राज्यले वास्ता नगरेको मधेस । मूलधारमा नसमेटिएको मधेस । न शिक्षा न स्वास्थ्य । न त बाटोघाटो र अरु विकासका पूर्वाधार नै । गहुँगोरो वर्ण र जिउमा ढाका टोपी र दौरा सुरुवाल लगाउने भएमात्रै ‘नेपाली’ मानिने त्यो जमाना थियो । बिद्धालय छिटफुटमात्रै थिए, मधेसको त्यो गाउँमा । केटाकेटीलाई पढाउनुपर्छ भन्ने जनचेतनाको साह्रै अभाव जो थियो । कताकति अभिभावकले मात्रै भैंसी गोठालो पठाउन छाडेर बच्चाबच्चीलाई स्कुलमा कखरा सिक्न पठाउँथे । तिनै कताकति अभिभावकका बच्चा हुनु सुनील साहको जीवनको संयोग या भाग्य थियो ।
१० कक्षासम्म जनकपुरमै पढे सुनीलले । खेतीकिसानी परिवारको कर्म थियो । मूल आम्दानीको स्रोत भन्नु नै त्यही हो भन्छन् सुनील । तर बाबामा पनि शिक्षाको प्रकाश परिसकेको हुँदा छोरालाई पढाएका थिए । स्कुले जीवन सकेर सुनील इन्जिनियरिङ पढ्न काठमाडौं हुइँकिए । डिप्लोमा इन इन्जिनियरिङ काठमाडौंमै पढेर भ्याए । सन् १९९५ मा फेरि ब्याचलर इन इन्जिनियरिङ पढ्नचाहिँ बंगलादेश पुगे । घुमिफिरी रुम्जाटार भनेझैं फेरि आए काठमाडौं । हेल्भेटास भन्ने संस्थामा काम गरे । केही समय निजी क्षेत्रमा काम पनि गरे । तर स्नातकोत्तर पढ्न भने अमेरिका आइपुगे । फ्लोरिडामा एचएमईमा पढाइ सके ।![Image may contain: Suneel Sah, smiling, text](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/57750728_10161724232825652_368671793596071936_n.jpg?_nc_cat=102&_nc_ht=scontent-sjc3-1.xx&oh=3fbf801ba2a41a987f879ada5336d5b8&oe=5D68AB8E)
सन् २०१३ देखि आइटीसम्बन्धी आफ्नै कम्पनी सुरु गरेपछि प्रगतिसँगसँगै संघर्ष पनि प्राप्ति भयो सुनीलको जीवनमा । करियरको गाडी गुडाउँदै उनले सामाजिक क्षेत्रमा आफूलाई सक्रिय बनाइरहे । सामाजिक क्षेत्रमा रुचि पछि पलाएको थिएन । बंगलादेशमा छँदै बिबिसीको नेपाली सेवाका लागि नेपालीमा अनुवाद गर्ने लगायत सामग्री उत्पादनमा लागेकै थिए, त्यसकारण पनि समसामयिक विषयमा ज्ञान र रुचि बढ्दै गएको थियो । त्यसो त काठमाडौं पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्दा नै नेविसंघको राजनीतिमा पनि सामेल भएको हुँदा उनमा राजनीतिक र सामाजिक भावना प्रशस्तै थियो । देशलाई परिवर्तन गर्छु, समाजलाई उन्नत बनाउँछु भन्ने ध्येय जो राखेर राजनीतिमा पनि संलग्न थिए सुनील । उनी भन्छन्, ‘म सधै पोजेटिभ थिंकिङ राखेर अघि बढ्ने स्वाभावको मान्छे हुँ ।’ सम्भवत उनको त्यही स्वभावले उनलाई सफलतातिर डोर्यायो । भन्छन्, ‘सामाजिक क्षेत्रमा लागेर धेरै ठाउँ पुगें, धेरै साथीभाइ चिनें, धेरै कुरा सिकें ।’
अमेरिकामा शुरुमा आउँदा चिनेजानेका भन्ने भेट्न मुस्किल थियो । कहाँ जाने ? के गर्ने ? पनि थाहा थिएन । भन्छन्, ‘ड्राइभिङ लाइसेन्स कसरी निकाल्ने भन्ने पनि थाहा थिएन ।’ विद्यार्थी भनेको आखिर विद्यार्थी नै हुने भइहाले । नेपालमा भए पनि अमेरिकामा भए पनि विद्यार्थी जीवन भनेको पातको साँघु तरेजसरी विस्तारै विस्तारै अगाडि बढ्नुपर्ने हुने भइहाल्यो । नेपालमै काठमाडौंमा त फलानो ठाउँको मान्छे, ढिस्काना ठाउँको मान्छे भन्ने हुन्छ भने अमेरिकामा पनि विद्यार्थीले चुनौती व्यहोर्नु नपर्ने भएन नै । तर सुनील अमेरिकामा चाहिँ यहाँको सिस्टम बुझ्न लाग्ने कठिनाइ चुनौती बनेको सुनाउँछन् ।
तेस्रो मुलुकबाट आएको व्यक्ति भएर पनि जसोतसो संघर्ष गरेरै सुनीलले अमेरिकामा आफ्नो जग बसाले । जुन दुख आफूले व्यहोरेका थिए । अरु नेपालीलाई पनि त्यस्तै होला भन्ठानेर नयाँ नयाँ आएका नेपालीहरुलाई सहयोग गर्न थाले । त्यसरी नै क्रमशः उनको सामाजिक कर्म अमेरिकामा अगाडि बढ्यो ।![Image may contain: 1 person, smiling](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/57407356_1507674772701616_8764486375056605184_n.jpg?_nc_cat=107&_nc_ht=scontent-sjc3-1.xx&oh=cb540af24257d46c9fd200c6ed6aaacc&oe=5D9EAC25)
सुनीलको पढाइ इन्जिनियरिङ हो । तर उनी जागिरे इन्जिनियर होइनन् । व्यवसायी हुन् । व्यवसायचाहिँ त्यही आफूले पढेकै विषय इन्जिनियरिङ हो । व्यवसाय नै गर्नु थियो भने इन्जिनियरिङ किन पढे त ? वा इन्जिनियरिङ मात्रै नगरी व्यवसायी किन बने त ? भन्छन्, ‘हामी जत्तिको मान्छेले अरुलाई पनि जब दिन सक्नुपर्छ भनेर व्यवसायमा लागें ।’ उनले रोजगारी दिँदा नेपालीलाई पहिलो प्राथमिकता राखेका छन् । अरु देशका पनि छन् । हजार जति नेपालीलाई उनले रोजगारीको अवसर दिइसकेका छन् । सन् २०१३ देखिको यात्रामा त्यतिका नेपालीले रोजगारी पाएर अवसर उपयोग गरे । कम्पनीमा आउने जाने भइरहन्छ । नियमित भइरहने भनेको चाहिँ सयजना जतिको हाराहारीमा हो ।
सुनील अचेल टेक्ससको डालस शहरका बासिन्दा हुन् । नेपाली समुदायसँग निकै हिमचिम राख्छन् । गैरआवासीय नेपाली संघमा उनको सक्रियता सन २०११ देखि निरन्तर छ । एनआरएनको वरिष्ठ उपाध्यक्षका हैसियतले नेतृत्वलाई सहयोग गर्ने काममा सुनील अमेरिकाका प्राय राज्यमा पुगे । विगत दुई बर्षदेखी परिवारसंग कुनै सप्ताहन्त संगै बिताएको क्षण छैन । संस्थाको संगठनका निम्ति उत्तिकै खटिएको उदाहरण छ । एनआरएन संस्था किन चाहिन्छ भनेर ठाउँठाउँका नेपालीलाई बुझाउँछन् । र पनि सन्तोषको जीवन बाँचिरहेका सुनीलको खास त्यस्तो महत्वाकांक्षा छैन ।![Image may contain: 1 person, smiling, closeup](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/58822264_1507674846034942_1420824921533054976_n.jpg?_nc_cat=103&_nc_ht=scontent-sjc3-1.xx&oh=a0264d5290b12abe36f83200d7c5c6d7&oe=5D61A05B)
एनआरएनए अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनबाट साह अध्यक्ष पदमा निर्वाचित भएका छन । आफ्नो क्यारियर संगसंगै एनआरएन अभियानमा सकृय साह एनआरएनका थुप्रै समस्याहरुसंग भलिभाँती जानकार छन् । मूल नेतृत्वमा पुगेर एनआरएनएका समस्या समाधानमा लाग्ने उनको अठोटले अब नयाँ बाटो देखाएको बताउंछन । बिभिन्न समस्याहरुसंग जुध्दै सम्पन्न भएको निर्वाचनमा संसारकै दोस्रो ठुलो एनसिसी अमेरिकाको अध्यक्ष भएका साह जन्मभुमीका लागि अब केही गर्ने बेला आएको बताउंछन । भन्छन, ‘नेपालमा पनि योगदान गर्ने र त्यसका लागि वातावरण बनाउन पनि म प्रयास गर्नेछु । भारतमा पनि त एनआईहरुले योगदान गरेका छन्, नेपाल सरकारले पनि वातावरण बनायो भने एनआरएनले नेपालमा ठूलो योगदान गर्न सक्छन् । त्यसका लागि म पहल गर्छु ।’
एनआरएनए अमेरिकाका नव-निर्वाचित अध्यक्ष साहलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !