२०८१ जेठ ४ गते | 17th of May 2024

को बन्ला नयाँ आइजीपी ? तीन दावेदारका यस्ता छन हैसियत

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २७ गते ९:२७

काठमाडौं । नेपाल प्रहरी र शसस्त्रका वहालवाला आइजीपी (महानिरीक्षक)को सेवा अवधि बुधबारबाट सकिँदै छ । नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

तर, नयाँ आइजीपीका लागि शसस्त्रमा खासै प्रतिश्पर्धा नभए पनि नेपाल प्रहरीमा तीन जनाको लविङ तिव्र छ ।  सशस्त्रमा एआईजी शैलेन्द्र खनाल अन्य प्रतिश्पर्धीभन्दा हरेक कोणबाट अगाडि नै रहेकाले खासै समस्या नहुने देखिन्छ । तर, नेपाल प्रहरीमा तीनजनाको ‘नेक टु नेक’ प्रतिश्पर्धा छ । सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीको दौडमा छन् ।

बुधबारबाट वहालवाला आईजीपीको पदावधि सकिने भएकाले आजै नयाँ आईजीपी टुंगो लगाउनु पर्ने जिम्मेवारी सरकारको काँधमा छ । त्यसो नभए विगतको नजिर दोहोरिने खतरा छ । यसअघि कनिष्ठ र बरिष्ठको चलखेलका कारण सरकार र प्रहरी संगठन नै आलोचनामा फसेको थियो ।

तर, यसपटक पुरानो परिस्थिति दोहोरिन नदिन प्रधानमन्त्री केपी ओली सचेत रहेको बताइएको छ । उनले सत्ता साझेदार माओवादीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापासँग केही चरण छलफल गरिसकेको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रहरी नियमावलीअनुसार अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)बाट प्रहरी महानिरीक्षक आइजिपी बन्ने सामान्य नियम छ। तर, ३० वर्षे सेवा अवधिका कारण अर्यालसँगै हालका १५ जना एआइजीसमेत अवकाश पाउने भएपछि २६औँ आइजिपी बन्ने अवसर सीधै नायव महानिरीक्षक (डिआइजी)ले पाउने भएका हुन् । वहालवाला प्रकाश अर्याल पनि यसरी नै आइजीपी बनेका थिए ।

खनाल, खरेल र कार्कीको हैसियत 
डिआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की भावी आईजीपीका लागि चर्चामा रहेका नाम हुन् । तीनै जना विवादमा मुछिएका पात्र पनि होइनन् । आर्थिक लेनदेन र र सेटिङमा नाम मुछिएको छैन।

प्रहरी सेवामा प्रवेश : खनाल र कार्कीभन्दा खरेल अगाडि
खनाल र कार्कीभन्दा ११ महिनाअगाडि प्रहरी जवानको रूपमा खरेल सेवामा प्रवेश गरेका हुन् ।

प्रहरी निरीक्षक : तीनै जना सँगसँगै
प्रहरी निरीक्षकमा भने तीनैजनाले सँगसँगै सेवा सुरु गरेका हुन् । ०४६ मा उनीहरु प्रहरी निरीक्षक बनेका हुन् ।

डिआइजीसम्म पुग्दा : खनाल र खरेल सँगै, कार्की पछिपछि
प्रहरी निरीक्षकदेखि डिआइजीसम्म खनाल र खरेल सँगसँगै बढुवा हुँदै आएका छन् भने कार्की पछि परेका देखिन्छन् ।

डिआइजी बढुवामा : तीनैजना फेरि सँगसँगै
निरीक्षकदेखि डिआइजीसम्म पछि परेको कार्कीले खनाल र खरेललाई डिआइजी बढुवामा भेटे ।

डिआइजीमा : खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो
प्रहरी निरीक्षकदेखि नै ब्याचमा खरेलले खनाललाई पछाडि पार्दै आएका थिए । तर, डिआइजी बढुवामा खनालले खरेललाई पछि पारे । कार्की भने तेस्रो नम्बरमा परे । अहिले खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा छन्। खरेल सुरक्षा महाशाखामा छन् भने कार्की प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख छन्।

यी अपरेशनले चर्चामा आए
खनाल : अपराध महाशाखाको प्रमुख हुँदा भएको गुन्‍डा नाइके कुमार घैँटे (कुमार श्रेष्ठ)को इन्काउन्टर र फुटबल म्याचफिक्सिङको अनुसन्धानले खनाल चर्चामा आए ।

खरेल : तराईका जिल्लाको अपराध नियन्त्रणदेखि काठमाडौं परिसरको प्रमुख हुँदा चर्चामै थिए।

कार्की : अपराध महाशाखामा रहँदा गुन्‍डा नाइके चरी (दिनेश अधिकारी) इन्काउन्टर घटनाले चर्चामा आए ।

आईजीपी चयनमा प्रहरी नियमावली के भन्छ ?
प्रहरी नियमावलीमा भएको व्यवस्थाले आर्इ्जिपी हुनलाई ‘ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य’ मुख्य आधार मानेको छ। नियमावलीले बढुवाका लागि छुट्याएको १०० अंकमा ४० अंक कार्यसम्पादन मूल्यांकनलाई दिएको छ। नियमावलीले ज्येष्ठतालाई २०, शैक्षिक योग्यतालाई १०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवलाई ८, तालिमलाई ७ं५, बढुवा समितिले दिने ७ं५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीलाई ५ र विभूषणबापत २ अंक निर्धारण गरेको छ। यसको आधारमा तीनैजना डिआइजीले ८ महिनाको समयमा गरेको कार्यमूल्यांकनको आधारमा एकजना नेपाल प्रहरीको आर्इ्जिपी नियुक्त हुनेछन्।

अघिल्लो पटकको विवाद
हालका आर्इ्जिपी प्रकाश अर्याल हुँदा कार्यसम्पादन मूल्यांकनलाई लिएर विवाद उत्पन्न भएको थियो। विवाद हुँदा डिआइजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले समेत कार्यसम्पादन मूल्यांकनको आधारमा आइजिपी नियुक्त गर्न सरकारको नाममा अन्तरिम आदेश दिएपछि हालका एआइजी जयबहादुर चन्दलाई बनाउने निर्णयबाट पछि हट्दै प्रकाश अर्याललाई आइजिपीमा नियुक्त गरेको थियो।

तर, खास अधिकार सरकारसँग !
खासमा आइजिपी बनाउने प्रमुख अधिकार भने सरकारसँग छ। त्यसैले त प्रतिश्पर्धीहरु गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी ओलीनिकट नेता र आफन्तमार्फत् लविङमा रहेको स्रोत बताउँछ । सेवामा भएका कार्यमुल्यांकनका आधारमा कार्कीभन्दा खनाल या खरेलको सम्भावना बढी रहेको प्रहरीको उच्च स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *