सान फ्रान्सिस्को / सान डियागो – अमेरिकाको सान फ्रान्सिस्कोमा बेवारिसे (होमलेस) जीवन बिताइरहेका नेपाली युवक सुनिल गिरीले अन्ततः नयाँ जीवन पाएका छन्। परदेशको कठोर परिस्थितिमा संघर्षरत रहेका उनलाई नेपाली समुदायका सदस्य गोपाल योगी र उनकी पत्नी मनिता योगीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएका छन्।
केही समयदेखि परिवारसँग सम्पर्कविहीन भई सडकमा कठिन जीवन बिताइरहेका सुनिलको अवस्थाबारे जानकारी पाएपछि योगी दम्पती विशेष रूपमा सान डियागोबाट सान फ्रान्सिस्को पुगेका थिए। उनीहरूले लगातार तीन दिनसम्म सडकका गल्ली–गल्लीमा खोजतलास गरेपछि अन्ततः सुनिललाई फेला पार्न सफल भए।
उद्धारपछि सुनिललाई अहिले सान डियागो लगिएको छ, जहाँ उनको स्वास्थ्य उपचार, हेरचाह तथा पुनःस्थापनाको प्रक्रिया सुरु गरिएको छ।
यस घटनाले विदेशमा रहेको नेपाली समुदायको मानवता, एकता र सहयोगी भावनालाई उजागर गरेको छ। गोपाल र मनिता योगीले देखाएको निस्वार्थ सेवा भावप्रति सामाजिक सञ्जाल तथा समुदायमा व्यापक प्रशंसा भइरहेको छ।
नेपाली समुदायका धेरै सदस्यहरूले यसलाई “परदेशमा पनि आफ्नोपन जोगिएको उदाहरण” भन्दै सराहना गरेका छन् । परदेशमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्कार अझै जीवित रहेको यो घटनाले देखाएको छ। गोपाल–मनिता जस्ता व्यक्तिहरूले समाजमा सकारात्मक प्रेरणा फैलाएका छन्। 