काठमान्डौं – राजधानीको गोकर्णेश्वर नगरपालिका–८ अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महांकाल मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । वैदिक मन्त्रोचारणबीच संस्कृतिविद् डाक्टर चिन्तामणि योगीले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुभयो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै डाक्टर योगीले पुरातन संस्कृति जर्गेना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । पूर्वीय संस्कृति वास्तवमै सर्वोत्कृष्ट रहेको चर्चा गर्दै डाक्टर योगीले यसको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसले गोकर्णेश्वर नगरपालिकालाई धार्मिक सर्किटको रुपमा विकास गरिने जानकारी दिनुभयो । उत्तरगया, गोकर्ण मन्दिर, चामुण्डा भगवती, महांकाल भैरव, अर्घौतेश्वर जस्ता प्राचिन मठ–मन्दिर रहेको गोकर्णेश्वर नगरपालिका हिन्दु धर्मावलम्बीहरुका लागि आर्कषक गन्तव्य भएको धारणा मेयर चालिसले राख्नुभयो । गोकर्णेश्वर नगरपालिका मातहतको धार्मिक समितिका संयोजक समेत रहनु भएका चर्चित भागवतवाचक पण्डित दिवाकरप्रसाद भण्डारीले श्रीमद्भागवतको महत्वमाथि चर्चा गर्दै अर्थ संकलन भन्दा पनि ज्ञान संकलनका लागि ज्ञान महायज्ञलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।
गोकर्णेश्वर नगरपालिका–८ का अध्यक्ष मनोज ढुंगानाले महांकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षहरुको निर्माणार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो । मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पूजारीको व्यवस्था, मन्दिर प्रवेशद्धार निर्माण, भजनकीर्तन तथा प्रवचनकक्ष, यज्ञमण्डप आदिको पवित्र लक्ष्य सहित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको स्थानीय सामाजिक कार्यकर्ता राजेश दाहालले बताउनुभयो । सप्ताह ज्ञान महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्न श्रीचन्द्र नगरकोटीको संयोजकत्वमा ११ सदस्यीय श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन मूल आयोजक समिति समेत गठन गरिएको छ । प्राचीन राजा मानदेवको कार्यकालमा उनकै निर्देशनमा राजधानीको पूर्वी क्षेत्रमा महांकाल सहित श्री गणेश, श्री चामुण्डादेवी र अर्घौतेश्वर महादेवको स्थापना गरिएको संस्कृतिविद् समेत रहनु भएका वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे बेदमणिले जानकारी दिनुभयो ।