२०८१ जेठ ४ गते | 17th of May 2024

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बरावरको बजेट सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १५ गते १५:३०

काठमाडौँ – सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बरावरको बजेट आज सार्वजनिक गरेको छ । प्रत्येक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षका लागि सरकारले बजेट संसद् समक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकोमा यस पटक संसद् विघटन भएको अवस्थामा सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश जारी गर्नु भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष कार्यक्रमका बिच बजेट सार्वजनिक गर्नुहुँदै चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड ४१.२ प्रतिशत र तथा पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब २६ करोड अर्थात् २२.७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात् १२.६ प्रतिशत रकम विनियोजन गरिएको उल्लेख गर्नुभयो । त्यसै गरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ६८ अर्ब ७१ करोड अर्थात् २३.५ प्रतिशत रकम विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षको बजेटको स्रोतको रुपमा राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड बेहोरिने छ । कुल विनियोजनमा न्यून हुने रकममध्ये वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब रुपैयाँ बेहोरिने छ । अर्थमन्त्री पौडेलले कोरोनाविरुद्धको खोप खरिदका लागि बजेटमा २६ अर्ब ७५ करोड बजेट रुपैयाँ विनियोजन गरेको र अक्सिजन प्लान्ट तथा उपकरण जडान गर्न भन्सार र भ्याटमा पुरै छुट दिइनुका साथै त्यस्ता उद्योगको सञ्चालनमा लाग्ने विद्युत् महसुलमा ५० प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । बजेटमा प्रदेश र स्थानीय तहमा कार्यान्वयन हुने सङ्घीय आयोजना र कार्यक्रमका लागि प्रदान गरिने अनुदानमा वृद्धि गरिएको छ ।

बजेटमा आगामी दुई वर्षमा नेपाललाई दूध तरकारी, तीन बर्ष भित्रमा गहुँ, मकै कोदो र फापरमा तथा ५ वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने गरी रकम विनियोजन गर्नुका साथै कृषि र पशुपन्क्षीको विकासका लागि ४५ अर्ब ९ करोड र रासायनिक मलको अनुदानका लागि १२ अर्ब रकम विनियोजन गरिएको छ ।त्यसै गरी बजेटले सामाजिक सुरक्षाको क्षेत्रमा बजेट रकम वृद्धि गरी ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

बजेटले राहत, सहुलियत र आर्थिक पुर्नउत्थानका लागि विभिन्न कार्यक्रमहरू अघि सार्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सहुलियत कर्जाको सीमा विस्तार गरी पाँच प्रतिशत बनाएर व्याज अनुदान दिन १३ अर्ब रकम विनियोजन गरेको छ । बजेटले आगामी बर्ष थप २९ हजार ४ सय हेक्टर कृषियोग्य जमिनमा सिचाई सुविधा पुर्‍याउने, प्रदेश २ का १ लाख २२ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने सुनकोसी मरिन बहुउद्देश्यीय नदी पथान्तरण आयोजनाको टनेल निर्माण कार्यलाई तीव्रता दिन चार वर्षमा निर्माण सम्पन्न गर्ने र २५ जिल्लाको २० हजार हेक्टर खेतीयोग्य भूमिमा सिचाई सुविधा विस्तार गर्न ५ हजार स्यालो टयुववेल र २ सय डिप टयुववेल जडान गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

त्यसै गरी बजेटले मेचीदेखि नारायणी सम्मका १५ हजार वर्ग किलोमिटर क्षेत्रको नाप नक्सांकन कार्य सम्पन्न गर्ने र आगामी तीन बर्ष भित्रमा देशका सबै भूभागको नाप तथा नक्सांकनको काम सम्पन्न गर्न रकम विनियोजन गरेको छ ।
बजेटले उच्च हिमाली र पहाडी क्षेत्रका २२ जिल्लाका ३३ स्थानीय तहहरूमा ऊन मेशिन कार्यक्रम मार्फत भेडा र च्याङ्ग्रा पालनलाई प्रोत्साहन गर्ने र गण्डकी तथा कर्णाली प्रदेशका हिमाली जिल्लामा ऊन प्रशोधन कारखाना स्थापना गर्ने व्यवस्था गरेको छ ।
बजेटले औद्योगिक क्षेत्र बाहिर स्थापित उद्योग विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण गरी सञ्चालन गर्न पाउने व्यवस्था गर्नुका साथै विशेष आर्थिक क्षेत्रमा स्थापन गरिने उद्योगले स्थापनाको ३ वर्षसम्म ४० प्रतिशत उत्पादन आन्तरिक बजारमा बिक्री गर्न पाउने व्यवस्था गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
बजेटले आगामी बर्ष धैवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गर्ने, पेट्रोलियम अन्वेषणको काम आगामी दुई वर्षभित्रमा सम्पन्न गर्ने तथा औद्योगिक पूर्वाधार निर्माणको लागि २ अर्ब ७७ करोड बजेट विनियोजन गरेको पनि अर्थ मन्त्री पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *