देउवालाई कल्याण गुरुङ्गको चुनौती, ‘लोकप्रियता गुमाइसकेका देउवा होइन सशांक हुनुपर्छ संसदिय दलको नेता’
खुल्लामन्च
प्रकाशित: २०७४ फागुन ६ गते २०:५९
काठमाडौं – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा सर्वसम्मत रूपमा चयन हुने अवस्था नरहेको बताएका छन् ।
सहमतिका लागि महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई अघि सार्ने उनको भनाइ छ ।
निर्वाचनमा प्राप्त भएको जनमतले देउवालाई दलको नेता बन्ने अवस्था नरहेको उनले बताए ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गुरुङले भने, ‘संसदीय दलको नेतामा देउवाजी सर्वसम्मत रूपमा बन्ने अवस्था छैन । बरु सर्वसम्मतीको लागि सशांक कोइराला अघि सर्नुपर्छ ।’
अहिलेको माहोल अनुसार संसदीय दलको नेतामा नयाँ मान्छे आउनुपर्ने अवस्था रहेको उनले बताए ।
एमाले र माओवादीवीच एकता होस् भन्ने पक्षमा आफूहरु रहेको भन्दै उनले अबको पाँच वर्ष कांग्रेस जिम्मेवार प्रतिपक्ष बन्ने बताए । उनले भने, ‘अबको पाँच वर्ष हामी सशक्त प्रतिपक्षको रुपमा उभिन्छौं । सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्छौं, गुण र दोषका आधारमा हामी समर्थन गर्छौं ।’
ओली नेतृत्वको सरकार भर्खरै बनेकोले यसलाई हनिमुन पिरियोड सकिएपछि सरकारको बारेमा सोच्ने उनको भनाइ थियो ।
उनले भने, ‘विगतमा एमालेले ०४८ सालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई हनिमुन पिरियोड पनि मनाउन दिएन, तर हामी त्यो अवस्थामा छैनौं ।’