काठमाडौं – ब्रिटेनमा अब डिम्ब, शुक्रकीट र भ्रूण ५५ वर्षसम्म भण्डारण गरेर राख्न पाइने नियम ल्याउन लागिएको छ। सरकारी अधिकारीहरूका अनुसार यो योजनाले सर्वसाधारण मानिससँग आफ्नो परिवारलाई कहिले सुरु गर्ने भन्ने विषयमा धेरै विकल्प हुनेछ। ब्रिटेनका स्वास्थ्यमन्त्री साजिद जाविदले डिम्ब, शुक्रकीट र भ्रूण भण्डारणसम्बन्धी विद्यमान १० वर्षे समयसीमा एकदमै साँघुरो भएको बताए। रोयल कलेज अफ अब्स्टेट्रिसिअन्सले गरेको एउटा अनुसन्धानमा ती तत्त्वको शीतभण्डारण गर्न एउटा आधुनिक चिस्यान पद्धति विकास गरिएको थियो।
उक्त पद्धति अनुसरण गरेर डिम्बको संरचना नबिगारीकन अनिश्चित कालसम्म सुरक्षित राख्न सकिने जनाइएको छ। यो योजना लागु गर्नका लागि संसदीय अनुमोदन चाहिन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ योजनामा दाता रहने तेस्रो पक्षको हकमा र कुनै व्यक्तिको मृत्युपछि उसको भण्डारण गरिएको कोष उपयोग गर्नका लागि अतिरिक्त सर्तहरू लागु हुनेछन्। अब शुक्रकीट र भ्रूण भण्डारण गरेको १० वर्ष पूरा भएपछि भावी आमाबुवाले प्रजनन प्रक्रिया अघि बढाउने कि भण्डारण गरिएका कोषहरू नष्ट पार्ने भन्नेबारे निर्णय गर्नुपर्छ। नयाँ व्यवस्थाअनुसार उनीहरूलाई १० वर्षपछि जमेका कोष वा भ्रूण राख्ने वा नष्ट गर्ने भन्ने विकल्प दिइनेछ।”नयाँ कानुनले मानिसको मनमा विद्यमान हतार अन्त्य गरिदिनेछ,” जाविदले भने, “यी परिवर्तनसँगै हामीले मानिसको प्रजनन स्वतन्त्रता र समानता कायम गर्दैछौँ। यो एउटा ठूलो कदम हो।”
ब्रिटिश फर्टिलिटी सोसाइटीका अध्यक्ष डा. राज माथुरले नयाँ योजनाको स्वागत गर्दै भनेका छन्, “समयसीमा बढाउनु हाम्रा सबै सेवाग्राहीको व्यक्तिगत र दम्पतीको प्रजनन रोज्न सक्ने क्षमताको रक्षा गर्नु हो,” माथुरले भने। ह्यूमन फर्टिलाइजेशन एन्ड एम्ब्रीओलजी अथोरिटीकी अध्यक्ष जुलिया चेनका अनुसार महिलाले जति पहिला आफ्नो डिम्ब शीतभण्डारण गर्छन् पछि कृत्रिम गर्भाधान सफल हुने सम्भावना उति नै बढी हुन्छ।
बिबिसि