२०८१ जेठ ५ गते | 18th of May 2024

मुलुक निर्माणको अभिभारा निर्माण व्यवसायीको काँधमा – प्रम ओली

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ४ गते १०:२१

काठमान्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक निर्माणको अभिभारा निर्माण व्यवसायीको काँधमा आएको बताउनु भएको छ । निर्माणबाट समृद्धि भन्ने नारा सहित आजदेखि राजधानीमा शुरु भएको नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको जानकारी दिनुभयो । “व्यवसायीहरुका जायज मागका विषयमा छलफल गर्न सरकार जहिले पनि तयार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । व्यवसायीहरुको माग बमोजिम भूकम्प तथा नाकाबन्दीका कारण सम्पन्न हुन नसकेको परियोजनाहरुको म्याद थप्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । व्यवसायीहरुलाई मर्का पर्ने ऐन कानून समेत संसोधनका लागि सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत हित भन्दा राष्ट्रको हितका लागि बढी ध्यान दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । सबै क्षेत्रबाट योजनाबद्ध ढंगले विकास निर्माणका कार्य अघि बढाउनु आजको आवश्यकता हो भन्दै प्रधानमन्त्री ओलीले अनुचित ढंगको लाभ नलिन सम्बन्धित् पक्षको ध्यानाकर्षण गराउनुभयो । “अब निर्माण क्षेत्रमा रहेको म्याच फिक्सिङ, सिण्डिकेट तथा कार्टेलिङ सबै अन्त्य गरिनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

व्यवसायिक एकता कायम गर्दै अघि बढ्न व्यवसायीहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई सरकारको मात्र नभएर सिंङगो संसद्को साथ रहेको बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले व्यवसायी मैत्री ऐन कानूनको अभावमा व्यवसायीहरुले गुणस्तरीय काम गर्न नसकेको बताउनुभयो । पूर्वमन्त्री विक्रम पाण्डेले गुणस्तरीय काम नहुनुमा व्यवसायीको मात्र दोष नरहेको स्पष्ट पार्नुभयो । पूर्वमन्त्री बालकृष्ण खाँडले निर्माण व्यवसायीहरुको योगदान विना समृद्ध राष्ट्रको परिकल्पना बेकार रहेको तर्क गर्नुभयो । महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले कठिन अवस्थामा पनि नेपाली व्यवसायीहरुले उत्कृष्ट काम गरिरहेको दाबी गर्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना र महासचिव रामशरण देउजाले व्यवसायीका समस्या र समाधानका बारेमा चर्चा गर्नुभयो । सोही अवसरमा प्रधानमन्त्री ओलीले महासंघको वार्षिक स्मारिका निर्माण विशेषांक र महासंघका पूर्व उपाध्यक्ष केशवप्रसाद गौतमद्धारा लिखित पुस्तक नेपालमा निर्माण व्यवसायको विमोचन गर्नुभयो । 

प्रधानमन्त्री ओलीले अग्रज निर्माण व्यवसायी कृष्णभक्त मानन्धर सहित निर्माण क्षेत्रमा योगदान दिने कम्पनीका प्रतिनिधिहरुलाई सम्मान गर्नुभयो । भोलिबाट शुरु हुने निर्वाचन प्रक्रिया मार्फत् आगामी तीन वर्षका लागि महासंघको नयाँ नेतृत्व चयन हुनेछ । निर्वाचनमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी र सदस्यहरु गरी ५४ पदका लागि निर्वाचन हुने महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिनुभयो । महासंघको विधान अनुसार पाँच सदस्य भने पछि अध्यक्षद्धारा मनोनयन गरिने बताइएको छ । साधारण सभामाप्रतिनिधि तथा पर्यवेक्षक गरी देशभरका २५ सय भन्दा बढी निर्माण व्यवसायीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *