२०८१ फागुन ४ गते | 16th of February 2025

तीन स्रष्टा सम्मानित र दुई कृतिको लोकार्पण

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ६ गते १५:३८

काठमाडौँ /असोज ६ – नेपाल स्रष्टा समाजबाट आज तीन स्रष्टाहरू सम्मानित हुनुभएको छ । सुभद्रा–विश्वराज स्रष्टा सम्मानबाट स्व. नारायणदत्त शास्त्री(मरणोपरान्त), दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानबाट साहित्यकार तथा सञ्चारकर्मी सिर्जना शर्मा र प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मानबाट युवा साहित्यकार रमेश शुभेच्छु सम्मानित हुनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले तीनै जना स्रष्टाहरूलाई सम्मान अर्पण गर्नुभएको हो ।

आफ्नो समयमा नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा उल्लेख्य योगदान पु¥याएवापत् स्रष्टा स्व. नारायणदत्त शास्त्रीलाई, नेपथ्यमा रहेर निरन्तर नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदानका लागि सिर्जना शर्मालाई तथा युवाअवस्थामा नै सिर्जनात्मक क्षेत्रका लागि उल्लेख्य योगदान दिएवापत् रमेश शुभेच्छुलाई यी सम्मानहरू प्रदान गरिएको हो । प्रत्येक सम्मानहरूको सम्मान राशि नगद रू. ११,१११ रहेको छ ।  यी सुभद्रा–विश्वराज स्रष्टा सम्मान गत वर्षबाट शुरु गरिएको हो । दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान र प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान यसै वर्ष स्थापना गरिएका सम्मान हुन् । प्रत्येक वर्ष नेपाल स्रष्टा समाजको साधारण सभाको अवसर पारेर तीन वटै सम्मान अर्पण गर्ने नेपाल स्रष्टा समाजले जनाएको छ ।

सुभद्रा–विश्वराज स्रष्टा सम्मान स्रष्टा विधान आचार्यले आफ्ना मातापिताका नाममा स्थापना गर्नुभएको हो । दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान आफ्नी ममतामयी आमाका नाममा स्रष्टा पुष्पा खनालले स्थापना गर्नुभएको हो । प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान स्रष्टाद्वय चेतनाथ कँणेल हरित र सीता भण्डारी कँडेलले आफ्ना प्रिय छोराको नाममा स्थापना गर्नुभएको हो ।  सम्मान समारोहमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि वाङ्मय शताव्दी पुरुष, लोकसंस्कृतिविद् सत्यमोहन जोशीले साहित्यकारले आफ्नो आनन्दका लागि मात्र साहित्य सिर्जना नगरी समाज परिवर्तनका लागि गर्नुपर्ने बताउनुभयो । नेपाली साहित्यको विकास, विस्तार र सम्वद्र्धनमा नेपाल स्रष्टा समाजले पुर्याइरहेको उल्लेख्य योगदानको चर्चा गर्दै प्रमुख अतिथि जोशीले भन्नुभयो : नेपाल स्रष्टा समाजले यसरी स्रष्टाहरूलाई नियमित सम्मान गर्ने परम्परा बसालेर आफूले राम्रो काम गरेको मात्र नभएर अरुलाई समेत प्रेरणा दिएको छ ।

नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दै विगत १० वर्षदेखि नै विभिन्न सम्मान प्रदान गर्दै आएको र समाजले गरेका कार्यहरूमाथिको विश्वासका कारण पुरस्कार स्थापना र वितरणमा उल्लेख्य वृद्धि हुँदै गएको बताउनुभयो । सो अवसरमा महासचिव चेतनाथ कणेल हरितले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।  सम्मानित स्रष्टाहरू स्व. नारायणदत्त शास्त्रीकी सुपुत्री सर्जक प्रभा भट्टराई, सिर्जना शर्मा र रमेश शुभेच्छुले नेपाल स्रष्टा समाजले आफैं स्रष्टाहरूको पहिचान गरी सम्मानको निर्णय गरेको पाउँदा आफूलाई धेरै गौरव लागेको बताउनुभयो ।

नेपाल स्रष्टा समाजका कार्यसमिति सदस्य गोकुल अधिकारीले सम्मानित व्यक्तित्वहरुको संक्षिप्त परिचय दिनुभएको थियो ।  सोही समारोहमा स्रष्टा शङ्कर कुमार राईको कविताकृति हामी केही होइनौँ र नै केही हौ तथा स्रष्टा जीवनाथ पोखरेलको नियात्रा कृति जीवनका यात्राको प्रमुख अतिथि सत्यमोहन जोशीले लोकार्पण गर्नुभयो । समारोहमा नेपालका मुर्धन्य साहित्यकारहरु, संस्थाका आजीवन विशिष्ट सदस्यहरू तथा साहित्यलाई माया गर्नुहुने महानुभाव र पत्रकारहरूको सहभागिता रहेको थियो ।

नेपाली लगायतका नेपालमा बोलिने भाषा–साहित्यको सिर्जना, सम्वद्र्धन र विकासमा योगदान पु¥याउने तथा लोकतान्त्रिक नेपालको उन्नयनमा साहित्यका माध्यमबाट रचनात्मक सहयोग पु¥याई नेपालका साहित्यको अन्तर्राष्ट्रियकरणसमेत गर्ने उद्देश्यले वि.सं २०६४ पुस १६ गते नेपाल स्रष्टा समाजको स्थापना गरिएको हो ।

One thought on “तीन स्रष्टा सम्मानित र दुई कृतिको लोकार्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *