पोखरा – पोखरामा एक पछि अर्को गर्दै एकाएक घट्नाहरु दोहोरिएका छन् । एक साता अघि मात्रै एक जना छात्राले फेवातालको ड्यामबाट हाम फालेको घट्ना सेलाउन नपाउँदै त्यस्तै घट्ना फेरी दोहोरिएको छ ।
पोखरा २२ पुम्दीभुम्दी घर भएकी एक सुस्मिता लामिछानेकोे शव सोमवार पोखराको ड्यामसाइड स्थित फेवातालमा भेटिएको छ । छोरेपाटन उच्च माविमा कक्षा १० मा अध्ययनरत १७ वर्षीय लामिछाने आइतबार रातिदेखि सम्पर्क विहीन थिइन् ।
आइतबार बेलुका साढे ४ बजे घरबाट निस्केकी उनी राति १० सम्म सम्पर्कमा रहेको त्यसपछि ‘गुड बाई’ म्यासेज पठाएको आफन्तको भनाई छ । सुस्मिताले अन्तिम फोन कल नविन गुरुङलाई गरेको देखिएको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
ड्यामसाइड स्थित फेवाताल किनारमा झोला र मोबाइल भेटिएपछि प्रहरीले त्यसकै आधारमा नेपाल प्रहरीको रेस्क्यु टिमले कुकुरको सहायातामार्फत सर्च अघि बढाएको थियो । उनको शव ड्यामसाइड स्थित फेवातालमा भेटिएको हो ।
राति १२ बजे ड्यामसाईडबाटै नजिकको एक जना साथी र दाजुलाई म्यासेज गरेको बताइएको छ । बैदाम प्रहरी चौकीका इनिस्पेक्टर प्रशान्त श्रेष्ठले आम नागरिकमा चेतनाको कमी भएर घट्नाहरु दोहोरिने गरेको बताए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।