सान-फ्रान्सिस्को – अमेरिकाको San Francisco शहरले नेपाली समुदायको सम्मानस्वरूप सन् २०२६ अप्रिल १४ लाई “नेपाली नयाँ वर्ष” का रूपमा आधिकारिक घोषणा गरेको छ।
सान फ्रान्सिस्को सहर तथा काउन्टीका मेयर Daniel Lurie ले जारी गरेको विशेष ‘प्रोक्लेमेशन’ (Proclamation) मार्फत उक्त दिनलाई नेपाली समुदायको संस्कृति, परम्परा र योगदानको कदर गर्दै मनाउने निर्णय गरिएको हो।
प्रोक्लेमेशनमा उल्लेख गरिएअनुसार नेपाली नयाँ वर्ष (बैशाख १, २०८३) नेपालको परम्परागत पात्रो अनुसार नयाँ वर्षको सुरुवात हो, जसले खुशी, कृतज्ञता र सांस्कृतिक उत्सवको सन्देश बोकेको हुन्छ। साथै, विश्वभर रहेका नेपालीहरूले बिस्केट जात्रा, नवार्ष जस्ता विविध सांस्कृतिक कार्यक्रममार्फत यस पर्वलाई भव्य रूपमा मनाउने गरिन्छ।
सान फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले स्थानीय सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सहर प्रशासनले यस्तो घोषणा गरेको हो। विशेषगरी नेपाल डे परेड जस्ता कार्यक्रमहरूले नेपाली पहिचान र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको पनि उल्लेख गरिएको छ।
यस घोषणाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको पहिचान र सम्मान अझ मजबुत भएको स्थानीयवासीहरूको भनाइ छ।