२०८२ फागुन ३० गते | 14th of March 2026

यो युग मेरो हुँदै होइन !

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २९ गते १७:३३

– रामप्रसाद खनाल, डिसेम्बर १५, २०१८, अमेरिका

सस्ता
अति सस्ता
कुनै मूल्य नभए जस्ता
वजन नभएका
रित्ता भाँडाहरू जस्ता
हेर त छन् कस्ता कस्ता !
भुईँ न भाँडाका जस्ता
तर पनि
मै मत्ता हात्ती जस्ता
सर्वगुण सम्पन्न जस्ता
सबै कुरा जानेका जस्ता
सबैले मानेका जस्ता
तर आवरणमा मात्र
मात्र आवरणमा मात्र
नेता हेर त्यस्तै
नीति हेर त्यस्तै
राजनीति त्यस्तै
देशको थिती हेर त्यस्तै
हर कुरामा छ यस्तै यस्तै !
गायक गायिका अरे
दिन दाहाडै पार्छन् भरे !
अनुशासन, मर्यादा, सभ्यता
थाहा छैन कुन चरीको नाम हो !
कलाकारको कलाकारिता
देखाउने जिनिस भएको छ !
कठै पत्रकारको पत्रकारिता
लिलाम बढाबढमा गएको छ !
शक्तिशाली कलम सरम भएको छ
आजकल समाजसेवा
फेसबुकमा सेल्फी देखा भएको छ !
आफ्नो स्वार्थ पुरा गर्न
राजनीति र नेताको पछि लाग्दै
जसरी हुन्छ जे गरेर हुन्छ
हनुमानगिरीमा नाम लेखा भएको छ !
आजकल
हर कुरा
आधा हैन पुराका पुरा
यस्तै यस्तै भएको छ !
यता हेर यस्तै
उता हेर त्यस्तै
तल माथि
पूर्व पश्चिम
उत्तर दक्षिण
जता हेर
जहाँ हेर
त्यस्तै त्यस्तै
विचित्रै विचित्रै
यस्तो देख्दा देख्दै
सुन्दा सुन्दै
भोग्दा भोग्दै
वाक्क दिक्क भएको म लठुवा
आफैले आफैलाइ घोषणा गरेको छु –
म जति नजान्ने
म जति सानो
म जति गँवार
म जति नबुझ्ने
जङ्गली युगबाट
एकाएक
मानव युगमा आएको जनावर जस्तो
आवरणमा मात्र मान्छे जस्तो !
खोइ कस्तो कस्तो ??!!
अजिबको प्राणी !
अनौठो प्राणी !
अनाडी
पुरै अनाडी
संसारमा को होला र म जस्तो !
म आफै
अन्योलको भुमरीमा
रिङी रहेको छु !
मलाई थाहा छ
म डाइनोसर जस्तै
एक दिन
लोप भएर जाने छु
मेरो अस्तित्व आफै खाने छु !
किनकि यो युग मेरो हुँदै होइन
यो युगलाई सुहाउँदो म छँदै छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *