२०८१ वैशाख २१ गते | 3rd of May 2024

महिला शसक्तिकरणमा जोड दिदै ‘इन्टरनेसनल विडोज डे’ सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १८ गते १८:१०

न्यूयोर्क/अमेरिका – विगत २० वर्षदेखि नेपालमा विधवा र एकल महिलाको हक अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको उमेन फर ह्युमेन राइट्स (डब्लुएचआर)को अन्तराष्ट्रिय च्याप्टर उमेन फर ह्युमेन राइट्स (डब्लुएचआर) इन्टरनेसनल इन्कले न्यूयोर्कको ज्याक्सन हाइटमा आठौं अन्तराष्ट्रिय विधवा एकल महिला दिवस (इन्टरनेसनल विडोज डे) मनाएको छ । जुन २३ लाई संयुक्त राष्ट्रसंघले सन् २०१० मा अन्तराष्ट्रिय विधवा दिवस घोषणा गरे यता विश्वभरका विधवा महिलाले मनाउदै आएको सो दिवसलाई न्यूयोर्कमा रहेका सक्रिय महिला तथा सामाजिक अभियन्ताहरुले अन्तराष्ट्रिय विधवा एकल महिला दिवसको सम्झनामा मनाएका हुन् । 

मानव अधिकारका लागि महिला, एकल महिला समुहले तीन वर्ष अघि नै अमेरिकामा इन्टरनेसनल च्याप्टरको स्थापना गरी महिलाको क्षेत्रमा काम गर्दै आइरहेको इन्टरनेसनल च्याप्टरकी फोकल पर्सन सिर्जना काफ्लेले महिला अधिकार, शसक्तिकरण र सहभागिताका बारेमा प्रस्ट्याउदै एकल महिला समुहले दिगो बिकास लक्ष्य (सस्टेनेबल डेभलपमेन्ट गोल) ‘एसडीजी’ अनुसार सन् २०३० सम्ममा ‘लिभ नो वन बिहाइन्ड’ (कुनै पनि महिलालाई पछाडि नछोडिने) लक्ष्यमा केन्द्रित रहेर विधवा महिलाहरुको आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको जानकारी दिइन् । नेपाली महिलाहरु कानुनत: अधिकार सम्पन्न र बलिया छन यद्यपी सामाजिक संस्कार र ब्यवहारत: उनीहरु निर्वल छन, फोकल पर्सन काफ्लेले भनिन, न्याय पाउनका लागि ठुलो संघर्ष गरिरहेका तिनै महिला तथा समुदायलाई न्याय दिलाउन र हक अधिकार सुनिश्चित गर्नका लागि अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरेर काम गर्न सदैव तत्पर छौं । 

५ श्रेणीका महिला रहेको नेपालमा उनीहरुका विद्यमान समस्या सहकार्यका माध्यमबाटै समाधान हुन सक्ने औल्याउदै एकल महिला लगायत आप्रवासीका साझा मुद्दा, विधवा एकल महिलाका विषयलाई अन्तराष्ट्रिय संयन्त्रमा समायोजन गर्नको लागि निरन्तर संयुक्त राष्ट्रसंघद्धारा आयोजित फोरमहरुमा सक्रिय सहभागी जनाउादै आएको फोकल पर्सन काफ्लेले बताइन् । प्रत्येक वर्ष संयुक्त राष्ट्रसंघको आयोजनामा हुने महिला सम्मेलनमा विधवा महिलाको विषयमा केन्द्रित रहेर छलफल चलाउने, बैबाहिक आधारमा महिलालाई कुनै भेदभाव नगर्ने विषयलाई बिशेष रुपमा उठाउने योजनालाई आगामी दिनमा अझ प्रभावकारी बनाउन कटिवद्ध रहेको काफ्लेले बताइन् । 

कार्यक्रममा सहभागी क्विन्सबोरोका काउन्सिल म्यान कोस्टा कन्स्टेन्टिनिडसका क्याम्पियन सहयोगी जोय चौधरीले एकल महिलाको सवाल दक्षिण एसियाली मुलुकमै मिल्दोजुल्दो भएको र अमेरिकाको हकमा सबै महिलाको अधिकार समान भएकाले विधवा एकल महिलालाई कुनै किसिमको विभेद गर्न नमिल्ने बताए । संस्थाको भावी योजनालाई कार्यान्वयनका पाटोमा उन्मुख गराई अघि बढ्न उत्प्रेरणा दिएका चौधरीले आगामी दिनमा जस्तो सुकै परिस्थितिमा पनि महिलाका अधिकार र समानताका सवालमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । नेपालमा लामो समय देखि महिलाको क्षेत्रमा योगदान पुर्‍याएको र अमेरिकामा पनि सक्रिय भुमिका खेलेको भन्दै फोकल पर्सन सिर्जना काफ्लेलाई प्रोत्साहन स्वरुप प्रमाण पत्र दिएका थिए । त्यस्तै कार्यक्रममा क्विन्स कम्युनिटी बोर्ड ५ का सदस्य एवं सामाजिक ब्यक्तित्व मोहन ज्ञवाली, कम्युनिटी बोर्ड ३ का सदस्य नवराज केसी, सामाजिक ब्यक्तित्व जनक भण्डारी लगायत विभिन्न संस्था र क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो । 

कार्यक्रममा सहभागी सबैबाट १/१ डलर उठाएर अवसर कोष स्थापना गरिएको छ । पहिलो दिन ६२ डलर संकलन भएको यो अभियानलाई निरन्तरता दिदै जाने महिला अधिकारका सवालमा कार्यरत पत्रकार कल्पना घिमिरेले बताइन् । नेपालमा बि.सं २०५८ मा राष्ट्रिय एकल महिला दिवसमा सहभागीबाट १/१ नेपाली रुपैंया उठाएर संकलन गरिएको उक्त रकमले हाल १ हजार ५५ जना एकल महिलाका छोराछोरीहरुलाई शिक्षा दिन सम्भव भएको र ५५ जना एकल महिला नै संकलित उक्त रकमको सहयोगले उच्च शिक्षा लिइरहेको गर्विलो उदाहरण प्रस्तुत गर्दै संस्थाले न्युयोर्कमा पनि सोही किसिमको अभियानलाई अघि सारेको पत्रकार घिमिरेले प्रतिक्रिया दिइन् । 

योसंगै सबै महिला तथा सरोकारवाला सबैलाई एकतावद्ध गर्दै अघि बढ्न बिशेष कार्ययोजना ल्याउने योजनामा रहेको संस्थाले नेपालमा मुख्यत आर्थिक पक्षबाट महिलाको जिवनस्तर सुदृढ बनाउन सकिने निष्कर्ष निकालेको छ । यसका लागि अमेरिकामा पनि अवसर कोषलाई बढोत्तरी गर्ने र अन्य बैकल्पिक श्रोतका लागि पहल गर्ने संस्थाकी न्यूयोर्क च्याप्टरकी फोकल पर्सन काफ्लेले बताइन् । यसरी स्थापना गरिएको अवसर कोषको रकमले नेपाल र अमेरिकामा रहेका बास्तविक पीडितलाई सहयोग गर्नेछौं काफ्लेले भनिन्, ‘हाम्रो यो अभियानमा अमेरीकाबासी सम्पुर्ण नेपालीहरु सबैबाट सहयोगको अपेक्षा राखेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *