२०८१ वैशाख २१ गते | 3rd of May 2024

प्रम ओलीको राष्ट्रपती ट्रम्पसंग २ मिनेटको भेट तय, प्रस्तुत होलान एजेन्डा ?

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ६ गते २१:२९

काठमान्डौं – प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता तय भएको छ । संक्षिप्त भेटवार्ता भएपनि निक्कै उपलब्धीमुलक एजेण्डामा छलफल हुने लक्ष्य राखिएको छ । संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन भोली शनिबार ओली अमेरिका प्रस्थान गरेका छन । त्यही बेला ओलीले अमेरिकाको न्यूयोर्कमा अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त भेटवार्ता गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार (असोज ८ गते) राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्ने सबै विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति ट्रम्पले रात्रि भोजको आयोजना गर्नेछन् । सोही रात्रिभोजमा सहभागी हुनेक्रममा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच संक्षिप्त भेटवार्ता हुने तय भएको छ । भेटवार्तापछि प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्प दम्पतीबीच सामूहिक तस्बिर लिने कार्यक्रम छ । भेट बढीमा दुई मिनेटको हुने परराष्ट्र स्रोतले जनाएको छ ।

२ मिनेटकै छोटो भेट भएपनि प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्पलाई देशको आर्थिक विकासका लागि हातेमालो गर्न अपिल गर्ने जनाइएको छ । “असोज ८ गते साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी श्रीमतीद्वारा आयोजना गरिने रात्रि भोजमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी श्रीमती राधिका शाक्य सहभागी हुनुहुनेछ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रसंघको महासभाका बेला अमेरिकी राष्ट्रपतिले न्यूयोर्कमा आयोजना गर्ने रात्रिभोजमा अमेरिकासँग सम्बन्ध बिग्रेका र तानाशाहहरुलाई निम्तो दिइँदैन । तत्कालिन राजा ज्ञानेन्द्रले उक्त भोजमा सहभागी हुने निमन्त्रणा अमेरिकी राष्ट्रपतिबाट नपाएपछि राष्ट्रसंघको महासभा सहभागी हुने आफ्नो कार्यक्रम नै रद्द गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा उनले स्वीट्जरल्याण्डका राष्ट्रपति एलियन बेरसेट र कम्बोडियाका प्रधानमन्त्री समदेचसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली करिब दुई दर्जन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *