२०८३ वैशाख २९ गते | 12th of May 2026

अमेरिकाको मेरिल्याण्डमा नेपाली मूलका सतिश चापागाईको चुनावी अभियान तीव्र

खुल्लामन्च
 प्रकाशित: २०८३ वैशाख २९ गते ३:४३

मेरिल्याण्ड – सतिश चापागाई अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्। लामो समयदेखि पत्रकारिता, सामाजिक अभियान र नेपाली समुदायमा सक्रिय चापागाईले मेरिल्याण्डको डिष्ट्रिक्ट ७–ए बाट डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेद्वारी दिएका हुन्।

अघिल्लो महिनामात्र औपचारिक रूपमा उम्मेद्वारी दर्ता गराएका चापागाई अहिले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै स्थानीय समुदायबीच पुगिरहेका छन्। उनले आफ्नो उम्मेद्वारी केवल व्यक्तिगत महत्वाकांक्षा नभई अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्वको अवसर भएको बताएका छन् ।

मेरिल्याण्ड राज्यमा नेपालीसहित विभिन्न आप्रवासी समुदायको उल्लेख्य बसोबास रहेको छ। सन् २००८ देखि बाल्टिमोरमा बस्दै आएका चापागाई नेपाली समुदायसँगै स्थानीय आप्रवासी समाजमा पनि परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी वाल्टिमोर एशोसिएशन अफ नेप्लिज इन अमेरिकाका पूर्व उपाध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व मिडिया संयोजक तथा सल्लाहकारका रूपमा सक्रिय रहिसकेका छन्।

डेमोक्रेटिक पार्टीभित्र हुने प्राइमरी निर्वाचनमा चापागाईसहित लिडिया ब्राउन, चम बेकर र क्लिभलेण्ड रेनोल्ड जुनियर प्रतिस्पर्धामा रहेका छन्। उक्त क्षेत्रमा दुई सिटका लागि चार जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

चापागाई हाल सोही डिष्ट्रिक्टबाट मेरिल्याण्ड डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्यसमेत हुन्। चार वर्षअघि सम्पन्न निर्वाचनमा उनले करिब ४ हजार १ सय मत प्राप्त गर्दै पार्टीको केन्द्रीय सदस्य पदमा विजय हासिल गरेका थिए।

आगामी नोभेम्बरमा हुने निर्वाचनअघि मेरिल्याण्डमा जुन २३ मा डेमोक्रेटिक प्राइमरी निर्वाचन हुँदैछ। प्राइमरीमा विजयी भएमा चापागाईले नोभेम्बरमा रिपब्लिकन उम्मेद्वारसँग अन्तिम प्रतिस्पर्धा गर्नुपर्नेछ।

करीब ८३ हजार जनसंख्या रहेको डिष्ट्रिक्ट ७–ए क्षेत्रमा एशियन मूलका नागरिकको उल्लेख्य उपस्थिति रहेको छ। यहाँ रिपब्लिकन, डेमोक्रेटिक र स्वतन्त्र मतदाताबीच प्रतिस्पर्धात्मक राजनीतिक वातावरण रहेको मानिन्छ।

नेपालमा रहँदा एक दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय रहेका चापागाई विभिन्न सञ्चारमाध्यममा आबद्ध थिए। पत्रकारिता यात्राकै क्रममा उनले प्रशिक्षक, नेपाल प्रेस युनियन पाल्पाका सभापति तथा केन्द्रीय उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए। हाल उनी नेपाल अमेरिका पत्रकार संघ (नेजा) को विधान समितिका संयोजकका रूपमा कार्यरत छन्।

पत्रकारिता र सामाजिक सेवासँगै चापागाई व्यवसाय तथा साहित्य क्षेत्रमा पनि सक्रिय छन्। उनले सिर्जना गरेका विभिन्न गीत तथा साहित्यिक रचनाले नेपाली समुदायमा विशेष लोकप्रियता हासिल गरेका छन्। श्रीमती र दुई छोरीसँग बाल्टिमोरमा बसोबास गर्दै आएका चापागाईले आफ्नो राजनीतिक यात्रालाई आप्रवासी समुदायको आवाज सशक्त बनाउने अभियानका रूपमा अघि बढाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *