लस एन्जलस, क्यालिफोर्निया । अमेरिकास्थित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरले आगामी जुन १५ देखि २१, २०२६ सम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ। धार्मिक तथा आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महायज्ञमा नेपालकी चर्चित भागवत कथावाचिका राधिका दासीज्यूको विशेष उपस्थिती रहने जनाइएको छ।
मन्दिर व्यवस्थापन समितिका अनुसार सात दिनसम्म सञ्चालन हुने महायज्ञमा भक्तिभाव, ज्ञान, वैराग्य तथा सनातन संस्कृतिका विविध पक्षबारे प्रवचन गरिनेछ। कार्यक्रममा सहभागी भक्तजनहरूले श्रीमद्भागवतको दिव्य कथा श्रवण गर्दै आध्यात्मिक आनन्दको अनुभूति प्राप्त गर्ने विश्वास गरिएको छ।
महायज्ञ प्रत्येक दिन दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई धर्म, ज्ञान र संस्कृतिको संरक्षणमा साथ दिन आग्रह गरेको छ।
क्यालिफोर्नियाको नर्वाकस्थित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना हुने यस धार्मिक महोत्सवले नेपाली समुदायबीच आध्यात्मिक एकता र सांस्कृतिक सद्भाव अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। “धर्म, ज्ञान र भक्तिको संगम बनेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी भई आफ्नो जीवनलाई सकारात्मक ऊर्जा र आध्यात्मिक प्रकाशले भरिपूर्ण बनाऔं। थप जानकारीका लागि श्री पशुपतिनाथ फाउन्डेशन, युएसएसँग सम्पर्क गर्न सकिनेछ।”