राधाकृष्ण देउजा
नेकपाका नेता तथा पुर्व सँचारमन्त्री गोकुल बास्कोटा माथि रकम मोलमोलाई गरेको आरोप लागेर वहाँले राजीनामा दिनु भएको पनि करिव चार महिना नाघेछ । लगाइएको आरोप सही थियो वा थिएन , त्यसको त निरुपण समयक्रममा सम्वन्धित निकायहरुले गर्लान नै , त्यसैले यहाँ चर्चा गोकुल दोषी वा निर्दोष के हुनुहुन्छ भनेर गर्न खोजिएको पनि हैन । त्यसो गर्नै पर्ने भएछ भने पनि म त्यसको लागि सहि पात्र हैन र हुनसक्दिन किन भने म गोकुल बास्कोटा त्यस्तो घृणित आर्थिक चलखेल गर्न सक्ने, तस्कर र दलालसँग उठवस गर्न सक्ने मानिस हैनन भन्ने पूर्वाग्रही चिन्तन राख्ने मानिस हुँ । मेरो पूर्वाग्रह मैले देखेको जानेको र बुझेको आधारमा मेरो दिमागमा बनेको गोकुल बास्कोटाको छविमा आधारित छ ।
जव गोकुल बास्कोटा जसलाई म सम्मानका साथ दाइ भन्छु, वहाँलाइ जव सत्तरी करोड घोटाला गरेको आरोप लाग्यो त्यतिबेला नै मैले चिनेको गोकुल दाइको बारेमा मलाई केहि लेख्नुपर्छ भन्ने लागेको थियो । यद्धपि मैले त्यो सोचलाइ मुर्त रुप दिन अलिक समय लगाएँ , त्यसो पनि किन गरेँ भने केहि समयमा घटनाको छानविन हुन्छ , दुधको दुध पानीको पानी हुन्छ अनि त्यसो भएपछी वहाँलाइ लागेको आरोप सहि ठहर हुँदा “ कसरि यस्तो हुनुभयो गोकुल दाइ ?” भन्ने प्रश्न सहित लेखौंला अनि आरोप गलत सावित हुँदा “ हाम्रो विश्वास कायम राख्नु भयो धन्यवाद गोकुल दाइ” भनेर लेखौंला भन्ने थियो तर आज घटना भएको यत्रो महिना भैसक्यो तर आरोप लाग्नासाथ मन्त्री पद त्यागेर छानविनमा सघाएका व्यक्तीको उल्लेखित घटनामा संलग्नता हो वा हैन , हो भने के कति हो भन्ने विषयमा छानविन हुन सकेको छैन , भैरहेको भए हामिले थाहा पाउने कुरै भएन । ख़ैर आज नभए पनि कुनै न कुनै दिन त यसको छानविन होला नै , माथि भनेजस्तै दुधको दुध पानीको पानी त हुनेनै छ । भलै त्यस प्रकरणको सत्य तथ्य छानविन गर्न सरकारी निकायहरुले ढिलासुस्ती गरिरहेका हुन अनि आफ्नो नालायकी र ढिलासुस्तीलाइ छोप्न यसलाइ वा त्यसलाइ दोष लगाएको भएपनि कतिपय सत्य त वाहिर आइनै सकेका छन ।
जस्तै तत्कालिन संचारमन्त्री गोकुल बास्कोटालाइ जुन अडियोको आधारमा आरोप लगाइयो , त्यसमा जे जति रकममा सम्झौता गर्ने भनियो त्यो भन्दा कैयौँ अरव रुपियाँ कममा सम्झौता गर्ने गरेर प्रक्रिया अगाडी बढेको रहेछ । अनि जसले आरोप लगाए उनि आफैं दलाल , आफैं विज्ञ अनि अहिले आरोप पुष्टि गर्न नसकेकोले होला आज गुमनाम भएका छन । खैर जे होस फेरी पनि यसको छिटो निस्पक्ष छानविन होस, हाम्रो स्वाभाविक कामना यसमा गोकुल दाईको कुनै संलग्नता थिएन भन्ने पुष्टि होस र हुनेछ तर यदी भएनछ भने त स्वयम गोकुल दाइले भन्नु भएकै छ ।”
अव चाहीं मैले चिनेको गोकुल बास्कोटाको बारेमा देखेका केहि कुराको स्मरण गर्न चाहन्छु , जुन स्मरण वहाँ माथि लागेको आरोपको निराकरण जे जस्तो ढंगले भएछ भने पनि वदलिने वाला छैन ;
१ . तत्कालीन नेकपा माले निकट विद्यार्थी संगठनको स्कुल कमिटि हुँदै काभ्रे जिल्ला कमिटिको अध्यक्ष हुँदा गोकुल बास्कोटालाइ आफुले पाएको जिम्मेवारी पुरा गर्ने र अरुलाइ पनि दिइएको जिम्मेवारी जसरि पनि पुरा गर्न लगाउने र पाएको जिम्मेवारी पुरा नगर्नेलाइ सजायँ दिने कडा मिजासको युवा नेताको रुपमा चिनिन्थ्यो ।
२. तत्कालीन नेकपा एमालेको उमेदवारको रुपमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनु भएको तत्कालिन एमाले नेता, हाल नेकपा सल्लाहकार समितिका सभापती केशव बडाललाइ दुइ पटक विजय गराउन मुख्य भूमिका ( कडा मेहेनती सहयोगी प्रचारकको हिसाबले ) खेल्नु हुने गोकुल बास्कोटा र हामि काठमान्डौको एउटा घरमा ओल्लो पल्लो घरमा डेरा गरेर बस्ने गर्थ्यौं । त्यतीवेला पनि वहाँको बोलि अहिलेको जस्तो कडा हुन्थ्यो भने वहाँको बोलि चालीले वहाँ आफुलाइ ठिक लागेको कुरा जसले भनेको भए पनि मान्ने, बेठिक लागेपछि कोहि रिसाए पनि खुसाए पनि प्रष्ट राख्ने स्वभावको हुनुहुन्छ भन्ने प्रष्ट हुन्थ्यो । वहाँ अहिले साँसद मन्त्री भएपछी घमण्डी हुनुभएको हो कि भन्ने लागेको भए त्यो गलत हुन्छ , बरु जनप्रतिनिधि र सत्ताधारी मन्त्री भएपछि वहाँले आफुलाइ थप नरम बनाउनु भएको छ भन्ने हामि जस्तो वहाँलाइ लामो समय देखि जान्नेहरुले नबुझ्ने कुरै भएन ।
३. हामि सँगै डेरामा बस्दै गर्दा वहाँ बनेपाकि तारा मानन्धर दिदिसंग प्रेम विवाहको तयारीमा हुनुहुन्थ्यो , म त्यसबेला वहाँको टेलिफोन सम्पर्क गराउने व्यक्ति पनि थिएँ र मलाइ अहिले पनि याद छ गोकुल दाइ आफ्नो प्रेमिकासंग पनि उत्तिकै लोलोपोतो रहित ढंगले कुरा गर्नु हुन्थ्यो जसरि वहाँ आफ्नो पार्टीको नेताहरुसंग गर्नु हुन्थ्यो । जव वहाँले तारा दिदिसंग अति सामान्य ढंगले तत्कालिन अनेरास्ववियुका सहकर्मीहरुलाइ साक्षि राखेर विवाह गर्नु भयो तव वहाँ तत्कालिन एमाले निकट प्रजातान्त्रिक युवा संघ काभ्रेका नेता हरिदेव गिरीको घरमा एउटा सामान्य कोठामा बस्नु हुन्थ्यो जहाँ हुँदा वहाँलाइ पत्रकार हुनको लागि भनेर गरिएको वोलावटको खवर लिएर मै पुगेको थिएँ । वहाँ पत्रकारिता सुरु गर्न भनेर जाँदै गर्दा त्यतिवेला एक वालक रहेको मलाई वहाँले राजनीतिमा स्वच्छताको आवश्यकता अनि स्वच्छ हुँदाको पिडा र आनन्दको बारेमा यसरी सुनाउनु भएको थियो कि त्यो म अहिले पनि सम्झन्छु । रहरले भन्दा वाध्यताले पत्रकार बन्नु भएको गोकुल बास्कोटाले पत्रकारितालाइ पनि सकेको न्याय नै गर्नु भयो , जव पत्रकारहरुको हक हित रक्षा गर्ने संचारमन्त्री बन्नु भयो तव पत्रकारहरुको हकहित रक्षाको लागि ऐतिहासिक निर्णय लिने मात्रै हैन कार्यान्वयननै गराउनु भएको त पत्रकारहरुले नै भनेको भनेकै हुनुहुन्छ ।
४. काभ्रे जिल्लामा गोकुल दाइकै चुनाव क्षेत्रको वासिन्दा भएको हुँदा निर्वाचनको समय त्यहाँ भएको भए वेझिझक वहाँलाइ नै मत दिने थिएँ तर प्रवासी जीवनले त्यो सौभाग्य त दिएन । बरु जनतालाइ झुठो आवश्वासन दिन नमानेकोले वहाँले एक पटक निर्वाचन हारेको दुःख अनि अत्यन्त लोकप्रिय मत सहित निर्वाचित हुनु भएर गरेका प्रतिवद्धता पुरा गर्नु भएकोले जिल्लामा निरन्तर सम्मानित हुनु भएको सुखद दृष्य पनि परदेशबाट नै महशुस गर्दैछु ।
५. उल्लेखितहरु भन्दा पनि महत्वपूर्ण कुरा के छ भने आफुलाइ लागेको आरोपबाट आफलाइ आफैं सफाई दिने हैन निरन्तर छानविनको माग आफैं गर्दै हुनुहुन्छ ।वहाँको त्यो दृढतालाइ कतिपयले सत्ताको घमण्ड पनि भन्ने गरेका छन तर राजनीतिक उतार चढावलाइ नजिकबाट नियाल्दै आउनु भएका गोकुल दाइले सत्ता र शक्तिको न्यानो लामो हुदैन भन्ने नबुझ्नु भएको पक्कै छैन , त्यसैले लाग्छ वहाँको दृढता आफ्नो निर्दोषिताको सत्यको जानकारीमा आधारित छ ।
अत: अरु जे होला देखाजाला हालको निम्ती मैले प्रत्यक्ष जानेको , बुझेको गोकुल दाई स्पष्टवादितामा विश्वास राख्ने कडा मिजास भएका नेता हुनुहुन्छ जो जे छ त्यही बोल्नु हुन्छ भन्न त किन लजाउनु ? त्यसमाथि अव त आएका तथ्यहरु अध्यन गर्दा त लाग्दै छ कि तिन दशकमा कहिले झुकेको नदेखिएको गोकुल दाइ चुक्नु पनि भएको छैन जस्तो छ ।