२०८१ वैशाख २६ गते | 8th of May 2024

अमेरिकामा शक्तिशाली साइबर हमला ,२ सय व्यवसाय प्रभावित

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १९ गते १५:५०

काठमाडौ – संयुक्त राज्य अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसायहरू प्रभावित भएका छन्। साइबर सुरक्षा कम्पनी ‘हन्ट्रेस ल्याब्स’ का अनुसार ह्याकरहरूले मायामिमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए। त्यसपछि उक्त फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट उक्त र्‍यानसमवेअर आक्रमण फैलिएको थियो। कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको जनाएको छ। उसले आफ्ना ग्राहकहरूलाई आफ्ना सर्भरहरू बन्द गर्न पनि भनेको छ। रुसबाट उत्पत्ति भएको फिरौती उठाउने साइबर हमलाकारीहरूको समूह ‘रीभील’ले उक्त आक्रमण गराएको हुनसक्ने विश्वास हन्ट्रेस ल्याब्सको छ। यसअघि उक्त समूहले मासु प्याकिङ गर्ने प्रणालीलाई ठप्प पारिदिएको आरोप अमेरिकी अनुसन्धान निकाय एफबीआइले लगाएको थियो।

स्वतन्त्रता दिवसको सप्ताहन्तमा आफ्ना व्यवसाय बन्द गर्नका लागि अमेरिकी कम्पनीहरूले तयारी गरिरहँदा शुक्रवार अपराह्न यो आक्रमण भएको हो। अमेरिकाको साइबर सुरक्षा र पूर्वाधार एजेन्सीले एउटा विज्ञप्तिमा उक्त हमलालाई सम्बोधन गर्न कदम चालिरहेको जनाएको छ। कसेयाले आफ्नो कर्पोरेट सर्भर, डेस्कटप कम्प्युटर वा नेटवर्क उपकरण सञ्चालन गर्ने एउटा एपमा ह्याकरहरूले पहुँच कायम गरेको हुनसक्ने जनाएको छ।

उसले ‘सानो सङ्ख्यामा’ कम्पनीहरू प्रभावित भएको बताएपनि हन्ट्रेस ल्याब्सले उक्त सङ्ख्या २०० पुगिसकेको र बढ्ने उल्लेख गरेको छ।अहिले नै कुन कुन कम्पनी प्रभावित भए स्पष्ट भइसकेको छैन्।  (बिबिसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *