लस एन्जलस, क्यालिफोर्निया। अमेरिकास्थित श्री पशुपतिनाथ फाउन्डेशन, यूएसएले आगामी जुन १५ देखि २१, २०२६ सम्म क्यालिफोर्नियाको नर्वाकमा रहेको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा सप्ताहव्यापी “श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०२६” आयोजनाको तयारी तिव्र रुपमा अगाडी बढेको छ।
फाउन्डेशनद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रसिद्ध भागवत वाचिका श्री राधिका दासीको मुखारविन्दबाट कथा वाचन गरिने उक्त महायज्ञमा दैनिक पूजा, पाठ–पारायण, भजन तथा कीर्तन कार्यक्रम सञ्चालन गरिनेछ। दक्षिणी क्यालिफोर्नियाभरबाट हजारौं श्रद्धालु तथा समुदायका सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार महायज्ञ धार्मिक कार्यक्रम मात्र नभई प्रस्तावित नेपाली कल्चरल सेन्टर (एनसीसी) निर्माणका लागि कोष संकलन गर्ने प्रमुख अभियान पनि हो। उक्त केन्द्रमार्फत नेपाली भाषा, परम्परा, संस्कृति तथा पहिचानलाई भावी पुस्तासम्म संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
महापुराण संयोजक तथा फाउन्डेशनका तत्कालीन अध्यक्ष रामेश्वोर भण्डारीले महायज्ञ नेपाली संस्कृति र सम्पदाको संरक्षणका लागि सामूहिक प्रयास भएको बताउँदै यसले अमेरिकी नेपाली समुदायका लागि दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
त्यस्तै फाउन्डेशनका अध्यक्ष बिमल श्रेष्ठले सन् २०२३ मा सम्पन्न महापुराणका क्रममा प्रतिबद्ध गरिएका सहयोग रकम संकलन गर्ने, नयाँ दाताहरूलाई अभियानमा जोड्ने तथा नेपाली कल्चरल सेन्टर परियोजनाका लागि थप आर्थिक स्रोत जुटाउने उद्देश्यले महापुराण आयोजना गरिएको जानकारी दिए।
मे १७ मा आयोजित सार्वजनिक भेलाले महायज्ञलाई व्यवस्थित र प्रभावकारी बनाउन ४९९ सदस्यीय मूल आयोजक समिति तथा २४ वटा उपसमिति गठन गरेको थियो।
फाउन्डेशनका सचिव तुलसी ज्ञवालीका अनुसार महायज्ञ अवधिभर सहभागी भक्तजनका लागि दैनिक प्रसाद तथा महाप्रसादको व्यवस्था गरिनेछ।