२०८१ वैशाख १५ गते | 27th of April 2024

चालु आर्थिक वर्षभित्र मुलुकभर ३९६ आधारभूत अस्पताल थपिने , कुन प्रदेशमा कति अस्पताल ?

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर १५ गते १४:०६

काठमाडौं – सरकारले यही आर्थिक वर्षभित्र मुलुकभर ३९६ आधारभूत अस्पताल थप्ने भएको छ । स्थानीय तहको माग र बिरामीको चापलाइ मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल थप्ने निर्णय गरेको हो । प्रदेश १ मा ५ सैय्याका २७, १० सैय्याका १४, १५ सैय्याका ४५ गरी जम्मा ८६ वटा अस्पताल निर्माण गरिनेछ ।

प्रदेश २ मा १० सैय्याको १६ र  १५ सैय्याको ३७ गरी ५३ वटा अस्पताल थपिइँदैछ । वागमती प्रदेशमा ५ सैय्याका ८, १० सैय्याका २० र १५ सैय्याका २३ गरी जम्मा ५१ अस्पताल बन्नेछन् । गण्डकी प्रदेशमा ५ सैय्याका ११, १० सैय्याका १४ र १५ सैय्याका २८ सहित ५३ वटा अस्पताल बन्नेछन् । लुम्बिनी प्रदेशमा ५ सैय्याका ५, १० सैय्याका ५ र १५ सैय्याका ४७ गरी जम्मा ५७ वटा अस्पताल बन्नेछन् । कर्णाली प्रदेशको जनसंख्यालाई आधार मान्दै ५ सैय्याको १, १० सैय्याका ९ र १५ सैय्याका ३२ गरी ४२ अस्पताल निर्माण गरिने भएको छ । सुदूरपश्चिम प्रदेशमा १० सैय्याका ३१ र १५ सैय्याका २३ गरी जम्मा ५४ वटा अस्पताल निर्माण गरिँदैछ । आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म सबै अस्पतालहरुको निर्माण कार्य सम्पन्न गर्नेगरी सोमबारसम्म ३०२ वटा भवनको शिलान्यास समेत भइसकेको मन्त्रालयले जनाएको छ । बाँकी स्थानहरुमा जग्गा खरिद सकिनासाथ निर्माणको काम थाल्ने मन्त्रालयको योजना  छ ।

गत आर्थिक वर्षमा नै सम्भाव्यता अध्ययन भएको यो आयोजना सम्पन्न गर्न सरकारले ५८ अर्ब रुपैयाँ छुट्याएको छ । स्रोत, साधन, जनशक्ति व्यवस्थापन लगायतका पक्षमा सुक्ष्म अध्ययन गरी आयोजना शुरु गरिएकाले समयमै लक्ष्यमा पुगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । उनका अनुसार मन्त्रालयले व्यवस्थापनका पक्षमा समेत बलियो तयारी गरेकाले यही आर्थिक वर्षको चौमासिकसम्ममा निर्माणको काम सम्पन्न भई आगामी आर्थिक वर्षसम्म यी अस्पतालहरु सञ्चालनमा आउनेछन् । दरबन्दी निर्धारण  र जनशक्ति व्यवस्थापनको पाटोमा समेत मन्त्रालयले निर्णय गरिसकेको छ । ५ सैय्याको आधारभूत अस्पतालका लागि आठौँ तहको १ जना मेडिकल अधिकृतसहित १२ जनको दरबन्दी कायम गरेको छ । त्यस्तै १० सैय्याको अस्पतालका लागि १७ जना र २७ जनाको दरबन्दी कायम गरिएको छ । यसबाहेक कर्मचारी थपघट गर्नु परेमा स्थानीय तहले करारमा कर्मचारी भर्ना गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *