२०८१ वैशाख १८ गते | 30th of April 2024

मनका भावनाहरूको एकिकृत प्रकटीकरण हो गीत-पुष्पा खनाल

खुल्लामन्च
 प्रकाशित: २०७६ असार १० गते १६:३६

पुष्पा खनाल नेपाली गीत सङ्गीत क्षेत्रमा चर्चामा रहेको नाम हो । गीतको सङ्ग्रह नै प्रकाशित गरिसकेपनि उनका थोरैमात्र गीत रेकर्ड भएका छन् । तर थोरै भएपनि उनका गीतले श्रोताको मन छोएको पाइन्छ । अञ्जु पन्तले गाएको उनको एउटै गीत सुने तिम्रो खुशीले वर्ष २०१७ र २०१८ मा सर्वाधिक रोयल्टी पाउनुले पनि उनका गीतको स्तरलाई मापन गर्दछ । यसै वर्ष उनले आमा बोलको गीतबाट उत्कृष्ट राष्ट्रिय भाव विधामा योङ्गमाइण्ड इन्टरटेनमेण्ट अवार्ड पनि प्राप्त गरेकी छन् । यसै सेरोफेरोमा रहेर खुल्लामन्चले गरेकाे कुराकानी  :

खुल्लामन्च : सर्वप्रथम यहाँलाई वधाइ छ ।
पुष्पा : धन्यवाद तपाईँलाई र तपाईँको सञ्चार माध्यमलाई ।

खुल्लामन्च : उत्कृष्ट अवार्ड आफ्नो पोल्टामा पार्नुभएको छ । कत्तिको खुशी हुनुहुन्छ ?
पुष्पा : यो अवार्ड पोल्टामा पारेको होइन, प्रदान गरिएको हो । निर्णायकको मत र श्रोताको भोटको आधारमा निर्णय गरेर अवार्ड पाएको हो । अवार्ड पाएपछि जो पनि खुशी त अवश्य हुन्छ नै, म पनि खुशी छु ।

खुल्लामन्च : कस्तो गीत लेख्यो भने अवार्ड, सम्मान पाइन्छ ?
पुष्पा : गीत लेख्दा अवार्ड पाउनका लागि भनेर लेख्ने होइन । मनका भावनाहरूको एकिकृत प्रकटीकरण हो गीत । आफ्नो मन छुने, अरु (श्रोता)ले सुन्दा सुनिरहुँ लाग्ने –आवेग, संवेग र भावको समुचित सम्मिश्रण भएको गीत । त्यस्तो गीतले मानिसको मन र मष्तिष्कलाई छुन्छ । त्यो उत्कृष्ट हुन्छ । सायद त्यस्ता गीतले होला अवार्ड पाउने, पुरस्कृत हुने ।

खुल्लामन्च : तपाईँले कहिलेदेखि गीत लेख्न थाल्नुभयो ?
पुष्पा : सबैले मैले सानैदेखि लेख्न थालेको भन्नुहुन्छ । मैले सानैदेखि लेखेँ कि लेखिनँ मलाई नै थाहा छैन । (हाँसो ….) । मैले २०५२/५३ सालदेखि लेख्न थालेकी हुँ । मैले बुझ्ने भएपछि अझ भनौँ जीवन भोग्दै जाँदा उत्पन्न हुने भावलाई कलमको सहारामा व्यक्त गर्न थालेकी हुँ त्यसबेलादेखि ।

खुल्लामन्च : तपाइँको पहिलो रचना कुन हो ?
पुष्पा : मेरो स्मरणमा भएसम्म पहिलो रचना भगवानप्रति समर्पित छ । न पूजाको थाली न कोही अक्षता, भगवान तिम्रो शरणमा आएँ बोलको । मैले अघि नै भनेँ त्यसअघि मैले लेखेपनि अभिलेख छैन । त्यसैले यो नै मेरो पहिलो रचना हो २०५२ सालमा लेखेको ।

खुल्लामन्च : छापिएको पहिलो रचना कुन हो ?
पुष्पा : छापिएको पहिलो रचना भने माया गर्न सक्दैनौ भने घृणा गर्ने अधिकार पनि छैन तिमीलाई बोलको रचना हो । २०५५ सालमा छापिएको ।

खुल्लामन्च : अहिलेसम्म कति सिर्जना गर्नुभयो ?
पुष्पा : गीत, कविता गरेर लगभग डेढसय लेखिसकेँ होला । दुईवटा एल्वम र एउटा गीत सङ्ग्रह निस्किसकेको छ ।

खुल्लामन्च : समय कतिबेला निकाल्नुहुन्छ लेख्ने ? महिलालाई त समय मिलाउन गा¥हो छ भन्छन् नि ?
पुष्पा : सिर्जना कहाँ घडी, पला हेरेर हुन्छ र ! जतिबेला मनलाई छुन्छ, त्यतिबेला लेख्ने हो । विचार शुन्य, भाव शुन्य भएको बेला जति नै फुर्सदमा भएपनि लेख्न सकिन्न । अनि जति नै वेफुर्सद भएपनि भाव आयो भने लेखिहाल्ने हो । जुनबेला भाव आउँछ त्यही बेला लेखेन भने त्यो मरिहाल्छ । त्यसैले, यस्तै बेला लेख्छु भनेर हुँदैन रहेछ । कुनैपनि कुराले मनलाई छोयो भने म बाटोमा हिँड्दाहिँड्दै, भान्सामा खाना बनाउँदै गर्दा या कार्यालयमा काम गर्दैगर्दा होस् लेख्न बसिहाल्छु । अब त्यो भावलाई माझ्ने, परिस्कृत गर्ने भनेको फुर्सदमा हो । कहिले काहीँ एकै बसाईमा लेखेको उत्कृष्ट बन्छ, कहिलेकाहीँ त्यसलाई परिस्कृत गर्नुपर्छ । त्यसका लागि समय मिलाउँछु ।
जहाँसम्म महिला र पुरुषको सवाल छ, महिलाहरूलाई अलिक गा¥हो नै हुन्छ जहाँपनि । हामीप्रति समाजले राखेको अपेक्षा र दृष्टिकोण फरक छ । त्यसले प्रभाव पार्छ नै । मेरो घरमा भने महिला र पुरूषबीचको विभेद नभएकाले पनि सहज महसूस हुन्छ ।

खुल्लामन्च : कस्ता गीत बढी सुन्नुहुन्छ ?
पुष्पा : म नयाँ पुराना सबै खालका गीत सुन्छु । अलिक बढीचाहीँ सदाबहार हिन्दी, नेपाली, अङ्ग्रेजी गीत सुन्छु । कहिलेकाहीँ मैथिली, भोजपुरी गीत पनि सुन्छु । नबुझेपनि नेपालमा बोलिने मातृभाषाका गीत पनि सुन्न मन पर्छ तर पाउन मुश्किल ।
मलाई उ जमानाका गीतहरू खुबै मन पर्छन् । भिमनिधि तिवारीको म माहुरी हुँ राधा, तिमी चाँप मञ्जरी हौ, मेल्वादेवीको सवारी मेरो रेलैमा …… आदि गीतहरू खुब सुन्छु । हिन्दीमा ६० को दशकका गीत धेरै राम्रा लाग्छन् । यहाँ भन्न थालेँ भने यस कुराकानीका लागि छुट्याइएको स्पेसले पुग्दैन । पछि फेरि बसेर त्यसकै विषयमा कुरा गरौँला, हुन्न ?

खुल्लामन्च : सुनेका गीतको प्रभाव हुन्छ की हुँदैन आफ्नो लेखनमा ?
पुष्पा : ती गीतले हौसला चाहीँ दिन्छन् की म पनि यस्ता गीत लेख्न सकौँ । त्यसलाई प्रभाव भन्ने हो या उत्प्रेरणा त्यो तपाईँको बिचार ।

खुल्लामन्च : नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ ?
पुष्पा : नयाँ पुस्ता, नयाँ सम्भावना । यो क्षेत्रको आवश्यकता पनि हो । दृढ संकल्पका साथ लाग्ने हो भने आफू मरेर पनि अमर रहने क्षेत्र हो यो । त्यसका लागि लगन, अध्ययन र धैर्य आवश्यक हुन्छ । त्यति गर्न सक्नेहरू नै टिक्ने हो, बिक्ने हो । त्यसैले सोचेर पाइला चाल्नुहोस् भन्छु ।

खुल्लामन्च : हामीलाई समय दिनुभयो, विचार राखिदिनुभयो, यसका लागि धन्यवाद ।
पुष्पा : मलाई आफ्ना विचार राख्ने अवसर दिनुभयो त्यसका लागि तपाईँ र तपाईँ सम्बद्ध सञ्चारमाध्यमलाई धन्यवाद ।
अनि, मेरा विचार पढिदिनुहुने तपाईँ पाठकलाई अझ धेरै धन्यवाद ।