वि.सं. २०२३ सालमा गण्डकी छाता संगठनको सदस्य हुँदै नेपाली काँग्रेस मार्फत नेपाली राजनीतिमा प्रबेश गरेका नेता शुक्रराज शर्मा । उनले २०२६ सालमा तरुण दलको सदस्यता प्राप्त गरेका थिए । सानै उमेरदेखि पारिबारिक जिम्मेवारीमा परेका उनले २०२० सालमा एसएलसी पास गरेका हुन् । त्यसपछि पर्वतमा आदर्श प्राथमिक विद्यालय स्थापना गरेर अध्यापनको काम गरे । २०३३ सालमा नेपाली काँग्रेस कास्कीको जिल्ला कार्यसमिति सदस्य बने ।
त्यसपछि २०३९ सालमा जिल्ला सचिव हुँदै २०४६ सालमा सभापति बने । उनी नेपाली काँग्रेस कास्कीको इतिहासमै सबैभन्दा लामो समय सभापति बन्ने ब्यक्ति हुन् । शर्माले निरन्तर २०६१ सालसम्म सभापतिको जिम्मेवारी सम्हालेका थिए । ५६ देखि ६२ सम्म अपर हाउसका सदस्य बने भने ४८ र ५१ मा आम निर्वाचनमा तत्कालीन कास्की २ नम्बर क्षेत्रबाट चुनावमा टिकट पाएपनि पराजय ब्यहोरेका थिए । २०६२ पछि काँग्रेसको केन्द्रिय आमन्त्रीत सदस्य भएर ६ बर्षसम्म काम गरे । हाल शर्मा महासमिति सदस्य छन् । ५० बर्षे राजनीतिक इतिहासमा शर्माले धेरै विकास निर्माण र पार्टीका सांगठानिक योजना बनाउने काममा अगुवाई गरेका थिए । शर्मा राजनीतिसँगै धार्मिक गतिविधीमा पनि सहभागी छन् ।


कास्कीका पाँचवटै स्थानीय तह श्रोत र साधनले भरिपूर्ण छन् । लामो समयदेखि हामीसँग भएका साधन श्रोत त्यसै खेर गैरहेको छ । हामी चाहीँ त्यसलाई प्रयोग गर्न नसकेर गरिव भैरहेका छौं । पोखरा नेपालकै सर्बश्रेष्ठ ठाउँ हो । यति भनेर मात्रै सुख छैन । सर्बश्रेष्ठ बनाउने दायित्व अव हामीसँग छ । ३५ सालमा चुनाव प्रचार गर्न जाँदा खाने बस्ने अभाव कतै थिएन । पैसा भएपछि चाहेको कुरा किन्न पाउँथ्यौं । तर यहाँका गाउँहरु ठिक उल्टा थिए । पैसा भएपनि खान बस्न पाईँदैनथ्यो । यो मैले भोगेको छु । यस्तो अवस्थामा पर्यटक कसरी जान सक्थे गाउँघरमा ? त्यसैले धेरै पर्यटक पोखरा केन्द्रित भए । पोखराको विकास उसैगरी हुन थालेको हो । केही गाउँहरु पर्यटक जान थालेपछि नै विस्तारै विकास हुन थालेका हुन् । तर अझै चित्तबुझ्दो छैन । अरु प्रदेशको तुलनामा पोखरामा पर्यटक आशातित भित्रिएनन् । हामीले पर्यटक सुहाउँदो वातावरण सिर्जना गर्न सकेकै छैनौं । त्यसको दोष अहिले भोगिरहेका छौं । पर्यटक भित्र्याउन उनीहरुलाई सुहाउँदो होटल चाहियो । रेष्टुरेण्टहरु खुल्नुपर्यो । आतिथ्यता उस्तै हुनुपर्छ । यातायात साधनहरुको सर्वसुलभ ब्यवस्था हुनुपर्छ । तर राज्यले यसको ब्यवस्थापन गर्न सकेन र हामीले पनि पहल गर्न सकेनौं । त्यसको पछुतो अहिले आएर परेको छ, राजनीतिक अगुवालाई ।
धार्मिक पर्यटनका रुपमा पोखराको विकास गरौं त, लाखौंलाख पर्यटक ओईरिन्छन् । हिन्दु र बौद्ध धर्मको मात्रै ट्रान्जिट बनाउन सके पोखराले थेग्न नसक्ने पर्यटक भित्रिन्छन् । काठमाण्डौंदेखि पोखरा हुँदै मुक्तीनाथ, लुम्बिनीदेखि पोखरा हुँदै मान सरोबर सम्मको रुटलाई ब्यवस्थित गरे पोखराको समृद्धी सहज छ । विकास भनेको सडक र भवन मात्रै होईन । मान्छेको चेतना स्तरमा पनि विकासका गतिविधी भर पर्छन् । प्राकृतिक रुपमा त विश्वको अध्ययन केन्द्र कास्की बन्न सक्छ । यत्ति बिषय हामीले छुन सके पर्यटकको सेवा गर्न हामीलाई फुर्सदै हुँदैन । यसको ब्यवस्थापन गर्ने हैसियत हामीले बढाउनुपर्छ । जलविद्युत पोखराको विकासका लागि अर्को महत्वपूर्ण कुरा हो । जिल्लाभित्र रहेका खोलाहरु जलविद्युतका लागि महत्वपूर्ण छन् । साँच्चीकै जिल्लाको विकास गर्ने हो भने कृषि, पर्यटन र जलविद्युत अपरिहार्य छ । त्यसलाई परिचालन गर्ने क्षमता हामीसँग हुनुपर्छ ।
अवको पाँच बर्षमा तपाईँ हामीले कल्पनै नगरेको विकास हुन्छ । तर यसमा पार्टीगत राजनीति घुस्न दिनुहुँदैन । यहाँ अभुतपूर्व श्रोत छन् । हाम्रो उपलब्धी पनि अभुतपूर्व हुन्छ । पोखराले सिंगापुर, भारत, चाईना र अन्य महत्वपूर्ण देश र शहरहरुसँग प्रत्यक्ष सम्पर्क राख्न सक्छ । त्यो भनेको हाम्रो स्तरीय विकास हो । हाम्रो समृद्धी हो । थोरै समयमा हामीले जुन कुराले दुख पाएका छौं, त्यसबाट राहात पाउँछौं । त्यसैले पटक पटक दोहो¥याउनुको कारण पोखरालाई आधुनिक परिस्थीति अनुसार विकास गर्न यहाँको अगुवा पोखरालाई बुझेको हुनुपर्छ । हुन त राजनीति बाहिरका मान्छेलाई मैले अगुवाई गर्न दिनुहुँदैन । त्यैपनि पोखराले चाहान्छ भने त्यस्तो वातावरण पनि बन्नुपर्छ । नभए राजनीति भित्र पनि निकै राम्रा मान्छेहरु छन् । उनीहरुलाई खोजेर साझा उम्मेदवारको रुपमा प्रश्तुत गरौं । विल्कुल जनताको हितका निमित्त साझा उम्मेदवार प्रश्तुत गरौं । मैले मेरो पार्टीलाई लविङ गर्न परे तयार छु ।
देश अहिले गम्भीर मोडमा छ । तीन पुस्ताले खेल्ने ठाउँ हामीले टुटाईसक्यौं । नातीलाई सहयोग गर्ने ठाउँमा हामी आँफै नातीको प्रतिश्पर्धी हुनुपर्ने बाध्यतामा उभिएका छौं । खयर लामो समयको पर्खाइपछि परिस्थिती चुनाव हुने खालको छ । तर बाहिर केही फरक माहोल देखिएको छ । असन्तुष्ट भएकाहरुलाई पनि निर्वाचनमा ल्याउनुपर्छ । निर्वाचन भयो भने थाँती रहेका सबै काम पूरा हुन्छ, चुनाव नभए देश भयंकर दुर्घटनामा फस्छ । अहिले हात खुट्टा नभएको प्राणी जस्तो अवस्था भएको छ । यसलाई पूर्ण गर्नका लागि भएपनि निर्वाचन अति आवश्यक छ । हाम्रो देशको राजनीति बिग्रियो । धेरै प्रतिनिधीले जनतालाई दिनकै लागि जनताको मत माग्छन् । राज्यले दिएको हैसियतलाई प्रयोग गरेर हामी दिन्छौं भन्ने बाचा गरेका हुन्छन् । तर नेपालमा ठ्याक्कै उल्टो भयो । जनताका नाममा जो प्रतिनिधी गएका छन् । उनीहरुले जनतालाई दिएनन् । जनताबाट सँधै मागिरहे । अबको स्थानीय चुनावले लिने मान्छेलाई ह्यारेस गरेर दिन सक्ने र दिने मन भएकालाई जनताले भोट हालेर त्यो ठाउँमा पु¥याउनुपर्छ ।
अरु देशलाई हेर्दा राजनीतिले संजिवनीको काम गर्छ । राजनीतिले जोड्ने काम गर्छ । भाईचारा स्थापना गर्छ । देशको समृद्धी गराउँछ । तर नेपालमा माथी भनेजति केही पनि भएन । राजनीतिले मात्र फुटाउने काम ग¥यो । पार्टीका नाममा लोग्ने स्वास्नीको सम्बन्ध टुटाउने काम गरेको छ । गरिव, जात र धर्मका नाममा राजनीति गर्ने होईन । यि सबै निजी कुरा हो । पार्टीगत रुपमा यो सबै कुराहरु तोड्ने काम भयो । पार्टीगत राजनीतिले बिकृति ल्याएको छ । राजनीतका नाममा पार्टीलाई प्रयोग गरेर जनतालाई ढाँट्न पाईँदैन । यो काम काँग्रेसले पनि ग¥यो, एमालेले पनि ग¥यो, माओबादीले पनि ग¥यो र अरु पार्टीहरुले पनि गरे । त्यसैले यो निर्वाचन हरेक प्रकारले महत्वपूर्ण छ । अहिलेसम्म टुटेका सम्बन्धहरु जोड्न पनि चुनाव चाहिएको छ । अहिलेसम्म जनतासँग के लिने हो लिईसक्यौं । अब जनतालाई दिने काममा प्रतिबद्ध बनाउने हो । आँफुभन्दा तलका जनतालाई आफुँ सरहको बनाउन राजनीति गरेका हौं । त्यसतर्फ प्रतिबद्ध हुनुपर्छ सबै प्रतिनिधीहरु । अरु समृद्ध र विकसित देशमा धेरैले राजनीति गर्दैनन् । त्यसको पनि कारण छ, त्यहाँका जनता सक्षम छन् । उनीहरुलाई राज्यसँग माग्नुपर्ने धेरै कुरा छैन, त्यो काम केही प्रतिनिधीले पनि पूरा गर्न सक्छन् । तर नेपालीले राज्यसँग धेरै पाउनुपर्ने छ । त्यसैले धेरै मान्छे राजनीतिमा सहभागी भएका छन् । पिछडिएको बर्गलाई आँफु सरह र समान दर्जामा पु¥याउने हो भने स्थानीय चुनाव अनिवार्य छ ।
त्यतिबेला अहिलेको जस्तो ठूलो संख्यामा जनतालाई दिने प्रबृत्तिका मान्छेहरु नै प्रतिनिधी बनेका थिए । त्यसैले २० बर्षसम्म पनि उनीहरुले राजनीति धाने । अहिलेको माहौल विग्रियो । बीचमा चुनाव भएन यो अवधीमा खेल्ने मान्छेहरु धेरै जन्मिए । रातोदिन जग्गाको कारोबार गर्छ, रातोदिन पैसा कमाउछ, कहिलै राजनीति गर्दैन । जब चुनाव आउँछ, अनि मै हुम् भनेर अगाडी बढ्छ । राजनीतिका मान्छेहरुलाई साँठगाँठ गरेर खानपान गराईदिन्छ, अनि राजनीति गर्ने मान्छेले उनीहरुको नाम लिएर अगाडी बढाईदिन्छन् । यो कुरा भयो भने राजनीतिमा बितृष्णा बढ्छ । राजनीतीमा खिया लाग्यो भने राज्य अगाडी बढ्न सक्दैन । यस्तो विकृती प्रबेश गर्न अहिले पनि धेरै प्रयास भएको छ । तर यसलाई हतोत्साही गराउनुपर्छ । त्यो जिम्मा जनताको हो । राजनीतिक पार्टीले राजनीति गरेनन् । पार्टीगत ब्यवहार गरे । डर त्रासका भरमा जनतलाई आफ्नो पक्षमा पारे । त्यसैले ५४ पछि स्थानीय चुनाव भएन । अहिलेको चुनावले सुकुम्बासीलाई जग्गाधनी बनाउने र गरिवलाई धनी बनाउने अवसर दिन्छ । अहिले चुनावका उम्मेदवारले विकासको स्थायित्वका लागि एजेण्डा तय गर्नुपर्छ ।
हुनत अहिलेको राज्य पुनर्संचनाले खोला पारी र खोला वारीको भावना विकास भैसकेको छ । हामीले जनतालाई बुझाउन सकेनौं । यो प्रतिश्पर्धालाई विकासले जोड्नुपर्छ । रिस र राग भयो भने संघीयता झनै घाँडो हुन्छ । राज्यले दिएको पैसा पनि जनताको हितमा प्रयोग गर्न सके समृद्ध बन्न सक्छौं । यस बाहेक आँफैले श्रोत खोज्न सक्छौं । छोटो समयमा जनतालाई धेरै कुरा दिन सक्छौं । अहिले पनि सरकारले पैसा पठाईरहेको छ । तर आएका पैसा कतै कर्मचारीका नाममा, कतै राजनीतिका नाममा खर्च भयो । जनताका हातमा पुग्नै सकेन । भ्रष्टाचारको विरोध गर्नेहरु नै यि पैसामा खेलिरहेका छन् ।  सचेत र समृद्ध तह बनाउन स्थानीय चुनाव गर्ने त्यसका लागि साझा उम्मेदवार तय गर्ने हो । यो अहिलेको अवस्थामा सम्भावना छैन । तर अत्यावश्यक छ । श्रोत साधनको उपयोग गरेर त्यस क्षेत्रको चरम बिकासका लागि अवको चुनाव केन्द्रित हुनुपर्छ । सबैले त्यता लविङ गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *