२०८१ वैशाख १६ गते | 28th of April 2024

ओली सरकारमा नअटाएका यी दुई चर्चित अनुहार

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ३ गते ४:१६

शानदार दुई तिहाई बहुमतमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक महिनापछि पूर्णता पाएको छ । ओली प्रधानमन्त्री नियुक्त भएको ठिक एक महिनापछि उनले सरकारलाई पूर्णता मात्र दिएका छैनन, लामो समयदेखि एमालेसँग रुष्ट बनेको संघिय समाजबादी फोरमलाई पनि सरकारको सिडी चढाएका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नयाँ र पुराना धेरै चर्चित अनुहारहरु देखिएका छन् । तर धेरै पहिलेदेखि चर्चामा रहेका दुई प्रभावशाली नेता भने ओली सरकारको रेलमा सहयात्री बन्न पाएनन् । उर्जामन्त्री हुँदा निकै चर्चित बनेका माओवादी नेता जनार्दन शर्मा र एमाले सचिव योगेश भट्टराई ओली सरकारको लिगबाट बाहिरिएका छन् ।

निर्वाचनको बेला ‘तपाईहरु योगेशजीलाई जिताउनुहोस, म मन्त्री बनाउँछु’ भन्दै ताप्लेजुङका जनतासँग ओलीले बाचा गरेका थिए । ताप्लेजुङमा गरेको बाचा बालुवाटारबाट पुरा हुन सकेन । एमाले पदाधिकारीमा भट्टराईमात्र मन्त्री बन्न नपाएका नेता हुन् । क्षमता हुँदा हुँदै पनि अवसर नपाएका भट्टराईलाई मन्त्री बनाउने चर्चा एमालेभित्र थियो ।

ओली पनि आफ्नो बोली बचाउन र योगेशको क्षमता जाँच्न चाहन्थे तर पार्टीभित्र गुट चलाउने केही नेताले योगेशलाई मन्त्री बनाउनै नहुँने जवरजस्त अडान दैनिक बालुवाटारमा लिन थालेपछि ओली आफ्नो बोलीबाट पछि हटेको स्रोतले बताएको छ । भट्टराई पार्टीभित्र नेता माधवकुमार नेपाल नजिक छन् । तर उनलाई मन्त्री बनाउन नेपालले पनि चट्टानी अडान राखेनन् । नेपालले चट्टानी अडान राखेपनि भट्टराई मन्त्री बन्ने सम्भावना थिएन ।

आफुबिरुद्ध केही ब्यक्ति लागेको महसुस भट्टराईले निर्वाचन लगतै चाल पाइसकेका थिए । त्यही भएर उनी मन्त्रीका लागि धेरै कसरत पनि थालेनन् । उल्टै उनले गुट चलाउने नेतालाई चुनौति दिदै सार्वजनिकरुपमा भने ‘म विधिभन्दा बाहिर गएर मन्त्री बन्दिँन, मलाई मन्त्री नबनाउन बालकोटदेखि बालुवाटारसम्म जुलुस लिएर धाए हुन्छ ।’

उता माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि ओली नेतृत्वको सरकारमा प्रभावशाली मन्त्री बन्ने चाहाना राखेका थिए । जतिजति पार्टी एकता प्रक्रिया अघि बढ्दैछ, त्यति नै छिटो शर्मा प्रचण्ड क्याम्प छोडेर ओली क्याम्पतिर लम्किदै छन् । प्रचण्ड र ओली दुवैलाई रिझाएर मन्त्री बन्ने योजना शर्माको थियो । तर माओवादी केन्द्रभित्रकै प्रचण्ड निकटका नेताहरुले उनलाई मन्त्री बन्ने चौथो मौका दिएनन् ।

शर्माले गृह नपाएपछि उर्जा तथा जलस्रोत मन्त्री बन्न चाहेका थिए । तर पाँच बर्ष सरकारबाट बाहिर बसेका बर्षमान पुन उनीमाथी हावी भए । पुनले उर्जा तथा जलस्रोत मन्त्रालय पाउने भएपछि शर्माले अन्य मन्त्रालयमा चासो देखाएनन् । तर ओली भने शर्मालाई मन्त्री बनाउने पक्षमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *