२०८१ मंसिर १८ गते | 3rd of December 2024

पोखराको परिचय पर्यटन–विश्वप्रकाश लामिछाने

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २३ गते ३:०८

प्रश्तुती–प्रकाश ढकाल
पोखराका विभिन्न सामाजिक अभियान चल्यो भने धेरै सुनिने नाम हो विश्व प्रकाश लामिछाने । यो मात्रै होईन राजनीतिक रुपमा पनि उत्तिकै सुनिन्छ उनको नाम । चाहे तालसँग होस्, चाहे उपत्यका नगर विकास समितिसँग । चत्रपथसँग पनि उनको नाम अगाडी आउँछ । पोखरासँग नजिक रहेर नगरको विकासमा उनको योगदान विर्सिन सकिन्न ।  
लामिछानेको राजनीतिक जिवन विद्यार्थी राजनीतिबाट सुरु भएको हो । ३७ सालदेखि उनी विद्यार्थी राजनीतिमा लागेर विभिन्न अभियानमा सहभागी भए । ३८ सालमा अनेरास्ववियु जिल्ला सदस्य भए । त्यसपछि अखिल नेपाल युवक संगठन जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्यसम्म बने । जनवादी युवा लिगका जिल्ला अध्यक्ष हुँदै केन्द्रिय महासचिव बने भने २०४० सालदेखि पार्टीमा सदस्यता लिएर निरन्तर रुपमा लागिरहेका छन् । तत्कालीन नेकपा चौंथो महाधिबेशनपछि पार्टी फुटेर उनी नेकपा मसालमा लागे त्यसपछि फुटेको मसालमा पनि उनी मोटो मसालमा आवद्ध भए । लामिछाने सुरुदेखि नै पार्टीको संस्थापनमा छन् । अहिले उनी नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य भएर काम गरिरहेका छन् ।
यसबाहेक सामाजिक संघ संस्थाहरुमा पनि उनको राम्रै उपस्थिती छ । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष बनिसकेका लामिछाने विभिन्न विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष र सल्लाहकार छन् । बिजय ढकाल स्मृति प्रतिष्ठानका अध्यक्ष, कवि शिरोमणी जन्मस्थल विकास समितिका अध्यक्ष, प्रश्तावित पोखरा उपत्यका चक्रपथ निर्माणका संयोजक र फेवाताल उच्च स्तरीय आयोगका संयोजक बनेर काम गरिरहेका छन् ।


अहिले गौरब लाग्छ । हामीले सरकार निर्माण गर्ने अवसर पाएका छौं । यो इतिहासमा कहिलै थिएन । हिजो स्थानीय निकायको चुनाव हुन्थ्यो । अधिकार सम्पन्न थिएन । पञ्चायतकालमा पनि पहुँचका भरमा मेयर नियुक्त हुने चलन थियो । ४६ साल पछाडी पनि जनता र जनप्रतिनिधी बीच तालमेल मिल्न सकेन । तर हिजो जति गरे त्यसलाई छोडेर अब कसरी जाने भन्नेतिर बढी सोच्नुपर्छ । पोखरा बिग्रिनुमा पञ्च र पूर्व मेयरको मात्रै हात छैन, हामी पनि कतै न कतै जोडिएका छौं । पोखराको भौतिक विकासको थालनी पञ्चायत कालमै भएको छ । तर उत्कृष्ट ब्यवस्थापन चाहीँ हुन नसकेको हो । पियन क्याम्पस बगरमा राखेपछि इन्जिनियरिङ क्याम्पस लामाचौरमा राखियो । वन क्याम्पस हरियोखर्कमा छ । पशु फाराम भेडीखर्कमा छ । अस्पताल रामघाटमा र कार्यालयहरु बैदाममा छ । केही थालनी भएकै हो । अझै परिमार्जित र परिस्कृत गरेर लैजानुपर्छ ।
पोखरालाई सपार्ने भए दीर्घकालीन सोच बनाउनुपर्छ । यहाँको विकास सम्बन्धी मास्टर प्लान बनाईनुपर्छ । ल्याण्ड युज प्लान सबैभन्दा महत्वपूर्ण हुन्छ पोखरालाई । यसअघि सामान्य रुपमा भएपनि प्लान त गरिएको थियो तर कार्यान्वयन हुन सकेन । हाम्रो प्लान उल्टो रुपमा चलिरहेको छ । अन्तराष्ट्रिय प्रक्रिया हेर्दा पहिले प्लान, पूर्वाधार, अनि आवास सुरु हुन्छ । तर हाम्रातिर खेतीयोग्य जमिनमा पहिले घर बनाउने, अनि बाटो लैजाने र बत्ती पानी बिजुली विस्तार हुन्छ । यो पोखराका लागि सबैभन्दा घातक हो ।
पोखरालाई साँच्चै विकास गर्ने भने यहाँ रहेका प्राकृतिक सम्पदा संरक्षण गर्नुपर्छ । संसारका सुन्दर हिमालमध्ये हाम्रा हिमाल टप टेनमा पर्छ । संसारका सुन्दर तालमध्ये हाम्रा तालहरु पर्छन । अझै सुन्दर हिमालको छायाँ सुन्दर तालमा देखिने दृष्य संसारमै बिरलै पाईन्छ । तर अहिले यो मलिनो बन्दै गएको छ । त्यसैले यसको विकास पहिलो प्राथमिकता हो । खोला र तालका किनारहरुमा पार्क बनाउन सकेपनि आफैं संरक्षण हुन सक्छ । नेपालको ताजमहलको रुपमा रहेको रत्न मन्दिर खुल्ला गरेर संरक्षण मात्रै गर्न सके बिशेष पूर्वाधार निर्माण गर्नुपर्दैन । यस्तै विन्दबासिनी, भद्रकाली जस्ता धार्मिक मन्दिरहरुको विकास हुनुपर्छ । एकदिन हाम्रा आँखाले देखेका टाकुराहरु पनि पर्यटकीय क्षेत्र बन्छन् । त्यसका लागि अहिले देखि नै थालनी गर्नुपर्छ । अर्मला, काहुँ, सराङकोट, पुम्दी, भुम्दी, निर्मलपोखरी, कृष्तीका थुम्काहरुको विकास हुनुपर्छ । त्यहाँ स्टार होटलहरु बनाउन सकिन्छ । लेकसाईड मात्रै अव पर्यटकीय क्षेत्र बन्दैनन् । उनीहरुले पनि बुझ्नुपर्छ कि ग्रामीण हरियालीका कारण लेकसाईडको अस्थित्व रहेको हो । अर्को कुरा हाम्रो धर्म संस्कृति निकै पूरानो छ । पोखरालाई हिन्दु र बौद्ध धर्मको ट्रान्जिट पोईन्टका रुपमा विकास गर्न सक्छौं ।
पहिलो आधार भनेको उज्यालो सिटीका रुपमा पोखरालाई विकास गर्न सकिन्छ । सेती, मादी, मोदी, बिजयपुर खोला, मर्दी, इदी लगाएतका खोलानालामा जलबिद्युत उत्पादन गर्न सकिन्छ । अर्को अधार भनेको कृषि हो । यहाँका प्रत्येक घरमा कृषि उद्योग बनाउन सकिन्छ । यसले उत्पादन हुन्छ, रोजगारी विकास हुन्छ अनि महानगर समृद्ध बन्छ । त्यसैले प्राविधिक हिसावको कृषि प्रणाली सुरु हुनुपर्छ । हाम्रो महानगर शितलहर हुनेदेखि हिउँपर्ने ठाउँसम्म फैलिएको छ । त्यसैले हिमाल, पहाड, तराई र मधेश जस्ता क्षेत्रमा उत्पादन हुने कृषि उत्पादन हाम्रो महानगरमा सम्भव छ ।
बैदामको बारी, आर्बाको घारी र माझठानाको टारी निकै सुन्दर थियो । मैले भनेका सबै ठाउँमा अहिले बस्ती भरिसकेका छन् । अहिले केही बिग्रिएको छ । घना बस्ती बनाएर कमजोरी गरेका छौं । फेवाताल बनेको जलाधार क्षेत्रका कारण हो । तर जलाधार क्षेत्रको विकासका लागि केही गर्न सकेनौं । जलाधारको भुक्षयले फेवाताल पुरियो । हिजो बैदामको बारि जोगाईदिएको भए र पुम्दी, निर्मलपोखरी तिर बस्ती बसाईदिएको भए फेवातालको हालत यस्तो हुने थिएन ।
पोखरा मात्रै होईन कास्की नै पर्यटन जस्तो लाग्छ मलाई । यहाँका हरेक ढुंगाहरु पर्यटकका लागि आश्चर्य हुन् । त्यस्तो कुनै चिज हामीसँग छैन जुन चिज काम नलागोस् । तर हामीले कामको चिज बनाउन सकेनौं । अहिले राज्य पुनर्संरचनाले जिल्लामा पाँचवटा तह कायम गरेको छ । पोखरा लेखनाथ महानगरपालिका देशकै सबैभन्दा ठूलो र महत्वपूर्ण महानगरपालिका हो । यसले सीमानामा रहेका गाउँपालिकाहरुसँग भगिनी सम्बन्ध विकास गर्नुपर्छ । ग्रामीण क्षेत्रका बासिन्दाले अहिलेसम्म त्याग मात्रै गरेका छन् । हामीलाई चाहिने पानी माछापुच्छ«े गाउँपालिकाबाट ल्याउनुपर्छ, खाद्यान्न आयात गर्न सक्छौं । रुपाबाट वन पैदावर ल्याउन सक्छौं । मादीबाट हाईड्रोपावर आयात गर्न सकिन्छ । अन्नपूर्णबाट पनि जडिबुटी ल्याउन सक्छौं । तर उनीहरुलाई केही दिनुपर्छ । सबै गाउँपालिकामा पर्यटक पठाइदिनुपर्छ ।  निशुल्क लिने प्रबृत्ति त्याग्नुपर्छ । सबै गाउँपालिकामा स्याटलाईट सिटी विकास गर्न सकिन्छ । धेरै तरिकाबाट उनीहरुलाई सम्बोधन गर्न सक्छौं ।
तर त्यसका लागि भिजन भएका मेयर चाहिन्छ । सर्बगुण सम्पन्न कोही छैन । पार्टीगत चुनावभन्दा साझा उम्मेदवार उठाएर फेयर चुनाव गराउनुपर्छ । अनि सम्भव छ हाम्रो समृद्धी । चुनाव अव शान्तपूर्र्ण हिसावको हुनुपर्छ । जुन सोचाईले स्थानीय चुनाव भए अव थियो भनेर त्यसलाई दोहोर्याउनु हुन्न । कतैपनि बल प्रयोग नगरौं । मतदातालाई जागिर र आर्थिक प्रलोभनमा पारेर भोट आकर्षित गर्ने चलन थियो, यो पनि अव दोहोरिनु हुन्न । पहिले हरेक ठाउँमा राजनीति लाग्यो । अब भने राजनीतिक रुपमा जोडिएपनि योग्यताको आधारमा स्वच्छ मतदान प्रकृयाले उम्मेदवार छनौट गर्नुपर्छ । योग्य मान्छेलाई जिताउनुपर्छ, चाहे जुनसुकै पार्टीको होस् । जसले जितेपनि हामीले जितेको भन्ने धारणा विकास हुनुपर्छ । पैसा र बलमा यति लडेर ल्याएको अधिकार खेर जाने वातावरण नवनोस् । लोकतन्त्रले सबैलाई उम्मेदवार बन्ने छुट दिएको छ तर जनताले सही मान्छे छनौट गर्नुपर्छ । पोखराको आवश्यक्ता अनुसारको कानुन हामीले बनाउन पाउँछौं । बिराटनगरले उद्योग जोड्न सक्छ, भैरहवाले अर्को हिसावले कानुन बनाउँछ । तर हामीले हाम्रा आवश्यक्तालाई जोडेर कानुन बनाउनुपर्छ ।
हाम्रो कानुनमा पोखरा र समग्र कास्कीलाई नै पर्यटनको परिचयले जोड्न सके हामी समृद्धी तर्फ उन्मुख भएका ठहरिने छौं । त्यसका लागि आवश्यक जनशक्ती हामी भित्रै छन् । मात्र खाँचो छ, परिचालनको । त्यो असम्भव छैन । तर हाम्रो सोचमा र सिद्धान्तमा फरक पर्ने कुरा भयो । त्यसैले भनेको, अब पार्टीगत भन्दा पोखराको सिद्धान्तमा खेल्न सिकौं । साझा उम्मेद्वार बन्ने प्रयास गरे सबैले सघाउने छन् । र म पनि सघाउनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *