२०८१ वैशाख २१ गते | 3rd of May 2024

मेलमिलाप, सद्भाव र एकताको पर्व फागु पूर्णिमा अर्थात ‘होली’

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १७ गते ४:२९

काठमाडौँ । रंगहरुको पर्व फागु अर्थात होली पर्व आज मुलुकभर मनार्इँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व मुलुकको तराई क्षेत्र बाहेक प्रायजसो सवै ठाउँमा हर्षोल्लासका साथ मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङहरु एक आपसमा दलेर खेलिन्छ ।

परम्परागत विश्वासः
यस अवसरमा आजै काठमाडौँको वसन्तपुरस्थित वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगे जलाउने परम्परा छ । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वास गरिन्छ ।

त्यसैले उक्त ध्वजापताकाहरू लुछाचुँडी गरेर लिने र अनिष्ट टर्छ भन्दै चीरबाट बनेको खरानीको टीका लगाउने गरिन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागुको विधिवत सुरु हुने विश्वास गरिन्छ ।

धार्मिक विश्वासः
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

आयुर्वेदिक महत्वः
होलीको आयुर्वेदिक महतव पनि छ । होली खेल्नका लागि राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण हुन्छ । होलीमा विविध रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ भने बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व भएको हो ।

तराईमा होली पूर्णिमाको भोलीपल्ट:
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । विभिन्न जातजाती, धर्मालम्बीले समेत यो पर्व आफ्नै तरिकाले मनाउने गर्छन् । यो पर्वलाई सम्पूर्ण नेपालीले समान सहभागिता र हर्षोल्लासका साथ मनाउने गरेका छन् । त्यसैले पनि यो पर्वलाई सद्भाव र एकताको पर्व पनि मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *