लस एन्जलस। भागवत मञ्जरी पूज्य राधिका दासीज्यूको मुखारविन्दुबाट प्रवाहित श्रीमद्भागवत पुराण सप्ताह ज्ञान महायज्ञमा भक्तजनहरूको उत्साहजनक सहभागिता र सहयोग निरन्तर बढ्दै गएको छ। जुन १५ देखि २१, २०२६ सम्म सञ्चालन भइरहेको महायज्ञको चौथो दिनसम्म नेपाली कम्युनिटी सेन्टर (NCC) निर्माण अभियानका लागि ४ लाख डलरभन्दा बढी संकल्प तथा दान संकलन भएको आयोजकले जनाएको छ।
महायज्ञको चौथो दिन मात्रै भक्तजनहरूबाट ८४ हजार ९११ अमेरिकी डलर संकल्प तथा दान प्राप्त भएको छ। यससँगै चार दिनको कुल संकल्प तथा दान रकम ४ लाख ७ हजार ७८ डलर पुगेको छ।
महायज्ञमा प्राप्त दैनिक सहयोग विवरण यसप्रकार रहेको छः
- पहिलो दिन : १ लाख ४२ हजार ४७६ डलर
- दोस्रो दिन : ५९ हजार ३४५ डलर
- तेस्रो दिन : १ लाख २० हजार ३४६ डलर
- चौथो दिन : ८४ हजार ९११ डलर

आध्यात्मिक वातावरणले भरिपूर्ण महायज्ञस्थलमा व्यवस्थित प्रसाद वितरण, प्राथमिक उपचार डेस्क, दान तथा सहयोग डेस्क, जानकारी केन्द्र तथा बालबालिकाहरूको प्रेरणादायी स्वयंसेवी सहभागिताले कार्यक्रमलाई अझ आकर्षक र अनुकरणीय बनाएको छ। भक्तजनहरूको उल्लेखनीय उपस्थितिले महायज्ञ परिसर दिनप्रतिदिन उत्साहमय बन्दै गएको छ।
आयोजकका अनुसार भक्तजनहरूको अपार माया, विश्वास र आर्थिक सहयोगले नेपाली कम्युनिटी सेन्टर (NCC) निर्माणको लक्ष्य नजिक पुग्न महत्वपूर्ण टेवा पुर्याइरहेको छ। महायज्ञ सम्पन्न हुन अब तीन दिन मात्र बाँकी रहेकाले सबै समुदाय सदस्य तथा श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिनुका साथै आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गरिएको छ।
नेपाली समुदायको साझा सपना तथा भावी पुस्ताका लागि महत्वपूर्ण सम्पत्तिका रूपमा हेरिएको नेपाली कम्युनिटी सेन्टर निर्माण अभियानलाई सफल बनाउन भक्तजनहरूको निरन्तर साथ र सहयोग आवश्यक रहेको आयोजकले जनाएको छ।