काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले शान्ति सुव्यवस्था दिन नसकेका कारण जनता छट्पटाइरहेको बताएका छन् । मंगलबार क्षेत्र नम्बर १ काठमाडौं इकाईले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेका छन् ।’ नेता सिंहले दुई तिहाई बहुमतको सरकारले पनि बलात्कार तथा हत्याहिंसाका घटना रोक्न नसकेको बताउँदै भने, ‘जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरु आइरहेका छन् ।’
उनले अरु पार्टीले गफ बढी गर्ने तर देशका लागि भने काँग्रेसले नै गर्ने उनको दाबी छ । कम्युनिष्ट सरकारका कारण सबैलाई छटपटी भइरहेको उल्लेख गर्दै उनले भने, ‘एकपटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौं भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ । छट्पटी सबैलाई भइरहेको छ । बरु काँग्रेस नै ठीक भन्न थालिसके ।’ उनले नेपाली काँग्रेसलाई चाँडै नै सक्षम र प्रभावशाली पार्टी बनाउन आफूहरुले तयारी गरिरहेको समेत जानकारी दिए ।