काठमान्डौं – नेपाली क्रिकेटको उपलब्धि र अन्तर्राष्ट्रिय यात्रामा सारथि बनेका कप्तान पारस खड्काले सक्रिय खेल जीवनपछि आफू क्रिकेट प्रशासनको नेतृत्व तहमा र परिस्थितिले साथ दिएमा राजनीतिमा पनि जानसक्ने बताएका छन्। तर केही समय आफू खेलाडीकै रूपमा सक्रिय हुने उनले स्पष्ट पारेका छन्।
नेपालको क्रिकेट प्रशासन चर्को राजनीतिबाट प्रभावित भएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट प्रतिबन्धित भएको परिस्थितिमा पनि राष्ट्रिय टोली भने कायम छ। खड्काले नै त्यसको नेतृत्व गर्दै आएका छन्।
के यी लगनशील कप्तानको अबको लक्ष्य नेपाल क्रिकेट सङ्घको अध्यक्ष बन्नु हो? स्पष्ट वक्ताको रूपमा परिचित खड्का भन्छन्, “अब बन्ने सङ्घ वा बोर्डमा यस्ता मान्छे आउनु पर्यो जो क्रिकेटको विकासमा समर्पित होओस्। भोलिका दिनमा त्यो म पनि हुनसक्छु।”
खेल जीवनपछि प्रशिक्षण भन्दा प्रशासन आफ्नो रुचि रहेको तर क्रिकेट प्रशासनको संरचना कठिन रहेको उनको बुझाइ छ। तीस वर्षीय खड्का भन्छन्, “खेल्नुभन्दा प्रशासन गाह्रो छ भन्छन्। जिल्लाबाट आउनुपर्यो। जित-हारको कुरा भयो, राजनीति पनि हुने भयो। तर जीवन नै क्रिकेटमा समर्पण गरेपछि म कुनै न कुनै रूपमा क्रिकेट प्रशासनमा हुनेछु।”
उनका अनुसार त्यो भूमिका विकास निर्देशक, प्रमुख कार्यकारी अधिकृत वा पदाधिकारी जुन रूपमा पनि हुनसक्छ। राम्रो उद्देश्य राखे अरूको सहयोग पाउनेमा उनी विश्वस्त छन्।
खेलमैदानमा उत्तरदायी नेता रूपमा परिचित खड्कामा कुशल प्रशासक बन्नसक्ने गुण भएको बताइन्छ। उनी हाल क्रिकेट खेलाडी सङ्घ इपानका महासचिव पनि हुन्।
खेलाडीविरुद्ध हुने अन्यायविरुद्ध आवाज उठाउँदै आएका खड्काले आफ्नै नेतृत्वमा क्यानविरुद्ध पटकपटक सङ्घर्ष गरेका छन्, राष्ट्रिय खेल बहिष्कार गरेका छन्।
कुनै बेला पुबुदु दशानायकलाई पुन: प्रशिक्षक नबनाइए क्रिकेट नखेल्ने घोषणा गरेका उनको आँटलाई कतिपयले नेतृत्व गर्नसक्ने गुणका रूपमा बुझ्ने गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट प्रतिबन्धित रहेको अवस्थामा हाल नेपाली क्रिकेटको नेतृत्व उनैले गर्दै आएको देखिन्छ। उनी अहिले मैदानभित्र कप्तान हुन् भने बाहिर राष्ट्रिय टोलीका एक छनोटकर्ता हुन्। उनी आईसीसीसँग पत्राचार गर्ने अघोषित समन्वयकर्ता हुन्।
विदेशी क्रिकेट टोलीहरूले उनीसँग छलफल गर्ने गरेको बताइन्छ। के उनी नेपाली क्रिकेटको सबैभन्दा शक्तिशाली व्यक्ति हुन्?
खड्का भन्छन्, “म जिम्मेवार स्थानमा छु। एउटा खेलाडीको रूपमा राम्रो खेल्नु मेरो पहिलो जिम्मेवारी हो। तर क्रिकेट विकासको लागि आउने कुनै पनि काम गर्न म पछि हट्दिनँ। त्यो म इमान्दार भएर पूरा गर्न तयार छु, गरिरहेको छु।” यद्यपि अहिलेको मुख्य काम भनेको राम्रो खेल्नु नै रहेकोमा उनको जोड छ।
अहिलेको परिस्थितिमा रमाइरहेको र त्यो नफेरिएकोमा खुसी नै भएको उनलाई आरोप लगाउनेहरू पनि छन्।
त्यसबारे उनी भन्छन्, “अहिलेको परिस्थितिमा यस्तो आलोचना नहोला भन्न सकिन्न। मैले गरेको काम सबै राम्रो नै होला भन्न नसकिएला। त्यसमा सच्याउन सकिन्छ। तर मैले आजसम्म नेपाली क्रिकेटबारे कुनै गलत निर्णय गरेको छैन, गर्ने पनि छैन।”
उनी सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीमा कप्तानीको भूमिकामा छन्। खेलमै आफू रमाइरहेको भन्दै उनी थप्छन्, “जसरी भरखरै हामीले अन्तिम बलमा नेदर्ल्यान्ड्ससँग जित्यौँ – जसरी डिभिजन २ को अन्तिम समयमा करण केसीले क्यानडाविरुद्ध खेल जिताए, जसरी पपुवा न्यूगिनीसँगको खेलमा दीपेन्द्र ऐरीले अर्धशतक बनाएर वा जसरी एकदिवसीय मान्यता पायौँ। यी सबै क्षणहरूमा म बढी रमाउने गर्छु।” भूतपूर्व कप्तान इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेको दृष्टान्त दिँदै के उनी पनि सक्रिय राजनीतिमा प्रवेश गर्लान् भन्ने प्रश्नबारे खड्का त्यो परिस्थितिमा भर पर्ने बताउँछन्।
उनी भन्छन्, “पहिले म मेचीदेखि महाकालीसम्म पुगेर त्यहाँको वातावरण क्रिकेटमय बनाउन चाहन्छु। अभिभावकहरूले छोराछोरीलाई ‘क्रिकेटर बन’ भन्ने अवस्था आओस् भन्ने मेरो इच्छा हो।” “त्यो सब गरिसकेपछि परिस्थितिले दिन्छ भने ह्वाई नट पोलिटिक्स?”