२०८२ असोज ३० गते | 16th of October 2025

कांग्रेसको १४ औं महाधिवेशन तोकिएको मितिमा गर्न माग

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २६ गते १५:२७

काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूले पार्टीको १४ औं महाधिवेशन तोकिएको मितिमा गर्न माग गरेका छन् । पौडेल समूहका जिल्ला सभापतिहरूको काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरूले तोकिएको मिति भदौ १६- १९ गते महाधिवेशन जसरी पनि सम्पन्‍न गर्नुपर्ने माग राखेका हुन् ।  भेलाले क्रियाशील सदस्यहरूको छनौटसम्बन्धी विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ । तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३औं महाधिवेशनका क्रियाशील सदस्यलाई आधार मानेर विवादको निकाश दिन पनि सभापतिहरूको भेलाले पार्टी नेतृत्वलाई आग्रह गरेको छ । पार्टीको वैधानिकता बचाउन जुन छिटो विधि हुन्छ त्यो विधि अपनाएर महाधिवेशन गर्न भेलामा सहभागीहरूले सुझाव दिएको नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले जानकारी दिए । भेलामा ३५ जिल्लाका सभापति सहभागी थिए ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउबाले महाधिवेशन नगर्न कानुनी परामर्श गरेको,क्रियाशील सदस्य विवाद समाधान नगरेको साथै निर्वाचन आयोगमा आफ्नो प्रभाव देखाएर पर धकेल्ने प्रयास गरेको निष्कर्ष भेलाले निकालेको काभ्रे सभापति आचार्यले जानकारी दिए ।  भेलामा सहभागीहरूलाई सम्बोधन गर्न नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू प्रकाशमान सिंह, रामशरण महत, सुजाता कोइराला, शेखर कोइराला पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *