२०८२ असोज ६ गते | 22nd of September 2025

बिधान विपरीत ओलीले केन्द्रीय सदस्य नियुक्ती गरेको भन्दै नेपाल समुह निर्वाचन आयोगमा, अवैधानिक जिम्मेवारी हेरफेरलाई वैधानिकता नदिन पत्र

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १ गते १३:२४

काठमाडौ-  नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत केन्द्रीय सदस्य नियुक्त गरिएको र अवैधानिक रूपले जिम्मेवारी हेरफेर गरिएको भन्दै  त्यसलाई वैधानिकता नदिन निर्वाचन आयोगलाई पत्र लेखेको छ  । शुक्रबार प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले एकलौटी रूपमा   केन्द्रीय कमिटी बैठक राखेर   नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेको थियो। पार्टी एकता भंग भएपछि माओवादी केन्द्रमा फर्किन नचाहेका गृहमन्त्री रामबहादुर थापा सहितका २३ जनालाई केन्द्रीय कमिटीमा ओलीले नियुक्त गरेका थिए।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना स्थायी कमिटी सदस्यले आइतबार आयोगलाई चिठी लेख्दै विधानविपरीत र अवैधानिक तरिकाले भएका निर्णयलाई मान्यता नदिन माग गरेका छन्।आयोगलाई लेखिएको पत्रमा केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान नरहेको समेत भनिएको छ। ‘हामी निवेदक नेकपा एमालेको २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी र सदस्यहरू हौं,’ आयोगलाई लेखेको पत्रमा भनिएको छ, ‘सोही धाराबमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम दश प्रतिशत सदस्यसमेत मनोनित भइसकेको अवस्था भएकाले हाल पार्टी विधानबमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन।’ पार्टीको विधानको धारा १३ र १३(क) बमोजिम पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्ने सक्ने निवेदनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *