असोज ०५, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका लोकप्रिय युवा नेता एवं महासमिति सदस्य हरिबोल भण्डारीको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । भण्डारीको तेह्रौं दिनको पुण्य तिथिमा राजधानीमा आइतवार आयोजित शोक तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भण्डारीबाट कांग्रसले अतुलनीय साथ सहयोग पाएको बताए । ‘कांग्रेस बाहेक आवश्यकता पर्दा हरिबोल दाइले देशलाई नै ठूलो गुन लगाउनु भएको छ’ शोक सभामा भावुक मुद्रामा महामन्त्री थापाले भने ।
महाभूकम्प, कोभिडकालबाट मुलुक आक्रान्त भएको बेलामा भण्डारीले देशको दूरदराज सबै ठाउँमा आफ्नो क्षमता अनुसार सहयोग गरेको स्मरण थापाले गरे । शोकमा रहेको भण्डारी परिवारको साथमा सिंगो पार्टी रहेको पनि महामन्त्री थापाले बताए । नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर सशांक कोइरालाले भण्डारीले अमेरिकामा सफल उद्यमीको रुपमा पहिचान बनाएपनि उनको मन मस्तिष्क भने सधै नेपालतर्फ सोझिएको बताए । भण्डारी आफूसँग निरन्तर १५ वर्ष अत्यन्त निकट रहेको चर्चा गर्दै कोइरालाले पार्टीमा उनले दिएको योगदानको मूल्याङ्कन हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले नेपाली कांग्रेस र समाजसेवाको क्षेत्रमा भण्डारीको अत्यन्त महत्वपूर्ण सहयोग रहेको टिप्पणी गरे । शोकसभामा निवर्तमान संघीय सांसद सन्तोष चालिसे, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानिँया, नेपाली कांग्रेस क्षेत्र नम्बर तीन काठमाडौंका सचिव भुवन लामा, सहसचिव सुदीप पण्डित लगायतले भण्डारीको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको बताए । शोकसभामा भण्डारी परिवारको तर्फबाट दाइ कृष्णहरि भण्डारी र दिदी शोभा सिलवाल भण्डारीले पीडाको क्षणमा सहानुभूति प्रकट गर्ने सबैप्रति आभार व्यक्त गरे ।
सोही अवसरमा भण्डारीको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । भण्डारी परिवार र नेपाली कांग्रेस क्षेत्र नम्बर तीन काठमाडौंको आयोजनामा गरिएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रका महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो । काठमाडौं जोरपाटी नारायणटार स्थायी घर भई हाल अमेरिकाको डालासमा बसोबास गर्दै आउनु भएका भण्डारीको भाद्र २४ गते डालासस्थित निवासमा निधन भएको थियो ।
गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति अमेरिका लगायतका संस्थाहरूमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएका भण्डारी नेपाली कांग्रेस भित्र बलियो अन्तर्राष्ट्रिय सम्बन्ध भएका पात्रको रुपमा सुपरिचित हुनुहुन्थ्यो । नेविसंघ, तरुण दल हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले क्षेत्रीय स्तरमा महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य निर्वाचनमा अत्याधिक मत हासिल गर्दै आउनु भएको थियो ।
मृदुभाषी, मिलनसार एवं सहयोगी पात्रको रुपमा सबै उमेर समुहका व्यक्तिहरूबीच उत्तिकै लोकप्रिय भण्डारीका श्रीमती र दुई सुपुत्र हुनुहुन्छ ।