लस एन्जलस – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) लस एन्जलस च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती समारोह तथा साहित्यकार छविरमण सिलवालद्वारा लिखित कृति ‘अमेरिकाको घाम’ को लोकार्पण कार्यक्रम शनिबार अमेरिकाको क्यालिफोर्नियास्थित बाल्डविन पार्कमा सम्पन्न भएको छ।
नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अमेरिका तथा विभिन्न स्थानबाट आएका साहित्यकार, लेखक, कवि, बुद्धिजीवी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै वक्ताहरूले विदेशमा बसोबास गर्ने नेपाली समुदायबीच मातृभाषाको संरक्षण, साहित्य सिर्जना र नयाँ पुस्तामा नेपाली भाषा हस्तान्तरणको आवश्यकता औँल्याएका थिए।
यसै अवसरमा साहित्यकार छविरमण सिलवाल द्वारा लिखित नयाँ कृति ‘अमेरिकाको घाम’ को औपचारिक लोकार्पण गरिएको थियो। कार्यक्रममा वक्ताहरूले उक्त कृतिले अमेरिकामा रहेका नेपाली आप्रवासीहरूको जीवन, अनुभव, संघर्ष र सामाजिक यथार्थलाई साहित्यिक शैलीमा प्रस्तुत गरेको उल्लेख गर्दै लेखकलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
साहित्यिक वातावरणमा सम्पन्न कार्यक्रममा कविता वाचन, शुभकामना मन्तव्य तथा भानुभक्तको साहित्यिक योगदानबारे विचार आदान–प्रदान गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको आयोजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) च्याप्टर ले गरेको थियो भने Solume Foundation ले कार्यक्रमलाई प्रायोजन गरेको थियो। समारोहको समापनमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साहित्यप्रेमी, अतिथि, स्वयंसेवक तथा सहभागीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र साहित्यिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
नियात्रासङ्ग्रह ऋषि ढकाल,मोहन न्यूरे, आवरण चित्रकार शुभम् सिलवाल, डिल्लीराज सिलवाल, नियात्राकार सिलवाल लगायतले लोकार्पण गरे । क्यार्लिफोर्निया राज्यका पूर्व अबैतानिक महावाणिज्य दुत ऋषि ढकालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम अनेसास लस एन्जेलस च्याप्टरका अध्यक्ष न्यूरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमको औचित्यबारे डिल्लीराज सिलवालले बोलेका थिए ।कार्यक्रममा मिलन कोइराला, मिलन न्यौपाने, परिता शर्मा, डनबहादुर कार्की, ईश्वर ढकाल, कमल ढकाल,सरु सिंखडा लगायतले कविता वाचन गरे । कार्यक्रमका संयाेजक डिल्लीराज सिलवालले कार्यक्रमकाे उद्धेस्य तथा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन केसी श्रेष्ठले गरे । कृतिका बारेमा आचार्य चुडामणि पाठकले टिप्पणी गरेका थिए।