२०८१ वैशाख १६ गते | 28th of April 2024

एनआरएन-अमेरिकाको बैठकद्दारा ‘सदस्यता बन्ने अवधि थप नगर्ने’ निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २७ गते १६:००

अमेरिका – एनआरएन,अमेरिकाको हिजो बसेको कार्यसमितिको बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्दै सदस्यता बन्ने अवधि थप नगर्ने निर्णय गरेको छ। संस्थाका सञ्चार संयोजक बाल जोशीका अनुसार सदस्यता लिने अवधि आउँदो शुक्रवार, १५ तारिख रातको ११:५९ पूर्वीय समयलाई नै कायम राख्दै सो समय भन्दा पहिले सदस्यता शुल्क चुक्ता नगरेका आवेदनहरू खारेज गर्ने निर्णय समेत गरेको छ। सञ्चार संयोजक बाल जोशीले दिएको जानकारी अनुसार हिजोको बैठकले निम्न बमोजिम निर्णय गर्‍यो :

१) एनआरएन-अमेरिकाको सदस्यता लिने अवधि नथपिने भएको छ। केही तत्त्वहरूले समयावधि थप्ने सम्भावनालाई बाहिर प्रचारमा ल्याएपछि सो विषयलाई प्रस्ट पार्दै हिजो बसेको कार्यसमितिको बैठकले आउँदो शुक्रवार, १५ तारिख रातको ११:५९ पूर्वीय समयलाई नै सदस्यता लिने अवधि कायम गरेको छ।

२) संस्थाका सदस्य बन्न निवेदन दिएका तर सदस्यता शुल्क चुक्ता नगरेका सम्पूर्ण आवेदकहरूले आउँदो शुक्रवार, १५ तारिख रातको ११:५९ पूर्वीय समय भित्र नै आफ्नो सदस्यता शुल्क चुक्ता गरी सक्नु पर्ने छ। तोकिएको समय भित्र सदस्यता शुल्क चुक्ता नगरेका सम्पूर्ण आवेदनहरूलाई खारेज गर्दै आगामी निर्वाचन प्रक्रियाबाट बाहिर राखिने छ।

३) संस्थाको आन्तरिक सदस्यता प्रमाणीकरण समितिले गरेको सदस्यता प्रमाणीकरण प्रक्रिया र निष्पक्षता तथा पर्यवेक्षण समितिको विश्वसनीयताको उच्च सर्हाना गर्दै यी दुवै समितिले गरेको कार्यमा कार्यसमितिका पदाधिकारीहरू तथा संस्थाका सदस्यहरूको विश्वासका कारण पूर्व निर्धारित ‘थर्ड पार्टी भेरिफिकेसन’ को आवश्यता महसुस नगरेकोले यी दुवै आन्तरिक समितिको निर्णयलाई नै अन्तिम मान्ने निर्णय हिजोको बैठकले गरेको छ।

एनआरएन-अमेरिकाको आन्तरिक सदस्यता प्रमाणीकरण समितिले प्रमाणित गरेका र पर्यवेक्षण समितिले सो प्रमाणीकरणको मान्यता दिएका सदस्यहरू नै आगामी निर्वाचनमा भाग लिन पाउनेछन्।

४) सदस्यता लिने क्रममा उपलब्ध गराइएका परिचय पत्रहरूलाई आन्तरिक सदस्यता प्रमाणीकरण समितिले सम्पूर्ण सदस्यहरूको विवरण प्रमाणित गरी निर्वाचन समितिलाई हस्तान्तरण गरेको दिन नै एनआरएन अमेरिकाको सिस्टमबाट दिर्घकालिनरुपमा डिलिट गरिनेछ। प्रमाणीकरण प्रक्रियामा मात्र आवश्यक रहेको सदस्यताको प्रमाणीकरण भइसके पछि सङ्कलित परिचयपत्रहरूको औचित्य समाप्त हुने भएको ठहर एनआरएन-अमेरिका कार्यसमितिको बैठकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *