२०८३ भदौ १८ गते | 3rd of September 2026

नेपालका बाढीपीडितको सहयोगार्थ Himalayan Grill मा ‘च्यारिटी डिनर’ आयोजना हुँदै

खुल्लामन्च
 प्रकाशित: २०८३ भदौ १७ गते १७:०४

हन्टिङ्टन बिच, क्यालिफोर्निया। नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बालबालिका र परिवारलाई आपत्कालीन सहयोग उपलब्ध गराउने उद्देश्यले क्यालिफोर्नियाको हन्टिङ्टन बिचमा विशेष ‘च्यारिटी डिनर’ आयोजना गरिने भएको छ।

हिमालयन ग्रिलको आयोजनामा आगामी शुक्रबार, सेप्टेम्बर ४, २०२६ साँझ ५ बजे उक्त सहयोग संकलन कार्यक्रम हुन लागेको हो। विपद्को कठिन घडीमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै पीडित परिवारका लागि तत्काल आवश्यक पर्ने स्वास्थ्य उपचार, न्यानो कपडा तथा अन्य मानवीय सहयोग जुटाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।

“नेपाललाई अहिले हाम्रो सहयोग आवश्यक छ—हरेक मिनेट महत्त्वपूर्ण छ” भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा सहभागी हुन तथा आफ्नो क्षमताअनुसार आर्थिक सहयोग प्रदान गर्न दक्षिणी क्यालिफोर्नियामा बसोबास गर्ने नेपाली समुदायसहित सम्पूर्ण सहयोगी मनहरूलाई अपिल गरिएको छ।

नेपालमा आएको विपद्ले विशेषगरी बालबालिका तथा जोखिममा रहेका परिवारलाई गम्भीर असर पुर्‍याएको उल्लेख गर्दै आयोजकले सानो सहयोगले पनि पीडितहरूको जीवनमा ठूलो राहत पुर्‍याउन सक्ने जनाएको छ। यो कार्यक्रम विपद्को समयमा मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय सेवाभाव प्रस्तुत गर्ने साझा अभियानका रूपमा आयोजना गरिएको हो।

कार्यक्रम क्यालिफोर्नियाको Orange County अन्तर्गत हन्टिङ्टन बिचस्थित Himalayan Grill, 16400 Pacific Coast Highway मा हुनेछ।

कार्यक्रम विवरण :

कार्यक्रम: नेपालका विपद्पीडितको सहयोगार्थ च्यारिटी डिनर
मिति: शुक्रबार, सेप्टेम्बर ४, २०२६
समय: साँझ ५ बजे
स्थान: Himalayan Grill
ठेगाना: 16400 Pacific Coast Highway, Huntington Beach, California
सम्पर्क: (562) 592-9080

आयोजक Himalayan Grill संचालक अमृत महतोले कार्यक्रममा उपस्थित भएर आफुसक्दो सहयोग प्रदान गरी नेपालका विपद्पीडित बालबालिका तथा परिवारको जीवनरक्षाको अभियानमा हातेमालो गर्न सम्पूर्ण नेपाली समुदाय र नेपालप्रेमी महानुभावहरूलाई हार्दिक अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *