२०८१ वैशाख २२ गते | 4th of May 2024

मध्य अमेरिकी मुलुकहरुलाई अमेरिकाले प्रदान गर्दैआएको आर्थिक सहायतामा वृद्धि गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १४ गते १५:०९

वासिङ्टन-अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति अलेजेन्द्रो जियामेटीसँग सोमबार भिडियो कन्फरेन्स मार्फत कुरा गर्दै मध्य अमेरिकी मुलुकहरुलाई अमेरिकाले प्रदान गरिआएको आर्थिक सहायतामा वृद्धि गर्ने बताउनुभएको छ । मध्य अमेरिकी मुलुकहरुका आप्रवासीहरु अमेरिका प्रवेशको क्रम तीव्र गतिमा वृद्धि भएसँगै अमेरिकाले आप्रवासीलाई उनीहरुकै मुलुकमा अवसर सिर्जना गर्नेगरी ती मुलुकलाई आर्थिक सहायतामा वृद्धि गर्न लागेको हो ।
राष्ट्रपति जो बाइडेनले गत महिना उपराष्ट्रपति ह्यारिसलाई मध्य अमेरिकी मुलुकबाट हुने गरेको आप्रवासन समस्याको वास्तविक कारण पहिचान गर्न विशेष जिम्मेवारी तोक्नुभएको थियो । त्यही सिलसिलामा उपराष्ट्रपति ह्यारिसले ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल बैठक गर्नुभएको हो । दुबै नेताबीच आप्रवासनका मुख्य कारणहरु पहिल्याउन र दीर्घकालीन समाधान खोज्न सहमति भएको छ ।
उपराष्ट्रपति ह्यारिसले मङ्गलबार ग्वाटेमालामा सक्रिय सामुदायिक संस्थाका प्रमुखहरुसँग भेटघाट गर्नुहुनेछ भने अर्को महिना मेक्सिकोका राष्ट्रपतिसँग पनि भर्चुअल बैठक गर्नुहुनेछ । उहाँले आगामी जुन महिनामा मेक्सिको र ग्वाटेमालाको भ्रमण पनि गर्नुहुनेछ । उपराष्ट्रपति ह्यारिसमाथि आप्रवासनका सन्दर्भमा निकै ठूलो चुनौती आइपरेको छ भने रिपब्लिकन पार्टीले उहाँविरुद्ध कठोर टिप्पणी गर्न थालेको छ । रिपब्लिकन पार्टीले राष्ट्रपति र उपराष्ट्रपति दुबै सीमामा पुगेर आप्रवासीका सन्दर्भमा स्थलगत जानकारी नलिएको भन्दै आलोचना गरेको छ ।
सीमा गस्तीले गत मार्च महिनामा सीमा पारको प्रयास गर्ने ठूलो सङ्ख्याका बालबच्चालाई नियन्त्रणमा लिएको छ भने आप्रवासीको भीडका कारण ती आप्रवासीलाई पक्राउ गर्ने, राख्ने र कागजी प्रक्रिया मिलाउने सङ्घीय विभागहरुमा तनाव उत्पन्न गराएको छ । नयाँ जिम्मेवारी प्राप्त गर्नु भएकी उपराष्ट्रपति ह्यारिसले फोनमा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोर र ग्वाटेमालाका राष्ट्रपति जियामेटीसँग फोनमा कुराकानी गर्नुका साथै यस क्षेत्रका विज्ञ र सामाजिक अभियन्ताहरुसँग धेरै चरणमा छलफल गरिसक्नुभएको छ ।
ग्वाटेमालाका राष्ट्रपति जियामेटीसँगको सोमबारको बैठकमा सम्बोधन गर्दै उपराष्ट्रपति ह्यारिसले देश छाड्नुपर्ने मुख्य कारणहरुका बारेमा चर्चा गर्नुभएको थियो । समुद्री आँधी, निरन्तरको सुख्खा र कोभिड–१९ महामारीका साथै आर्थिक अवसरको कमी, विषम मौसमी अवस्था तथा सरकारमा व्याप्त भ्रष्टाचार मुख्य कारण हुन सक्ने उपराष्ट्रपति ह्यारिसको भनाई थियो ।उपराष्ट्रपति ह्यारिसले भन्नुभयो, “हामी दुबै गम्भीर कारणहरु सम्बोधन गर्न तपाइँसँग मिलेर काम गर्न चाहन्छौं, जसले ग्वाटेमालाका जनतामा आशाको सञ्चार गर्न सकोस् । यही देशमा उनीहरुको भविष्य छ भन्ने अनुभूति गराउनु हामी सबैको कर्तव्य र दायित्व हो ।”
उहाँले यस क्षेत्रका देशहरुलाई अमेरिकाले सहयोग बढाउने र प्रभावकारी, सुरक्षित र मानवीय ढङ्गले आप्रवासन व्यवस्थापन गर्न अझ राम्रो सहयोग गर्ने वचनबद्धता प्रकट गर्नु भयो । उपराष्ट्रपति ह्यारिसका टिप्पणीहरु बाइडेन प्रशासनले ग्वाटेमालाका एक जना वर्तमान र एक जना वरिष्ठ पूर्व सरकारी अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाउँदै प्रतिबन्धहरु घोषणा गरेकै दिन आएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्ति जारी गर्दै यी प्रतिबन्धहरुले ग्वाटेमालाका जनताले गरेको भ्रष्टाचारको अन्त्य रोक्ने प्रयासलाई सघाउने बताउनुभयो ।
यद्यपी उपराष्ट्रपति ह्यारिस वा ग्वाटेमालाका राष्ट्रपति जियामेटी दुबैले नयाँ प्रतिबन्धका बारेमा कुनै टिप्पणी गर्नुभएन ।
ह्यारिससँगको भर्चुअल बैठकमा राष्ट्रपति जियामेटीले आफ्नो सरकारले गरिबी समेत देशभित्र उत्पन्न विषम अवस्थालाई सम्बोधन गर्न अमेरिकासँग सहकार्य गर्न तत्पर र इच्छुक रहेको बताउनु भएको छ । राष्ट्रपति जियामेटीले अहिले र आगामी जुनमा हुने प्रत्यक्ष भेटवार्तामा दुबै मुलुकले ग्वाटेमालामा शान्ति, समृद्धि र विकासलाई सुनिश्चित गर्न एक मार्गचित्र निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रिपब्लिकन पार्टीले ह्यारिसका कदमप्रति तीखो आलोचना गरे पनि आप्रवासी मामिलाका विज्ञहरु र अभियन्ताहरुले ह्यारिसका प्रयासलाई मूल्याङ्कन गरिहाल्ने समय नभएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *