काठमाडौं – काठमाडौंको गोंगबुबाट दुई दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको हत्या भएको छ । बालक कुँवरको शव म्हेपीमा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाटै मंगलबार साँझदेखि बेपत्ता भएका कुँवरको खोजीमा प्रहरी जुटेको भए पनि कुँवरलाई सकुसल फेला पार्न नसकिएको हो । स्वस्तिका गेस्ट हाउस बालकका बुवा प्रविण आफैले सञ्चालन गर्दै आएका छन् ।

परिवारले बालकको खोजतलासका लागि महानगरीय प्रहरी प्रभाग गोंगबुमा निवेदन दिएका थिए । प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेसनल स्कुलमा कक्षा १ मा अध्ययनरत थिए । महानगरीय अपराध महाशाखाका प्रमुख सिंहका अनुसार फेला परेको शवलाई पोष्टमार्टमका लागि लगिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र सार्की छन् ।
सार्की होटल सञ्चालक प्रविण कुँवरका सवारी चालक हुन् । घटनाको बारेमा आवश्यक छानबिन भइरहेको महाशाखा प्रमुख सिंहले बताउनुभयो ।