२०८१ वैशाख १६ गते | 28th of April 2024

चुच्चेपाटी–साँखु सडकको कन्तबिजोग–लाचार प्रशासन, निकम्मा नेता र निरीह जनता

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख २० गते ८:५६

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न नसक्ने गरी हिलो, घाम लाग्यो कि सेकेण्डभरमा नै चारै तिर धुलोको मुस्लो नै मुस्लो–यो र यस्तै पर्याय बनेर यो सडक खण्डले सुधार पर्खेको धेरै भयो तर निकम्मा तथा लाचार प्रशासन, जनताको नाम भजाउँदै सदावहार राजनीति गर्ने नाम मात्रका राजनीतिक दलका कारण समस्या जहिले पनि जस्ताको त्यस्तै । मुलुकमा सबै निकायको चुनाव सम्पन्न भइसक्यो, तर सडक सुधारका लागि जनप्रतिनिधिहरुको भूमिका हात लाग्यो शून्य छ । प्रशासनलाई यति दिनको अल्टिमेटम दिइयो, अब यति दिनमा सडक बन्छ भन्दै आत्मरतिमा रमाएर फेसबुके प्रचारमा रमाउने नेताहरुलाई स्थानीय प्रतिनिधि भन्न पनि लाज लाग्नु पर्ने हो । सबैलाई थाहा छ, व्यक्ति विशेषले मात्र चाहेर केही हुँदैन, तर आ–आफ्नो ठाउँबाट समस्या समाधानका लागि पारदर्शी रुपमा इमान्दार पहल समेत नगर्नेहरुको सूचि लामो भइसकेको छ । 

सास्तीको चाङ

चुच्चेपाटी–साँखु सडक खण्ड भएर दिनहुँ ओहोर दोहोर गर्ने सर्वसाधारण अनेकथरी सास्ती खेप्न बाध्य छन् । सबैभन्दा पहिले त शहर नै कुरुप देखिएको छ, राजधानीको केन्द्रीय भागको यस्तो हविगत सायदै अन्य देशमा होला । धुँलो, धुँवाले आम मानिसको स्वास्थ्यमा कस्तो असर पारेको होला, त्यसको कुनै लेखाजोखा नै गर्न सकिँदैन । सडकको दुरावस्थाका कारण ट्राफिक जामको समस्या विकराल बन्दै गएको छ । सामान्यतया जोरपाटीबाट चावेल पुग्न करीब १० मिनेट मात्र लाग्दछ । तर अहिलेकै अवस्थामा चारपाङग्रे सवारी साधन मार्फत् करीब पौने घण्टा लगाएर पनि यो दुरी पार गर्न हम्मे–हम्मे नै पर्छ । नियमति रुपमा नेपाल मेडिकल कलेज, अर्थोपेडिक अस्पताल, स्तुपा अस्पताल, शंकरापुर अस्पताल जस्ता स्वास्थ्य केन्द्र धाउनु पर्ने बिरामीहरुको हाल के होला, सहजै अनुमान लगाउन सकिन्छ । न्यूरोडमा भन्दा बढी भाडा तिरेर मुख्य सडक लाइनमा सटर थापेर व्यापार गर्दै आएकाहरुको व्यवसाय नै चौपट भइसकेको छ । यही सडक खण्ड हुँदै विद्यालय आवतवाजत गर्ने हजारौं विद्यार्थीहरुको कोमल मस्तिष्कमा कस्तो प्रभाव परेको होला । पैदलयात्रीको हविगत त भनि साध्य छैन । दुई पाङग्रे सवारी साधन चढेर सकुशल घर फर्कनेहरुले त महाभारतकै युद्ध जिते झै गर्व गर्ने परिस्थिति उत्पन्न भएको छ । शीर देखि पाउ सम्म हिलो लागेर परिवारकै सदस्यले नचिन्ने स्थिति छ । चार पाङग्रे सवारी धनीको समस्या पनि कहाली लाग्दै छ । बंगलादेशको राजधानी ढाकाको जामलाई समेत भुलाउने गरी गाडीमै निदाउन बाध्य भएकाहरु गाडी मर्मतका लागि सामन्य अवस्थामा भन्दा चार गुणा बढी बजेट छुट्टयाउन बाध्य छन् । अत्यावश्यक काममा तपाईलाई ट्याक्सी चढी चावेलबाट जोरपाटी जानु प¥यो भने ड्राइभरको अनावश्यक चाकडी गर्नैपर्छ । उसको सोझो जवाफ हुन्छ–तपाईलाई समस्या परेको छ मैले थाहा पाएँ, तपाईसँग ५ सय रुपैँया लिएर जोरपाटी गए भने ट्याक्सी बनाउन ५ हजार लाग्छ, अब म के गर्ने । यी त सबै प्रतिनिधि उदाहरणहरु मात्रै हुन् । यी र यस्तै समस्या स्थानीयले खेपेको वर्षौ भइसक्यो । तर समस्या झन् विकराल हुँदैछ । 

यस्ता छन् जनप्रतिनिधि

चुच्चेपाटी–साँखु सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र २–३ मा पर्दछ । निर्वाचन क्षेत्र नम्बर दुईलाई प्रतिनिधित्व गर्छन्, पूर्वप्रधानमन्त्री समेत भइसकेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले । तर मुलपानी–थली हुँदै साँखु सम्मको सडक यात्रा गर्ने हो भने मुलुकको प्रमुख कार्यकारी अधिकार उपभोग गरिसकेका नेपाल साइरन बजाउँदै चिल्लो गाडीमा कुन नैतिकताले यो सडक मार्गमा हिड्न सक्छन् भनी जो कसैले प्रश्न गर्न सक्दछ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर तीनबाट निर्वाचित सांसद हुन्–कृष्ण राई । नेकपा एमाले काठमाडौंका अध्यक्ष समेत रहेका राई इतिहासकै शक्तिशाली मानिएका वर्तमान प्रधानमन्त्री केपी ओलीका प्रिय मात्र हुन् । शक्तिशाली प्रधानमन्त्रीसँगको पहुँचका कारण राईबाट सडक सुधारका लागि अपेक्षा गर्ने धेरै निराश भएका छन् । काठमाडौंको राजनीतिमा राम्रो पकड राख्ने स्वर्गिय गणेशमान सिंहका पुत्र प्रकाशमानको आर्शिवाद पाएर क्षेत्र नम्बर तीन कको प्रदेशसभाबाट विजयी नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा बौद्धका रैथाने हुन् । तर विश्व सम्पदा सूचि आपसासमा पर्ने आफनै घर अगाडि भैंसी जम्ने आहाल बनिसक्दा पनि लामाले के गरिरहेका छन्, कसैलाई पत्तो छैन । प्रदेश खबाट निर्वाचित एमालेका रामेश्वर फुयाल पनि गाविस अध्यक्ष, जिल्ला विकास समिति उपसभापति हुँदै सांसद भइसकेका व्यक्ति हुन् । तर आफनो क्षेत्रको सडकको दुरावस्थाले उनको पाको राजनीतिलाई पनि नराम्रोसँग गिजाइरहेको छ । अर्कोतर्फ पूर्व प्रधानमन्त्री नै निरिह सावित भइसकेको क्षेत्र अन्र्तगतको प्रदेश सभा सदस्यहरुबाट अपेक्षा गर्नु नै उपयुक्त होइन । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र कागेश्वरी मनहराका प्रमुख कृष्णहरि थापा पनि खारिएका राजनीतिज्ञ हुन् । स्थानीय निकाय सर्वशक्तिमान भएको वर्तमान अवस्थामा मेयरसाबहरुको दैनिकी भोज भतेरमै बितिरहेको आभास स्थानीयले गरेका छन् । तर हजारौंलाई दैनिक रुवाइरहेको सडक खण्ड सुधारमा उनीहरुको भूमिका जिरो छ । 

समस्याको चुरो

चावहिल–साँखु सडक खण्ड विस्तारका लागि उपत्यका सडक विस्तार आयोजनाले काम थालेको थियो । तर केही स्थानीय उपयुक्त क्षतिपूर्ति तथा मुअब्जा बिना सडक विस्तार गर्न पाइँदैन भनेर विरोधमा उत्रिए । अदालतमा दर्जनौं मुद्दा दर्ता भयो । अदालतले पनि तत्कालका लागि सडक विस्तार नर्गन स्टे अर्डर जारी गरेपछि समस्या चुलिएको हो । ठाँउ ठाउँमा घर भत्काइ सकिएको छ । केहीले मर्मत सम्भार पनि पूरा गरिसकेका छन् । यसबीचमा मेलाम्चीको ढल बिछ्याउने कामले गर्दा समस्या झन् थपियो । विकास निर्माणको क्रममा सरकारी निकायको समन्वय अभाव पनि पाइला पाइलमा देखिएको छ । समस्या जे सकुै होस्, समाधान गर्ने जिम्मेवारी राज्यकै हो । तर यो–त्यो वहानमा जनतालाई सास्ती दिइरहने हो भने यस भेगका जनताको धैर्यताको बाँध टुट्न सक्छ । सम्बन्धित् सबैलाई समयमै चेतना भया । 

हेर्नुस् बिजोग

2 thoughts on “चुच्चेपाटी–साँखु सडकको कन्तबिजोग–लाचार प्रशासन, निकम्मा नेता र निरीह जनता

Leave a Reply

Your email address will not be published. Required fields are marked *