२०८१ वैशाख २१ गते | 3rd of May 2024

मधेस प्रदेशको नामकरण : जनकपुरधाम राजधानी

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ३ गते १६:३१

काठमान्डौं – प्रदेश २ को नाम र राजधानी आज टुङ्गो लागेको छ । प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट यो यसको टुङ्गो लागेको हो । प्रदेशको राजधानी जनकपुर धाम तय भएको छ भने प्रदेशको नाम मधेस प्रदेश राखिएको छ । मधेस प्रदेशका लागि ९९ जनाले मतदान गरेका थिए त्यसमा ८० मत मधेस प्रदेशको पक्षमा खसेको थियो । त्यसमा मधेस प्रदेशको प्रस्तावक जनता समाजवादी पार्टी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको मात्र ६२ वटा मत रहेको थियो । त्यसमा १८ वटा मत क्रस भएको देखिन्छ ।

काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी संस्थागतरुपमा मधेस प्रदेशको विपक्षमा थिए । काँग्रेस र एमालेले प्रदेशको नाम मिथिला भोजपुर हुनुपर्ने प्रस्ताव गरेका थिए भने नेकपा एकीकृत समाजवादी पार्टीले जानकी प्रदेशको प्रस्ताव गरेको थियो । तैपनि ती दलहरूबाट १८ वटा मत मधेस प्रदेशका लागि खसेको छ । नेकपा एकीकृत समाजवादी पार्टी मधेस प्रदेश प्रदेशसभाका संसदीय दलका नेता शत्रुधन महतोले गोप्य मतदान भएको तथा ह्विप पनि नलगाइकाले कसले मत हाले त्यो आफूलाई थाह नभएको बताए ।

प्रदेशसभामा काँग्रेसको १९, नेकपा एकीकृत समाजवादी पार्टीको ११ र एमालेसहित ३६ मत थियो । नेता महतोले पक्कै पनि तीनै दलमध्येबाट नै १८ जनाले मधेस प्रदेशको पक्षमा मतदान गरेको हुनुपर्ने बताए । ‘गोप्य मतदान भएको कारणले फलानो पार्टीका फलानो फलानो गरेको भन्न सकिने अवस्ठा छैन,’ उनले भने ।

प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतले मधेस प्रदेश नाम तय भएको र त्यसलाई आफूहरुले पनि स्वीकार गरेको उनले बताए । ‘हाम्रो दलले तराई मधेशको धरोहर, विश्वमै परिचित जानकीको नामबाट प्रदेशको नाम राखौँ भनेर प्रस्ताव गरेको थियो । तर बहुमत सदस्यले त्यसलाई अस्विकार गरेका छन्, बहुमतको मतलाई आफूहरूले पनि कदर गर्नुपर्छ,’ उनले भने ।

त्यस्तै, नेपाली काँग्रेस प्रदेशसभाका संसदीय दलका नेता रामसरोज यादवले पनि आफूहरूको चाहना मिथिला भोजपुरा प्रदेश हुनुपर्ने भएको र आफूले त्यसैमा मतदान गरेको तर गोप्य मतदान भएको कारणले कुन सांसदले कहाँ मतदान गरे आफूलाई जानकारी नरहेको बताए । उनले भने, ‘सम्मानित सदनले पारित गरेको प्रदेशको नामलाई हामी पनि स्वीकार गर्छौँ । तर हामीले प्रस्ताव गरेको नाम प्रदेशको संस्कृति, भाषालाई पहिचान दिने खालको थियो तर त्यो बहुमतबाट अस्वीकार भयो ।’

प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य छन् । प्रदेशको नामका लागि ७० जनाको समर्थन चाहिन्थ्यो । त्यसमा अहिलेसम्म मधेस प्रदेशको समर्थनमा ६२ जना सुरुदेखि नै थिए । आठजना प्रदेशसभा सदस्य भने कम थिए । तर अन्त्यमा मधेस प्रदेशको नाममा १८ जनाले जसपाको प्रस्तावलाई समर्थन गरेका छन् । प्रदेशसभामा जसपाको ३८, लोसपाको १६ र माओवादी केन्द्रको ८ जना प्रदेशसभा सदस्य रहेका छन् । एमालेको ८, काँग्रेसको १९, नेकपा एकीकृत समाजवादी पार्टीको १३, नेपाल संघीय समाजवादी पार्टीको १ जना प्रदेशसभा सदस्य रहेका छन् ।