२०८१ जेठ ४ गते | 17th of May 2024

ओलीको भारत भ्रमणका १५ उपलब्धी : मन्त्री ज्ञवाली

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २४ गते २०:१४

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको दोस्रो दिन शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गरेका छन्। भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलन र संयुक्त विज्ञप्तीसँगै ओलीको भारत भ्रमणका उपलब्धीबारे समिक्षा सुरु भएको छ। सरकार आफैंले चाहिँ भ्रमणलाई कसरी लिएको छ त?

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार राती दिल्लीस्थित राष्ट्रपति भवनमा भ्रमणका उपलब्धी १५ बुँदामा यसरी चर्चा गरे:

. प्रधानमन्त्री केपी शर्मा ओलीले द्विपक्षीय वार्तामा समय लिएरै भारतसँगको व्यापार घाटाको विषयमा कुराकानी राख्नुभयो। नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा यसले ठूलो असर पारेको भन्दै प्रधानमन्त्रीले भारतसँग नेपालको कुनै प्रतिस्पर्धा नभएकाले काम अगाडि बढाउन प्रस्ताव राखेपछि वाणिज्य मेकानिजम बनाएर अघि बढ्ने विश्वास भारतीय प्रधानमन्त्रीले दिलाउनु भयो।

२. महाकाली सन्धि कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले जोड दिएर कुरा गर्नुभयो। सन्धि अनुसार पाँच किलोमिटर बाटो बनाउने काम २० वर्षदेखि थाती छ। हुलाकी राजमार्ग बनाउने कुरा १० वर्षदेखि अहिलेसम्म कुनै प्रगति भएको छैन। यो कुरा बाहिर जाँदा के सन्देश जान्छ? यसले सम्बन्धलाई कस्तो बनाउँछ भन्ने प्रश्न राखेपछि मोदीजीले पनि अप्ठ्यारो महशुस गर्नु भयो। मोदीले तत्कालै उत्तराखण्ड सरकारसँग यस विषयमा कुराकानी गर्ने र काम अगाडि बढाउने जवाफ दिनुभयो।

३. भारतसँगको सम्बन्ध विस्तारमा हामीले विलकुनै नयाँ तरिकाले कुराकानी बढायौं। कुनै पनि सम्झौता समयमै कार्यान्वयन भएनन् भने त्यसको कुनै अर्थ हुँदैन भन्ने कुरा प्रधानमन्त्रीले प्रष्टसँग भन्नु भएको छ।

४ं. विगतमा लिएको नेपाल नीतिमा भारतले आत्मसमीक्षा गरेर अगाडि बढिरहेको हामीले उसको व्यवहारमा पायौं। भारतजस्तो देशलाई कतिपय विषयमा खुल्न समस्या भएको होला। ओलीलाई प्रधानमन्त्री नहुँदै र भएपछि दुई पटकसम्म टेलिफोनमा बधाई दिनु र परराष्ट्र मन्त्री सुष्मा स्वराजलाई काठमाडौं पठाउनुले पनि यसको पुष्टि गर्दछ।

५ं. नदीको प्राकृतिक बहाव रोकिंँदा नेपालजस्तो गरिब देशका जनता डुबानका कारण उठिबास भएका छन्। जमीन बगरमा परिणत भएको छ भनेर प्रधानमन्त्रीले डुबानको समस्या उठाउनु भएको छ।

६. मित्रताको हात अगाडि बढाएर, विश्वासको वातावरण बनाएर सहकार्य गरौं भन्ने हाम्रो योजना अनुसार भारतसँग केही माग्ने भन्नेतिर हामी गएनौं।

७. अरुण–३ मा हाम्रो तयारी पनि पुगेन। फेरि त्यसको सिलान्यास दिल्लीबाट गर्दा राम्रो सन्देश नजाला भनेर अलि तयारीपछि काठमाडौंमा गरौं भन्ने भयो।

८. यो भ्रमणमा नेपालको आन्तरिक राजनीतिक मामिलामा कुनै छलफल भएन। नेपाल लोकतान्त्रिक प्रक्रियाबाट संघीयता लागू गर्ने चरणमा भएकोले हाम्रो प्रमुख उद्देश्य भनेको नेपालको विकास र समृद्धि हो। त्यसमा सहयोग र सद्भाव बढाउन प्रधानमन्त्रीले आग्रह गर्नु भयो।

९. जे गर्ने हो, त्यो समयमै र कंक्रिट रुपमा गरौं। नत्र नयाँ बुँदा थपेर मात्र केही हुँदैन। काठमाडौं–रक्सोल रेलवे बनाउने हो भने पनि तुरुन्त गरौं भन्ने प्रस्ताव गरेका छौं।

१०. हामीले उठाएका विषयमा तत्काल रेसपोन्स गर्ने अवस्थामा भारत पुगेको छ। हामीले उठाएका दुई विषयमा तत्कालै काम गरेको जानकारी पनि भारतीय अधिकारीले दिएका छन्।

११. ओलीले सार्कलाई अगाडि बढाउने कुरा उठाएपछि मोदीले स्टेट स्पोन्सर आतंकवाद नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो।

१२. भारतको अफिसिल भाषामा पनि नेपालको विकास र समृद्धिको प्रस्तावलाई सम्बोधन गरिएको छ।

१३. नेपाल र भारत दुवैतिर बोल्ड भिजन र निर्णय क्षमता भएका नेता भएकाले साझा रुपमा विकास र समृद्धिलाई जोड दिने अवस्था सृजना भएको छ।

१४. बुढीगण्डकी जलविद्युत परियोजनाका बारेमा हामीले भारतसँग कुनै छलफल गरेनौं।

१५. सानो देश भएपनि अडान कायम राख्न सक्यो भने त्यसले सम्बन्धलाई सही ठाउँ ल्याउँछ भन्ने उदाहरण नेपाल बनेको छ, नेपालखबरले लेखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *