२०८१ वैशाख १६ गते | 28th of April 2024

वास्तविकता बुझेर समाचार सम्प्रेषण गरिदिन महासंघको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १५ गते १७:२४


रौतहट – रौतहट जिल्लाको लालबकैया नदीमा निर्माणाधीन पुलको विषयमा विभिन्न सञ्चारमाध्यमा पप्पु कन्स्ट्रक्सन कम्पनीको नाम जोडेर आइरहेका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । रौतहटको टिकुलियामा भएको दुःखद डुङ्गा दुर्घटना र त्यसबाट हुन गएको मानवीय क्षतिले महासंघलाई समेत स्तब्ध बनाएको महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । तर, मानवीय जीवन र सम्वेदनासँग जोडिएको विषयलाई पुल निर्माण कार्यसँग जोडेर समाचार प्रकाशनमा आएकोप्रति आफ्नो विमति रहेको महासंघको भनाइ छ । 

उक्त पुल निर्माणका लागि ३ वर्षभित्र काम सक्ने गरी २०७१ साल असारमा सम्झौता भएको चार महिना सम्म पनि साइट उपलब्ध नभएको महासंघले जनाएको छ । पुलका लागि उपलब्ध गराउने जग्गाको विवादमै चार महिना बितेको र २०७२ साल बैशाखको भूकम्पले गर्दा निर्माण कार्य रोक्न सडक विभागबाट सूचना प्रकाशित भएको थप ४ महिना सम्म पनि साइट उपलब्ध नहुँदा काम अवरुद्ध भएको विज्ञप्तिमा जनाइएको छ । त्यस लगत्तै निर्माण सामग्रीको अभाव र ८ महिना लामो मधेस आन्दोलनका कारण काम अघि बढ्न नसकेको महासंघले जनाएको छ । महासंघका अनुसार पर्याप्त रकम विनियोजन भएमा निर्माण कम्पनीले ६ महिना थप अवधिमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । १५ करोड रुपैयाको योजनामा हाल सम्म ६ करोड मात्र बजेट विनियोजन भएको हुँदा रकम अभावका कारणले काम प्रभावित भएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । पुल निर्माण कार्य सुरु हुनुभन्दा पहिलेदेखि नै उक्त खोलामा डुङ्गा सञ्चालन हुने गरेको र दुर्घटनाको प्रकृति हेर्दा माझीले पुलको दक्षिणतर्फबाट डुङ्गा तार्नुपर्नेमा पुलको उत्तरतिरबाट तार्न खोज्दा पानीको बहावले डुङ्गा पल्टाएर पुलको पिलरमा ठोक्किन गएको देखिने विज्ञप्तिमा जनाइएको छ ।

यसरी खोलामा भएको दुर्घटनामा पुल निर्माणको जिम्मा लिएको कम्पनीलाई दोषी देखाउन खोज्नु आफूैंमा पूर्वाग्रह प्रेरित देखिने महासंघले जनाएको छ । सडक विभागको प्रक्रियागत र परिस्थितिजन्य कारणले हुन गएको ढिलाइ नदेखे झै गरी निर्माण कम्पनीको टाउकोमा दोष खन्याउने काम न्यायोचित नभएको भन्दै महासंघले मुलुक निर्माणमा होमिएका १२ हजार ५ सय भन्दा बढी निर्माण व्यवसायीहरुलाई हतोत्साहित नपार्ने गरी सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गरिदिन सम्बन्धित् सबै संचार माध्यमहरुमा विनम्र अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *