२०८१ वैशाख १५ गते | 27th of April 2024

मन्त्री लालबाबु पण्डित भने सबै कर्मचारीलाई ….!

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ५ गते १४:२१

काठमान्डौं – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीहरु राष्ट्रको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् । देशका लागि काम गर्छु भनेर सपथ खाएका कर्मचारीले सरकारले खटाएअनुसारको काम गर्नु अनिवार्य भएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले सपथ खाँदा व्यक्त गरेका प्रतिवद्धता विर्सन खोज्ने कर्मचारीहरुलाई सम्झाउने अभियानमा आफू लागेको बताए ।

“स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, तीनै ठाउँमा राष्ट्रसेवकहरुलाई तोकिएको जिम्मेवारी पूरा गर्न सरकारले आग्रह गरेको छ । सरकारको आग्रह मान्नुपर्छ ।” पण्डितले भने ।

“खटाइएको कर्मचारी कर्मचारी खटाएको ठाउँमा जानैपर्छ । रवाना लिएर नगएको खण्डमा दुई–तीन दिनभित्र हाजिर रोक्का गर्छु । प्रयोग गरेका सबै सुविधा रोक्का गर्छु । होइन भने उहाँहरुलाई सिधै घर पठाउँछु । त्यस्ता कर्मचारीलाई थप सुविधा दिन सकिदैन ।”

जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई रोक्न नहुने पण्डितको भनाई छ । “पहिला सेवा गर्ने त्यसपछि मेवा पाउने हो । पहिला थप सुविधा चाहियो अनि मात्रै काममा जान्छु भन्ने हो भने त्यो सम्भव छैन ।” पण्डितले भने ।

कुनै पनि कर्मचारीलाई अमर्यादित काम गर्न नलगाइएको भन्दै पण्डितले अपमानित हुने काम नभै जनताको सेवा गर्ने काममा कर्मचारी जिम्मेवार हुनुपर्ने चेतावनी दिए ।

“राष्ट्रको सेवा गर्न नसक्नेहरु राष्ट्रसेवक हुन सक्दैन । काम गर्न सक्दिन भन्नेहरु राजिनामा दिएर गए हुन्छ । राजिनामा दिएपछि पाउने सुविधा पाउनुहुन्छ । होइन भने खटाइएको ठाउँमा काम गर्नुपर्छ । यसको विकल्प छैन ।” उनको भनाई छ ।

सरकारले खटाएअनुसारको काम नगर्नेलाई ऐन कानुनले दिएको अधिकार प्रयोग गरेर कारबाही गर्ने पण्डितले बताए ।

“कानुनअनुसार बर्खास्त गर्छु । त्यसपछि अर्को काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई पठाउँछु । अल्पकालिन व्यवस्था गरेर भए पनि खटाइएको ठाउँमा नजानेलाई कारबाही गरेरै छाड्छु । कि काम गर्न जानुपर्यो, कि त घर जानुपर्यो । थप सुविधा केही पनि पाइदैन ।” उनले भने ।

कर्मचारी ट्रेड युनियनहरुलाई नीति निर्माणमा सहभागि गराउने तर सरुवा बढुवा जस्ता कुरामा कुनै भूमिका नदिने पण्डितले बताएका छन् ।

नेताकोमा गएर सरुवा बढुवाका लागि भनसुन गर्ने कर्मचारीको मूल्याङ्कन अंक घटाइदिने चेतावनी पण्डितले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *