ज्योतिकुमार श्रेष्ठ/न्यूयोर्क – हिजो दिउँसो देखि न्यूयोर्कमा झरी पर्न शुरु गरेको आज यति बेला सम्म पनि परिरहेकै छ ।अमेरिकी प्रवासको नेपाली साहित्यिक जनजीवनमा मलाई मनपर्ने उत्कृष्ट लेखकिय क्षमता भएका राम्रा कविहरू मध्ये जानुका वस्ति ढकाल पनि एक हुन् । आज न्यूयोर्कमा उनको पहिलो कृति कविता संग्रह “झरीको किरण” विमोचन हुँदै थियो ।
सबैले हर्षचकित हुदै भने – ओहो ! झरी परेको बेला झरीको किरण ! यस्तो हुनुलाई हामी शुभ साईत मान्ने गर्छौ । कवि जानुका व्यक्तिगत जीवनमा एकदमै सरल स्वभावका छिन, तर कविता लेख्दा यसरी तीर (कलम) चलाउँछिन् कि सर्पलाई पनि ठहरै पार्छिन्, र लट्ठी पनि बचाउँछिन् । म उनको लेखन शैलीको ठूलो प्रशंसक एवं पाठकको हैसियतले यति भन्न सक्छु – उनी जति लेख्छिन्, राम्रो लेख्छिन् । कवितामा आगो बाल्छिन् उनी तर कहिले असरल्ल पारेर, छताछुल्ल भएर लेख्दिनन् । अत्यन्त शालीन तर शक्तिशाली भएर लेख्छिन् ।
विमोचित कृतिको समीक्षा कवि रश्मी भट्टले सुन्दर ढंगले कृति र कृतिकारको लेखनशैलीको हरेक पाटो केलाएर गर्नुभएको थियो ।
अनेसास न्यूयोर्कको आयोजनामा सम्पन्न सो कार्यक्रममा न्यूयोर्क स्थित वाणिज्यदूत गणेश अधिकारी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा कृतिकार जानुका वस्ती ढकालका पूज्यनीय आमा बुवा, श्रीमान् र छोरी सहभागी हुनुभएको थियो । अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष शकुन ज्ञवालीको सभापतित्व र उद्घोषणमा संचालन भएको सो कार्यक्रममा न्यूयोर्कका साहित्य अनुरागी नेपाली समुदायको राम्रो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि गणेश अधिकारी; साहित्यकारहरु खेमराज पोखरेल; आनन्द श्रेष्ठ; किशनसिंह धामी; शकुन ज्ञवाली; लक्ष्मी श्रेष्ठ; संगीता उप्रेती; ज्योतिकुमार श्रेष्ठ; समाजसेवी बिष्णुमाया परियार; नवराज केसी; अन्जन श्रेष्ठ; गोरखा समाज अमेरिकाका विकास पाण्डे; कृतिकार जानुका वस्ती ढकालकी आमा हरीमाया वस्ती; र छोरी श्रद्धा ढकालले शुभकामना मन्तव्य दिनु भएको थियो ।