२०८१ मंसिर २२ गते | 7th of December 2024

इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४६० भन्दा बढी

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ३१ गते १०:२८

इन्डोनेसिया – मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६ वटा पुल क्षतिग्रस्त भएका प्रकोप व्यवस्थापन निकायका अधिकारीले जानकारी दिएका छन् ।

यस भूकम्पको कारण ४ लाख १७ हजार व्यक्तिलाई उनीहरुको घरबाट अन्यत्रै सुरक्षित स्थानमा लगिएको ती अधिकारीले जानकारी दिएका छन् । उक्त भूकम्पबाट भएको क्षतिको अझै पूर्ण विवरण प्राप्त भएको छैन । उद्धारकार्य अझै पनि जारी रहेकाले हालसम्मको क्षतिको सबै तथ्याङ्क प्राप्त नभएको जानकारी ती अधिकारीले दिएका छन् । भूकम्पपछि कैयौँ स्थानमा पहिरो गएको बताइएको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा गत अगष्ट ५ मा ६।९ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिराइमा रहेको बताइएको छ । सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९।१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *