२०८१ वैशाख १५ गते | 27th of April 2024

एसईईका उत्कृष्ट विद्यार्थीलाई प्रसिद्ध कँडेल स्मृति पुरस्कार प्रदान

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ६ गते १७:४२

काठमाडौं – राजधानीको शङ्खमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए मावि) मा शनिवार आयोजित १३औं अभिभावक दिवसको सन्दर्भमा आयोजित एक विशेष कार्यक्रमबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले गतवर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरूलाई जनही १० हजार रुपैयाँ राशिको ‘प्रसिद्ध कँडेल उत्कृष्ट विद्यार्थी पुरस्कार’सहित सम्मान प्रदान गर्नुभयो । उक्त पुरस्कारबाट सम्मानित हुनेमा दुबैजना छात्रा छन् । छात्राहरू ईशा भण्डारी र रेशिका रोक्काले ३ दशमलव ९५ ग्रेड ल्याई विद्यालयमा उत्कृष्ट स्थान हासिल गरेका थिए ।

त्यसै विद्यालयबाट २०६८ सालमा उत्कृष्ट स्थान ल्याई एसएलसी उत्तीर्ण गरेका मेधावी विद्यार्थी प्रसिद्ध कँडेलको २०७४ असोजमा अमेरिकामा आकस्मिक निधन भएपछि उहाँका बुबाआमा शिक्षासेवी चेतनाथ कँडेल तथा सीता कँडेलले छोराको स्मृतिस्वरूप रु. २ लाखको अक्षयकोष विद्यालयमा नाममा गत वर्ष स्थापना गरिदिनुभएको हो । सोही अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट एसईई परीक्षामा सोही विद्यालयबाट सर्वोत्कृट अंक ल्याउने विद्यार्थीलाई वार्षिक २० हजार रुपैयाँको पुरस्कार र सम्मान प्रदान गर्ने गरिएको कुरा विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद अर्यालले बताउनुभयो ।

साथै, प्रसिद्धको स्मृतिमा युवा साहित्यकारलाई सम्मान प्रदान गर्ने गरी नेपाल स्रष्टा समाजमा १ लाख १० हजार रुपैयाँको अक्षयकोष राखी पहिलोपटक यसै वर्ष युवास्रष्टा रमेश शुभेच्छुलाई रु. ११,१११।– को सम्मान प्रदान गरिएको र विकास लेखनमा निरन्तर लागिपर्ने नेपालका लेखकहरूमध्ये प्रत्येक वर्ष रु. १० हजारको सम्मान नेपाल सहभागीमूलक कार्य समूह (नेपान) बाट प्रदान गर्ने गरी त्यहाँ पनि रु. १ लाख रुपैयाँको अक्षयकोष राखिएको जानकारी सम्मानका संस्थापक चेतनाथ कँडेलले गराउनुभयो । विकास लेखनमा निरन्तर कलम चलाएवापत गत भदौ महिनामा नेपानले सहप्राध्यापक गम्भीरबहादुर हाडालाई सम्मान गरिसकेको छ । ‘प्रसिद्ध आफैं पनि एक युवा लेखकको रूपमा अगाडि बढिरहेका थिए । उनले अंग्रेजीमा लेखेका विभिन्न सृजनात्मक रचनाहरू नेपालका केही राष्ट्रिय अंग्रेजी दैनिक पत्रपत्रिकाहरूमा प्रकाशित छन्’, आमा सीता कँडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *