२०८१ माघ २६ गते | 8th of February 2025

संघियतामाथी सरकारको नियतमा गम्भीर प्रश्न : प्रदीप पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १८ गते २१:४४

सोल/कोरिया – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले संघीयता कार्यान्वयनमा वर्तमान सरकार उदासीन देखिएको आरोप लगाएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा जनसम्पर्क समिति कोरियाले गरेको अन्तरक्रियामा पौडेलले सरकारका काम कार्वाहीहरु संघीयता अनुकुल नभएको टिप्पणी गरेका हुन् । प्रदेशले केन्द्रलाई नटर्ने र केन्द्रले प्रदेशसँग समन्वय नगर्ने पछिल्ला घटनाले संघीयतामाथि सरकारको नियतमा गम्भीर प्रश्न उठाएको पौडेलले बताए । विशेषगरी दुई नम्बर प्रदेशमा भइरहेका घटनातर्फ संकेत गर्दै पौडेलले बेलैमा सजग नहुने हो भने गम्भीर स्थिति सिर्जना हुन सक्ने संकेत गरे ।

काठमाडौंको खाल्डा खुल्डी पुर्न नसक्ने वर्तमान सरकारले रेल र पानीजहाजको सपना देखाउनु हास्याँस्पद भएको पौडेलेको भनाइ थियो । शान्ति सुरक्षाको अवस्था इतिहासमै अहिले सबैभन्दा नाजुक रहेको भन्दै उनले शान्ति र समृद्धिको कोरा नारा दिएर जनतालाई भुलभुलैयामा नपार्न सरकारलाई चेतावनी दिए । चिकित्सक, पत्रकार, व्यवसायी लगायत सबैलाई आतंकित पारी सरकारले कसरी समृद्धिको यात्रा तय गर्ने सपना देखेको छ, पौडेलले प्रश्न गरे ।

बैग्लै प्रसंगमा उनले कोरियामा रहेका नेपालीहरुलाई स्वदेशमै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । तीन दशकको अवधिमा दक्षिण कोरियाले समग्र क्षेत्रमा गरेको विकास अकल्पनीय रहेको भन्दै पौडेलले नेपालले पनि यसबाट पाठ सिक्ने बेला आएको बताए । “३० वर्ष अघि नेपालले दक्षिण कोरियालाई खाद्यान्य उपलब्ध गराउने अवस्था थियो, तर आज कोरिया हाम्रै आँखा अगाडि कहाँबाट कहाँ पुगिसक्यो, हामी भने हर क्षेत्रमा निरन्तर तल परिरहेका छौं, अब पनि देश नसुध्रने हो भने भावी पुस्ताले हामीलाई धिर्काने छ ” पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *