लस एन्जलस – नेपाल उद्धोग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपालको प्रख्यात ब्यापारिक घराना आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसंग क्यालिफोर्निया राज्यको लस एन्जलसस्थित श्रीपशुपतीनाथ तथा बुद्द मन्दिरमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । पारिवारीक भ्रमणको क्रममा लस एन्जलस आउनुभएका ढकाल दम्पतीलाई महावाणिज्यदुत ॠषि ढकाल र श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापाले मन्दिरमा स्वागत गर्नुभएको थियो ।
भेटघाटमा नेपालका प्रख्यात ब्यवसायी ढकालले ‘कलेक्टिभ फन्ड’ जस्ता प्रवासी अमेरिकी नेपालीहरुले संचलन गर्ने कार्यक्रमहरुमा आफु सहभागी हुन ईच्छुक रहेको बताउनुभयो । ‘नेपालमा ५ बर्षसम्मको लागि भनेर रहेको बहुमतको स्थिर सरकारको आभाशले लगानीमा सुरक्षित अवसर सम्झेर होला, जन्मभुमीको अर्थतन्त्र सवल बनाउन विदेशी लगानी र स्वदेशी ब्यबसायीहरुले ब्यापारमा बिस्तार गरिरहेका छन,’ ग्लोबल आईएमई बैंक जस्तो सफल बैंकर ढकालले बताउनुभयो ।
स्वदेशमा कोही लगानी गर्ने सोंचमा छ भने यो असली बखतको संज्ञा दिंदै नेउवा संघको उपाध्यक्षको हैसियतले एनआरएनको नामबाट मात्र नभै ब्यक्तिगत रुपमा पनि आफु सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । ‘नेपालमा लगानीका प्रशस्त बाटाहरु छन । कमाएका धन स्वदेशमा लगानी गर्नुस्, बैंकमा थोपर्ने होईन’ सुझाव दिंदै ढकालले बताउनुभयो, ‘आईएमई ग्रुपको कुरो होईन, सिंगो नेउवासं यहाँहरुलाई सहयोग गर्न तयार छ ।’
चन्द्रागिरी केबलकार जस्ता आईएमई ग्रुपका सफलता र लगानीका कथा सुनाउंदै अध्यक्ष ढकालले आफ्नो कम्पनीले २० अरबको लगानीमा बैंकिङ्ग शुरु हुन लागेको, ४२ र २७ मेगावाटका दुई हाईड्रोपावरको उत्पादन प्रकृया सकिन लागिसकेको, तपोवन हाईड्रोपावरले ५५ मेगावाटको बिजुली उद्पादन गर्न लागेको, गैंडाकोट, बुटवल, प्युठान र कैलालीको चिसापानी जलदेवीमा छिट्टै केवलकार शुरु गरिन लागेको, बुटवलमा २०० रोपनी जग्गामा सार्क राष्ट्र स्तरिय बैठक गरिन सकिने होटेलको निर्माण हुन लागेको, दैनिक ३००० टन सिमेन्ट उत्पादन गर्न सकिने सिमेन्ट कारखाना संचालनमा आउन लागेको र पर्यटन, ईन्सुरेन्स, हाइड्रोपावर र बैंकिङ्ग क्षेत्रमा अझै बिशाल रुपमा आईएमई ग्रुप विस्तार हुन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा वाणिज्यदुत ॠषि ढकालले ईन्डोनेशियाको महावाणिज्यदुतको रुपमा पनि ढकालले पुर्याउनुभएको योगदानको चर्चा गर्दै अमेरिकी नेपाली समुदायको आर्थिक बिकासोन्नतिका लागि सुझव र सहयोगको अपेक्षा गर्दै ढकालले नेपाली अर्थतन्त्रमा मार्नुभएको सफलताको छ्लाङ्गको प्रशंशा गर्नुभयो ।
आर्टेसिया नगरका प्लानिङ्ग कमिश्नार तथा फाउन्डेशनका अध्यक्ष भक्त थापाले ढकालको लस एन्जलस भेटको स्वागत गर्दै प्रवासमा समुदायको पसिनाले ठडिएको मन्दिरको सफलताको लागि सुझावको अपेक्षा रहेको बताउनुभयो ।
मन्दिरको दर्शन र पूजापछी शुरु भएको भेटघाट तथा अन्तर्कृया कार्यक्रममा फाउण्डेशनका सचिव तथा पर्यटनदुत रामेश्वर भन्डारीले संस्था, मन्दिर निर्माण क्रमका जनाकारीहरु, लस एन्जलस नेपाली समुदायमा फाउन्डेशनको अभिवाकत्व र ९०० दानदाताहरुको बलिबुताले संचालित मन्दिरबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा गोकुल पौड्याल, एकराज नारायण पान्डे, शान्तिराम ढकाल, एकदेव शर्मा, प्रकाशचन्द्र घिमिरे, दिपक पाठक, बिमला ढकाल, बलराम थापा र गोकुल ढकाल लगायतका स्थानियको सहभागिता थियो ।